औषधिको कालोबजारी रोक्न सरकारलाई व्यवसायीको आग्रह

फाल्गुन २७, २०७६

जयसिंह महरा

काठमाडौँ — नेपालमा कोरोना भाइरस प्रवेश गर्ने जोखिममा रहेको भन्दै व्यवसायीहरुले औषधि व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ । सरकारले औषधि एवं अत्यावश्यक वस्तुको सहज आपूर्तिका बारेमा सरोकारवालासँग मंगलबार प्रधानमन्‍त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको छलफलमा व्यवसायीहरुले औषधिमा कालोबजारी भइरहेकोले यसलाई सरकारले नियन्त्रण गर्नुपर्ने माग गरे ।

'औषधि अभाव हुने भ्रम फैलाइएको छ, कालोबजारी हुँदैछ । व्यवसायीले ३/४ महिनाका लागि औषधि खरिद गरेको पाइएको छ,'  छलफलमा नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले भने, 'हामीसँग ४/५ महिनाका लागि औषधि स्टक छ ।' 


उनले भारतले पनि नेपालमा औषधिको मौज्दात के छ भनेर सोधेको स्मरण गराए । अध्यक्ष श्रेष्ठले विश्व स्वास्थ्य संगठनले पनि नेपालमा जुनसुकै बेला कोरोना भाइरस संक्रमण फैलने चेतावती दिएको भन्दै ख्याल गर्नुपर्नेमा जोड दिए ।  


मंगलबार औषधि एवं अत्यावश्यक वस्तुको सहज आपूर्तिका विषयमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक रहेका उपप्रधानमन्‍त्री ईश्वर पोखरेलको नेतृत्वमा बैठक बसेको हो । छलफलमा  उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासहितका प्रतिनिधि, औषधि व्यवसायी लगायतको उपस्थिति थियो । 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully