कुवेत जाने नेपाली कामदारलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने

फाल्गुन २८, २०७६

होम कार्की

काठमाडौँ — वैदेशिक रोजगारको लागि कुवेत जाने नेपाली कामदार १४ दिन तोकिएको क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्‍नुपर्ने भएको छ । कुवेत सरकारको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न भन्दै स्रोत देशबाट आउने सबै विदेशी नागरकिकको लागि अनिवार्य १४ दिनको क्वारेन्टाइनमा बस्‍नुपर्ने निर्णय गरेको हो । यो नियमलाई बुधबारदेखि नै लागू गरिएको छ ।  

कुवेतले २७ फेब्रुअरीयता कुवेत प्रवेश गरेका नेपालीसहित आप्रवासी कामदारलाई स्वास्थ्य परीक्षणको लागि अनिवार्य रुपमा कुवेत फेयर ग्राउन्डसमा उपस्थिति हुनको लागि समयसिमा समेत तोकेको छ ।


कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतले क्वारेन्टाइनको लागि निश्चित स्थानहरु तोकेको छ । विमानस्थल पुगेका कामदारलाई तोकिएको क्वारेन्टाइनमा सिधै लैजानेछ । १४ दिन पछि मात्रै कामको लागि कम्पनीको जिम्मेवारीमा छाडिनेछ ।  


फेब्रुअरी २७ यता कुवेत प्रवेश गरी कुवेतको ६ क्षेत्रमा बस्ने कामदारलाई छुट्टाछुट्टै समयमा कुवेतको फेयर ग्राउन्डसको हल नम्बर ६ मा सर्म्पक गर्न सूचना जारी गरिएको छ । जस अनुसार अल जाहरा क्षेत्रमा बसोबास गर्ने नेपालीले १२ मार्च, मुवारक अल कविर क्षेत्रमा बसोबास गर्ने नेपालीले १३ मार्च , फर्वानिया क्षेत्रमा बसोबास गर्ने नेपालीले १४ मार्च, ह्वाली क्षेत्रमा बसोबास गर्ने नेपालीले १५ मार्च, अह्मदि क्षेत्रमा बसोबास गर्ने नेपालीले १६ मार्च र क्यापिटल (अल  असिमा) क्षेत्रमा बसोबास गर्ने नेपालीले १७ मार्च कुवेतको फेयर ग्राउन्डस हलमा जानुपर्ने नेपाली दूतावासले जनाएको छ ।


कुवेतले सबै खालको नयाँ भिसा जारी गर्न पनि रोक्ने निर्णय गरेको छ । अब हालसम्म जारी भएका भिसा प्राप्त नेपाली मात्रै कुवेत जान पाउनेछन् । हालसम्म जारी भएका भिसाको श्रमस्वीकृतिको प्रक्रियामा नै छ । कुवेतमा बुधबारसम्म ७२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये २ जना निको भएर फर्केका छन् । ५ जनालाई आइसीयुमा राखिएको छ । १ जनाको अवस्था गम्भीर छ ।


कुवेतले कोरोना संक्रमण बढेपछि सबै शैक्षिक संस्थाहरु थप दुई हप्ताको लागि बन्द गरेको छ । कुवेतमा झन्डै ८५ हजार नेपाली कार्यरत छन् । 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully