१७७ बोरा मास्कसहित २ व्यापारी पक्राउ, कालोबजारी गरेको आरोपमा अनुसन्धान [अपडेट]

मातृका दाहाल

काठमाडौँ — प्रहरीले काठमाडौंको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई पक्राउ गरेको छ । सोमबार बिहान महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले आरडीजी सप्लायर्सका सञ्चालक
सुरज गोयल र सुवास महेश्वरीलाई पक्राउ गरेको हो ।

१७७ बोरा मास्कसहित २ व्यापारी पक्राउ, कालोबजारी गरेको आरोपमा अनुसन्धान [अपडेट]

गोयलले आफ्नो गोदाममा लुकाएर राखेको १७७ बोरा मास्क प्रहरीले बरामद गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

आरजेडी सप्लायर्सले २२ लाख रुपैयाँमा चीनबाट किनेर ल्याएको मास्क नेपाली बजारमा उच्च मूल्यमा बेचेको देखिएकपछि सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।

बरामद मास्क ४ हजार ३७५ केजी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बरामद मास्कको एउटा बोरामा १०० प्याकेट मास्क रहेको र एक प्याकेटमा ४८ थान रहेको पाइएको छ ।


शनिबार र आइतबार बरामद गरिएको मास्क पनि गोयलले नै बढी मुल्य लिएर खुद्रा व्यापारीलाई बेचेको देखिएको छ । शनिबार र आइतबार पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा सतुंगलमा प्रहरीले छापा मारेको थियो । चीनबाट ल्याइएका मास्क ५२ लाख ५० हजारमा गोयलले बेचेको खुलेको छ ।


काठमाडौंका साहयक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले प्रहरी र प्रशासनको संयुक्त टोली कलोबजारी विरुद्ध परिचालन भएको बताए । उनीहरु विरुद्ध कलोबजारीको ऐन २०३२ अनुसार अनुसन्धान गरेर मुद्दा चलाइने जानकारी दिए । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पछिल्लो समय कालोबजारी गर्ने व्यापारी पक्राउ परेका छन् ।

प्रकाशित : चैत्र ३, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?