काठमाडौँ — अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोरोना भाइरसबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले कोरोनाबारे सबैलाई सचेत रहन र अफवाह नफैलाउन आग्रह गरे।
औषधि एवं अत्यावश्यक वस्तुको सहज आपूर्तिबारे सरोकारवालासँग सरकारले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा गरेको छलफलपछि बोल्दै खतिवडाले कोरोनासँग सबै सचेत हुनुपर्ने बताए । कोरोनाबारे सरकार र स्वास्थ्य मन्त्रालयले सूचना प्रवाह गर्ने बताउँदै उनले व्यक्ति पिच्छे डाक्टर नबन्न सबैलाई आग्रह गरे ।
यस्तै, सरकार समक्ष ६ महिनालाई पुग्ने खाद्यान्न, ३ महिनालाई पुग्ने इन्धन र ४ महिनालाई पुग्ने औषधि रहेको जानकारी दिए । मन्त्री खतिवडाले भारतसँग अहिले हुने व्यापारमा कुनै बाधा अवरोध नभएको बताए । चीनमा संक्रमण कम हुँदै गएकाले अब सरकारले उत्तरी नाकाहरुमा रहेका सामान ल्याउनेतर्फ सोच्ने बताए ।
यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजारमा मास्कको अभाव नहुने बताए । उनले दैनिक १५ हजार थान मास्क उत्पादन भइरहेको बताए । उनले व्यपारीहरुलाई सस्तो मूल्यमा मास्क बेचिदिन पनि आग्रह गरेका छन् । उनले व्यापारीहरुलाई ५ रुपैयाँमा बेचिदिन आग्रह गरे । श्रेष्ठले विमानस्थलमा आउने सबैलाई सकेसम्म निःशुल्क रुपमा मास्क वितरण गर्न समेत आग्रह गरे ।
