देशभर फैलँदै मिचाहा प्रजाति

गोविन्द पोखरेल

काठमाडौँ — ३० वर्षअघि त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र केन्द्रीय विभागका प्राध्यापक प्रमोदकुमार झा(पीके झा) क्वाटरमै बस्थे । क्वाटर पछाडि ठूलो चौर थियो जहाँ घोडताप्रे (सेन्टेला एसिएटिका)को उपस्थिती बाक्लो थियो । जडिबुटीका रूपमा प्रयोग हुने यो वनस्पति टिप्‍न एक व्यक्ति आइरहन्थे ।

देशभर फैलँदै मिचाहा प्रजाति
ती व्यक्ति सातामा २/३ पटक आउँथे । सानेपामा आयुर्वेदिक पसल भएकाले उनले घोडताप्रे संकलन गर्थे र त्यसैबाट जडिबुटीजन्य औषधिको बनाउँथे । ‘उनी ८/१० वर्षसम्म घोडताप्रे टिप्‍न नियमित आए । विस्तारै उनको आउने क्रम पातलियो,’ प्रा.डा. झा विगत सम्झँदै भन्छन्, ‘मैले उहाँलाई अचेल किन कम आउनु थाल्नुभयो भन्दा चौरमा घोडताप्रे धेरै नै पातलिएको कुरा सुनाउनुभयो ।’


झालाई ती व्यक्तिको कुराले प्रभाव पारेछ । घोडताप्रे किन कम भयो भन्‍ने विषयमा उनले अनुसन्धान गरे । कनिके झार (सिसियम पार्थेनियम) का कारणले घारेताप्रे कम भएको झाको अनुसन्धानले देखायो । ‘यो झार नेपालका लागि मिचाहा प्रजाति हो,’ उनले भने, ‘त्यो क्षेत्रमा यो झार बढेसँगै घोडताप्रे पातलिएको थियो ।’ घोडताप्रे पातलिएको कारण त उनले पत्ता लगाए तर यसबारे अझ धेरै जान्‍ने इच्छा जाग्यो, अनुसन्धान गरे । एकजना विद्यार्थीलाई यही विषयमा पीएचडी गराए । यो वनस्पतिमा औषधीय गुण भएकाले मानिसको स्‍नायू प्रणाली र मस्तिष्क विकासमा राम्रो काम गर्ने पत्ता लाग्यो ।


०००

हिजोआज जडिबुटीजन्य वनस्पतिहरू मिचाहा प्रजातिका कारण पातलिँदै गइरहेको प्रा.डा. झाले सुनाए । मिचाहा प्रजातिको वृद्धिदर विगत ४० वर्षमा नेपालमा ८ गुणासम्म बढेको उनको अध्ययनले देखाएको छ । 'चितवन अन्‍नपूर्ण ल्यान्डस्क्याप' क्षेत्रमा कनिके झारका कारण ६ वटा प्रजातिको उपस्थिती पातलिएको छ । ‘अर्टेममेसिया’ भनिने तीतेपाती, सिरिसियम, ट्राइफोलियम रेपेन्स, हाइप्टिस सुवाभिओलेन्स, क्राइसो पोगान एक्यूलेटस्, घोडताप्रे जस्ता हाम्रो देशका रैथाने वनस्पति पातलिँदै गएको उनले ‘सुपरभाइज’ गरेको अनुसन्धानले देखाएको छ ।


लहरे वनमारा(माइकेनिया मिक्रान्था)का कारण चितवनमा गैंडालाई असर गर्न थालेको अनुसन्धानहरूले देखाएका छन् । मिचाहा प्रजातिले गैंडाले खाने घाँसलाई ढाकिदिँदा जंगलमा गैंडाले खाने घाँस पातलिएको अनुसन्धानहरूले देखाएका छन् ।


त्रिविका इमेरिट्स/प्रोफेसरसमेत रहेका झाको समूहले चितवन अन्‍नपूर्ण ‘ल्यान्डस्क्याप’मा गरेको अनुसन्धानले मिचाहा प्रजातिको वृद्धि ८०० प्रतिशतसम्म भएको देखाएको छ । सन् १९९० देखि २०१८ सम्मको चितवन क्षेत्रमा गरिएको अनुसन्धानले लहरे वनमारा ८ गुणासम्म बढेको देखाएको छ ।


के हो मिचाहा प्रजाति ?

अन्यत्रबाट आउने यस्ता प्रजातिहरू रैथाने होइनन् । मिचाहा प्रजातिले रैथाने प्रजातिलाई असर गरेर आफू स्थापित हुन्छन् । मिचाहा प्रजाति भन्‍ने बित्तिकै वनस्पति बुझ्‍ने गरिन्छ । मिचाहा प्रजातिहरू वनस्पति मात्रै नभएर अन्य जीवहरू पनि हुन्छन् । जस्तै, शंकेकिरा पनि एक मिचाहा जीव हो । यो हाम्रो देशमा पाइने जीव हैन, यो अन्यत्रबाटै आएको जीव हो । त्यस्तै, विगतका वर्षदेखि नेपालको मकै बालीलाई ध्वस्त पार्ने फौजी कीरा पनि मिचाहा शत्रु जीव हो ।


वनमारा नेपालको रैथाने वनस्पति होइन । विभिन्‍न माध्यम हुँदै यो नेपाल प्रवेश गरेको हो । नेपालका अधिकांश मिचाहा प्रजातिको उत्पत्ति दक्षिण अमेरिका वा मध्य अमेरिकाको मेक्सिकोबाट आएका छन् । त्यस्ता बिरुवा त्यहाँका लागि रैथाने भएपनि हाम्रा लागि मिचाहा हुन् ।


के गर्छ मिचाहा प्रजातिले ?

यस्ता प्रजातिहरुको वृद्धिदर धेरै नै छिटो हुन्छ । हावापानी पनि सुहाउँदिलो भएकाले चाँडै फैलिन्छन् । वृद्धिदर छिटो भएकाले रैथाने प्रजातिभन्दा धेरै संख्यामा फैन्छन् । यसले गर्दा रैथाने प्रजातिलाई चाहिने अनुकूल वातवरण प्रभावित बन्‍न पुग्‍छ । खाना, पौष्टिक तत्व, मिनेरेल्स, पानी जस्ता महत्त्वपूर्ण तत्वहरू यिनले लिँदा रैथाने प्रजातिलाई अभाव हुन्छ । जसका कारण प्रजातिहरूबीच प्रतिस्पर्धा बढ्छ । यसरी रैथाने प्रजातिको फैलावट कम हुने र पातलिने क्रम बढ्ने प्रा.डा. झाले बताए । मिचाहा प्रजाति बढ्दै जाँदा रैथाने प्रजातिको विलुप्त हुने सम्भावना हुने उनले सुनाए ।


यद्यपि नेपालमा हालसम्म मिचाहा प्रजातिका कारण कुनैपनि वनस्पति विलुप्त भएका छैनन् । मिचाहा प्रजातिका कारण रैथाने प्रजातिहरू पातलिएको भने अनुसन्धानहरूले पुष्टि गरेका छन् ।


कुन प्रजातिको नेपाल प्रवेश कहिले ?

नेपालमा २१९ प्रजातिका वनस्पति र ६४ प्रजातिका जीवहरू बाहृय प्रवृतिका छन् । तीमध्ये २१ प्रजातिहरू मिचाहा रहेको आईयूसीएनको सन् २००२ देखि २००३सम्म गरेको अनुसन्धानले देखाएको छ । तीमध्ये ४ वटा(लहरे वनमारा, जलकुम्भी, सेतो वनमारा र वन फाडा) संसारको खतरानक १०० मिचाहा प्रजातिभित्र पर्छन् ।


कालो वनमारा (एजिरेटीना एडिनोफोरा) नेपालमा १९५२ मा, वन फाँडा भनिने (लेन्टेना क्यामेरा) १८४८मा, सेतो वनमारा(क्रोमोलेना ओडेरलामा) १८२५मा, लहरे वनमारा(माइकेनिया मिक्रान्था) सन् १९६३मा, जलकुम्भी(इकोर्निया क्रासिपिस) १९६६मा, बेशरम झार(आइपोमिया कारनिया) १९६६मा, पार्थेनियम सन् १९६७ मा नेपालमा पहिलो पटक भेटिएको अनुसन्धानले देखाएका छन् । लज्जावती झार सन् १९१०, करौटे घाँस १८२० मा, कालो कुरो पनि १९१० मा नेपाल भित्रिएका थिए ।


केही प्रजातिहरू १०० वर्षभन्दा अघिदेखि नेपालमा दक्षिण तथा मध्य अमेरिकाबाट प्रवेश गरेका थिए । मानवीय क्रियाकलाप, समुद्रीय व्यापारलगायत अन्य विभिन्‍न माध्यमबाट यस्ता प्रजाति नेपाल भित्रिएका हुन् । भित्रिएका अधिकांश प्रजाति भारत हुँदै आएको अनुसन्धानले देखाएका छन् ।


प्राध्यापक झाका अनुसार नेपालको दक्षिणपूर्व नाकाबाट यस्ता मिचाहा प्रजाति भित्रिएका हुन् । पूर्वी नाकाबाट नेपाल प्रवेश गरेको लहरे वनमारा अहिले लुम्बिनीसम्म फैलिएको छ । उत्तर धादिङ, गोरखासम्म लहरे वनमारा पुगेको छ । प्राय सबै मिचाहा प्रजाति पूर्वीदक्षिण नेपालबाट प्रवेश गरेर अहिले पश्चिम उत्तरतिर फैलने क्रममा रहेको झाले बताए ।


२०१४ मा प्रकाशित एक अनुसन्धानले नेपालमा २० प्रजातिका किरा, एउटा झिँगे माछा, एउटा जुका, १६ प्रजातिका माछा, २ वटा स्तनधारी जनावार, ३ वटा चरा, २५ वटा घरपालुवा जीव बाहृय प्रजातिका रहेको देखाएको छ ।


प्राडा झा ।

युवा वातवरणविद् उज्जवलप्रकाश खतिवडा भन्छन्, ‘यस्ता प्रजातिहरू पहिले जानेर वा नजानेर विभिन्‍न माध्यमबाट भित्रिन्छन् । यिनीहरू बिउको रूपमा आएका हुन्छन् । अनि फैलन्छन् । कुनै किसिमका हेरचाह आवश्यकता नपर्ने भएकाले छिटो फैलिन्छन् ।’ यी प्रजातिहरूको प्रजनन् चाँडै नै हुने भएकाले संख्या पनि चाँडै वृद्धि हुने उनले सुनाए ।


चितवन अन्‍नपूर्ण ल्यान्डस्क्यापमा सन् १९९० देखि २०१८ सम्म फैलिएका यी प्रजातिबारे यूएसएड् अन्तर्गतको जलवायु परिवर्तन र जैविक विविधता परियोजनाको अध्ययनले लहरे वनमारा ८३१ प्रतिशतले बढेको देखाएको छ । सेतो वनमारा २३४, कालो वनमारा ४२५, कालो वनमारा ४२५, जलकुम्भी ४५०, कनिके झार ३०९, फाडो १६८ प्रतिशतले बढेको देखाएको छ । बेशरम झार भने ७० प्रतिशतले कम भएको उक्त परियोजनाको अनुसन्धानले देखाएको छ । रिमोट सेन्सिङ प्रणालीबाट प्राप्त तथ्यलाई फिल्डमा प्रमाणित भएको पाइएको थियो ।


नियमित सरसफाईका कारणले जलकुम्भी काही घट्दो र बढ्दो अवस्था भेटिएको झाले सुनाए । पछिल्लो समय कालो वनमारामध्ये पहाडी भागमा धेरै नै फैलिएको छ । सेतो वनमारा र त्यसपछि लहरे वनमारा फैलने क्रममा छन् । पहाडी क्षेत्रमा पनि लहरे वनमारा लम्किरहेको छ।


मिचाहा प्रजातिका कारण वनस्पतिहरूको उत्पादन र वृद्धिदरमा असर गरको छ । वनस्पतिको बासस्थान विनाश, पोषण र पानीको अभावका कारण रैथाने वनस्पति पातलिन थाल्छन् । जसका कारण जैविक विविधतामा ह्रास आउँछ । जस्तै, जमिनभरी लहरे वनमारा फैँलिदा अन्य वनस्पति उम्रन र बढ्न पाउँदैनन् । यसले सबै जमिन ढाकिदिँदा अन्य वनस्पतिको हुर्कन सक्दैनन् । यस्तै, पानीमा जलकुम्भी फैलँदा जलीय पारस्थितिकीय प्रणालीलाई असर गर्छ । माछालगायतका जीवहरूलाई अक्सिजनको कमी हुन्छ, जसका कारण मर्छन् ।


मिचाहा प्रजातिले कृषिमा लगाइएको अन्‍नबालीमा पनि क्षति पुर्‍याइदिने भएकाले यसले आर्थिक क्षति पनि हुने गर्छ । आदिवासी मानिसहरूको जीविकोपार्जन र समग्र वातवरणीय प्रणालीलाई पनि असर गर्ने खतिवडाले बताए ।


कसरी रोकथाम गर्ने ?

मिचाहा प्रजातिको नियन्त्रणको सबैभन्दा उपयुक्त विधि भनेको फैलन नदिने हो । प्रारम्भीक अवस्थामा देख्‍ने बित्तिकै तिनलाई उखेलेर फ्याँक्‍न सकिन्छ । नयाँ क्षेत्रमा फैलदै गर्दा सुरुमै निर्मूल गर्न सकिने वैज्ञानिकहरूले उपाय सुझाएका छन् । सबैभन्दा पहिला यिनको फैलावट क्षेत्र थाहा पाएपछि तत्काल उखाल्ने र फाल्ने जस्ता उपाय अपनाउन सजिलो हुन्छ ।


प्रा.डा. झाले लहरे वनमाराको उदाहरण दिँदै भने, ‘अहिले यो धादिङ र गोरखामा फैलने क्रममा छ । यिनलाई तुरुन्त निर्मूल गर्न थालियो भने थप फैलन सक्दैन । तर, त्यतिकै छाडियो भने अबको एक वर्षमा जिल्लाभर फैलन सक्छ ।’


राज्यले मिचाहा वनस्पतिको फैलावटको बारेमा अध्ययन/अनुसन्धानका आधारमा व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने झाले सुझाव दिए । जस्तै, लहरे वनमारालाई खपटे किराले खाने र यो यसको उपयुक्त ‘बायोलोजिकल पेस्ट’ भएको भर्खरै प्रकाशित एक अनुसन्धानले देखाएको छ । उखालेर, रसायनको प्रयोग, बायोलोजिकल पेस्ट, लगायतका उपायहरू अपनाएर यस्ता प्रजातिको फैलावट रोक्‍न सकिन्छ । यसलाई नियन्त्रण गर्न मुख्यतः भौतिक, रसायन र जैविक विधि पनि अपनाउन सकिने वैज्ञानिकहरूले उपाय दिएका छन् ।


नेपालको कृषि क्षेत्रलाई अति संवेदशील तेस्रो मुलकभित्र राखिएको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन विभागले उल्लेख गरेको छ ।विभिन्‍न मिचाहा प्रजातिले यहाँको रैथाने प्रजातिको उपस्थितीलाई पातलो बनाइदिने मात्र नभएर यसले विलुप्तै बनाइदिने सम्भावना बढाइदिन्छ । सीमा नाकाको क्वारेन्टाइनमा मिचाहा प्रजातिबारे परीक्षण गरिँदैन । त्यतिकै सामग्रीहरू आयात हुन्छ । यसतर्फ राज्य गम्भीर हुनुपर्ने देखिन्छ ।


आगामी दिनहरूमा राज्यले नीति पास नगर्दासम्म मिचाहा प्रजाति नियन्त्रण तथा रोकथाममा स्पष्टता नहुने विज्ञहरूको भनाइ छ । कसले नियन्त्रण गर्ने, कुन संस्थाले गर्ने भन्‍नेबारे पनि राज्य गम्भीर छैन । व्यवहारिक र वैज्ञानिक नीति निर्माण गरेर क्वारेन्टाइनमा र संरक्षित क्षेत्रहरूमा मिचाहा प्रजाति विज्ञ राखेर रोजगार दिन सकिनेतर्फ राज्यले ध्यान दिनुपर्ने झाले सुझाव दिए ।

प्रकाशित : फाल्गुन २७, २०७६ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?