भाइरस फैलिए चीनले सहयोग गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिए चीन सरकारले सहयोग गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँगको भेटमा मंगलबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त प्रतिबद्धता जनाएकी हुन् । 


राजदूत होउले नेपालमा भाइरस संक्रमण नफैलिने विश्वास व्यक्त गर्दै त्यस्तो अवस्था आए सहयोगका लागि चीन तयार रहेको बताएकी हुन् ।


‘उहाँ (राजदूत होउ) ले कोभिड–१९ को संक्रमणबाट बच्‍न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत व्यक्त गर्नुभयो । यसको संक्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबैखाले प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको उहाँको भनाइ थियो,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


भेटका क्रममा होउले उक्त संक्रमणबाट पीडित ८० हजार ९ सयमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जनाइन् ।

प्रकाशित : फाल्गुन २७, २०७६ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्

देउवाले हटाए पौडेल पक्षीय जिल्ला सभापति

प्रतिवाद गर्न पौडेलले बोलाए बैठक
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले नवलपरासी (बर्दघाट पश्चिम) का कार्यबाहक सभापति अर्जुन पोखरेललाई हटाएपछि पार्टीभित्र विवाद चर्केको छ । पोखरेलको ठाउँमा देउवाले आफैंले हस्ताक्षर गरेर विष्णु पौडेललाई सभापति तोकेको पत्र पठाएपछि पार्टीका विभाग गठनको विषयलाई लिएर संस्थापनइतर पक्षले विरोध जनाइरहेका बेला देउवाको कदमले पार्टीभित्र किचलो झनै बढेको छ ।


पोखरेल महामन्त्री शशांक कोइराला निकट हुन् । राज्य पुर्नसंरचना अघि जिल्ला कार्यसमितिका सभापति विष्णु लामिछाने थिए । राज्य पुर्नसंरचना पश्‍चात जिल्ला विभाजित भई दुइटा भएपछि लामिछाने बर्दघाट पूर्वका सभापति नै रहे भने नयाँ जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा तत्कालीन उपसभापति रहेका पोखरेललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको थियो ।

पोखरेलले आफ्नो समूहको हितमा काम नगरेको कारणले हटाइको आरोप संस्थापन इतरपक्षले लगाएको छ । उनीहरुले महाधिवेशनलाई प्रभावित पार्न सभापति विधान विपरीतको बाटो हिँड्न थालेको भन्दै विरोध गरेको थिए । उक्त विषयलाई लिएर महामन्त्री कोइराला निवास महाराजगञ्जमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको मंगलबार बैठक नै बसेको थियो । देउवाले महाधिवेशन ‘कब्जा’ गर्नका लागि आफ्नो विरोधीहरुलाई ‘फायर’ गर्ने र आफ्नो पक्षकालाई ‘हायर’ गर्ने रणनीति बनाएको निष्कर्ष निकालेको थियो ।

यसको कसरी प्रतिवाद गर्ने भन्‍नेमा पौडेल पक्षीय नेताहरुबीच परामर्श चलेको थियो । बैठकपछि केन्द्रीय सदस्य मिनेन्द्र रिजालले सभापति देउवाको पछिल्ला कदम विरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा बुधबार पार्टी केन्द्रीय कार्यालयमा बैठक राखिएको जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले भने देउवाले विधान सम्मत रुपमा नै नयाँ सभापति मनोनयन गरेको दाबी गरे । उनका अनुसार पार्टी विधानमा एक भन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको सभापति बन्‍नका लागि महाधिवेशन प्रतिनिधि हुनुपर्छ । ‘पोखरेल महाधिवेशन प्रतिनिधि नभएको र महाधिवेशन प्रतिनिधि समेत रहेका जिल्लाका पुराना नेता पौडेललाई मनोनयन गर्नु भएको हो,’ पौडेलले भने ।

प्रकाशित : फाल्गुन २७, २०७६ २०:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×