प्रेस स्वतन्त्रतामा कतैबाट बाधा हुन्‍न : सञ्‍चारमन्त्री

फाल्गुन ३०, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले संविधानले व्यवस्था गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’को अभ्यासमा सरकारबाट कहीं कतै बाधा नपुर्‍याइने बताएका छन् । उनले प्रेसलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण दिने जिम्मेवारी सरकारको रहेको बताए ।

शुक्रबार मिडिया सोसाइटीका पदाधिकारीहरुसँगको अन्तरक्रियामा मन्त्री खतिवडाले भने, ‘पूर्ण प्रेस स्वतन्त्रताको जिम्मेवारी हामीले लिन्छौं, आफ्नो जवाफदेहिता र दायित्व तपाईहरुले लिइदिनुस ।’ उनले सञ्चारसँग सम्बन्धित प्रस्तावित कानुनमा सबैको सुझाव लिएर सुधार गरेर जान आफू तयार रहेको प्रतिवद्धता पनि व्यक्त गरे । उनले सूचना प्रविधि विधेयकमा दण्ड सजायको मात्रा बढी भएको आफूलाई समेत लागेको बताए । ‘नागरिक स्वतः अनुशासित हुनुपर्छ । कहीं कतै त्यो पालना भएन भने त्यसका लागि विधि बनाइन्छ,’ उनले थपे, ‘तर विधिलाई अत्यधिक र अस्वाभाविक लान हुन्न् ।’ उनले संसदको प्रक्रियामा रहेका विधेयकलाई संसदीय विधि अनुसारै सुधार गर्न सकिने र संसदमा दर्ताका लागि तयार गरिएका मस्यौदामा सरोकारवालाको सुझाव लिएर सुधार गरिने बताए । उनले मिडियालाई सञ्चार सेवा उद्योगका रुपमा मान्यता दिइने पनि उल्लेख गरे ।


सञ्चार एवम् अर्थमन्त्री खतिवडाले मिडिया उद्योगलाई अवसर सृजना गरेर त्यहाँ कार्यरत पत्रकार र कामदारलाई न्यूनतम पारिश्रमिक सुनिश्चित गराउने पक्षमा आफू रहेको बताए । ‘उद्योग व्यवसाय र सञ्चारगृह बन्द गराएर पारिश्रमिक दिलाउने पक्षमा सरकार छैन,’ उनले भने, ‘कामको अवसर सृजना गराएर बढी पारिश्रमिक दिने वातावरण निर्माणको पक्षमा छौं ।’ उनले चरम गरिबीको अन्त्य, शिक्षा र स्वाथ्यमा सबैको पहुँचको कुरा सरकारले गरिरहेकाले ती आवश्यकता पूर्ति हुने गरी पारिश्रमिक दिइनुपर्नेमा उनको जोड थियो । उनले विज्ञापनमा ‘क्लिन फिड’ को कार्यान्वयन, विज्ञापन वोर्डको गठन लगायतका कामलाई तीव्रता दिइने समेत बताए ।


मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कंडेलले कानुनमा ठूलो दण्ड जरिवाना राखेर मिडिया तर्साउने काम बन्द गर्नुपर्ने बताए । राज्यले कानुनबाट मिडियालाई ठीक पार्छु भन्ने मानसिकता राख्नु नै गलत भएको भन्दै उनले राज्यको उदार चरित्रको अपेक्षा राखेको बताए ।


सोसाइटीका पूर्वअध्यक्ष एवम् कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले स्वतन्त्रतापूर्वक काम गर्ने वातावरणको अपेक्षा मिडिया क्षेत्रले राखेको बताए । ‘प्रजातान्त्रिक मुलकको आधारभूत विषय नै स्वतन्त्र मिडिया हो,’ उनले भने, ‘त्यही स्वतन्त्रता र गणतन्त्र प्राप्तिका लागि संगै लडेका मिडियालाई सरकारमा पुगेकाले दुश्मनको जस्तो व्यवहार गर्ने गरेका छन् । त्यही दुःखलाग्दो विषय हो ।’


कान्तिपुर

Link copied successfully