कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारबाट थप १५० डिपोर्ट

होम कार्की

काठमाडौँ — कतार सरकारले भीडभाडमा गएको भन्दै पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई बिहीबार डिपोर्ट गरी नेपाल पठाएको छ । उनीहरू कतार एयरवेजको उडान नम्बर ६४४ बाट काठमाडौं आएका हुन् । कतारले यसअघि २ सय ५० जनालाई डिपोर्ट गरेको थियो । 

कतारबाट थप १५० डिपोर्ट

ती नेपाली गत शुक्रबार सनैया क्षेत्रबाट पक्राउ परेका थिए । कोभिड–१९ को संक्रमण रोकथामका लागि भीडभाडमा नजान दिएको निर्देशन अवज्ञा गरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो ।

तनहुँको खैरेनीका नरबहादुर रानाले आफूलाई भलिबल खेलिरहेका बेला कतारी प्रहरीले घेरा हालेर पक्राउ गरेको बताए । ‘हामी क्याम्पपछाडि भलिबल खेलिरहेका थियौं, हामी र मार्केटमा आएकालाई एकै ठाउँ भेला गरी प्रहरीले पक्राउ गर्‍यो,’ उनले भने, ‘झन्डै ७ सय थिए होलान्, हातमा बोकेका सामान फाल्न लगाएर पुलिसले सबैलाई गाडीमा हाल्यो र जेलमा लग्यो ।’


उनी पाँच वर्षदेखि न्यु हेजन कम्पनीमा ड्राइभर थिए । ‘आखिर हामीलाई भाइरसको परीक्षण पनि गरिएन, हामीसँग स्वास्थ्य रिपोर्ट छैन,’ गत फेब्रुअरी १४ तारिखमा बिदा मनाएर कतार पुगेका उनले भने, ‘हामीलाई केही दिन जेलमा राखेर सिधै विमानस्थल ल्याई प्लेन चढाएर पठाइदिए ।’


एउटै जहाजमा आएका गुल्मीका देवीबहादुर केसीले श्रीमतीलाई पैसा पठाएर गाडी स्टार्ट गर्ने बेला प्रहरीले समातेको बताए । ‘मैले पैसा पठाउन आएको भन्दै रसिद पनि देखाएँ, उनीहरूले सुनेनन्, सबैलाई उठाएर बसमा हाले,’ १७ वर्षदेखि कतारमा कार्यरत उनले भने, ‘चेतावनी पनि नदिई पठाइयो ।’


उनले कम्पनीबाट १७ वर्षको बोनस नपाएको बताए । ‘यो कुरा हाम्रो दूतावासलाई थाहा छ कि छैन होला ?’ उनले भने, ‘यत्रा मान्छे पक्राउ हुँदा पनि दूतावासले केही गरेन । चित्त दुखेको छ । बोनसका लागि काठमाडौंस्थित कतारी दूतावासमा गएर निवेदन दिने योजना बनाएको छु ।’

प्रकाशित : चैत्र ७, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?