काठमाडौँ — चीनबाट सुरु भएको कोरोना भाइरस पछिल्लो समय त्यहाँ विस्तारै नियन्त्रणतर्फ गइरहेको भन्दै सरकारले नाकामा रोकिएका सामान ल्याउने बारे छलफल थालेको छ ।
नेपालको वैदेशिक आयातको ठूलो हिस्सा चीनबाट हुने गरेको छ । कोरोनाको संक्रमण बढेपछि नेपाल आउने कतिपय सामान चिनियाँ नाकामा थन्किएका छन् ।
सरकारले त्यस्ता सामाग्रीलाई नेपाल ल्याउनेबारे पहल थाल्ने भएको छ । अर्थ तथा संचारमन्त्री युवराज खतिवडाले कोरोना भाइरस रोकथाम, नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठकमा यसबारे छलफल भएको भन्दै पहल थालिने बताएका हुन् ।
समितिले निजी क्षेत्रसँग गरेको छलफलमा उठेका विषयबारे उनले भने, 'चीनतर्फ संक्रमण घट्दै गएको छ । रसुवागढी र तातोपानी नाकामा धेरै समयदेखि नेपाल आउने सामान रोकिइराख्या छन् । ती वस्तुहरू सुरक्षित रहने अवस्था रहेसम्म जाँच गरेर सुरक्षित छन् भने नेपाल ल्याइनेछ । जोखिमरहित अवस्थामा व्यापारलाई सहज गर्नुपर्छ भन्ने विषयमा पनि सुझाव आएका छन् ।'
यस विषयमा छिट्टै विभिन्न मन्त्रालयबीच छलफल गरेर कदम चालिने खतिवडाले जानकारी दिए ।
