कतार प्रहरीमा १७९ जना नेपाली भर्ती 

पहिलो लटमा १ सय ७९ जना पासआउट

फाल्गुन २३, २०७६

होम कार्की

काठमाडौँ — कतार प्रहरीको पोसाकका रङ दुइटा छन्, सर्ट खरानी र पाइन्ट नीलो । अब यो पोसाक नेपालीले लगाउनेछन् । कतारमा कार्यरत नेपालीले गैरकानुनी काम गरे पक्राउ गर्न नेपाली नै आइपुग्न सक्छन् ।

कतार प्रहरीको तीनमहिने आधारभूत तालिम एक सय ७९ जना नेपालीले बिहीबार सकेका छन् । उनीहरूलाई त्यहाँको आन्तरिक मन्त्रालयले कार्यक्षेत्र तोकेर खटाउँछ । उनीहरूलाई कुन विभागको जिम्मेवारी दिइनेछ भन्ने खुलाइएको छैन । कतारमा आप्रवासी कामदार हेर्ने खोज तथा अनुसन्धान विभाग, सार्वजनिक सुरक्षा, सामुदायिक प्रहरी, सार्वजनिक क्षेत्र, रंगशालाको सुरक्षा हेर्ने विभागहरू छन् ।


कतारले नेपालीलाई प्रहरी सेवामा भर्ना गर्ने नीति भर्खरै लिएको हो । छनोट भने नेपालका पाँच म्यानपावर कम्पनीमार्फत गरिएको छ । उनीहरूलाई कतारमा काम गर्न वैदेशिक रोजगार विभागले श्रमस्वीकृति दिएको छ ।


नेपाली दूतावासका अनुसार कतारको आन्तरिक मन्त्रालयले कामदार ल्याउने सबै प्रक्रिया पूरा गरेको जनाएको छ । सन् २००५ मा नेपाल र कतारबीच भएको श्रम सम्झौताको सर्तअनुसार नै सरकारी सुरक्षा सेवामा नेपाली लगिएका हुन् । ‘सेनाबाहेकका सेवामा नेपालीलाई लैजान यो श्रम सम्झौताले बाटो खुला गरेको छ,’ कतारका लागि पूर्वराजदूत सूर्यनाथ मिश्रले भने, ‘कतारको अन्य सरकारी सेवामा नेपालीले रोजगारी पाइसकेका छन् । नेपालका लागि नयाँ क्षेत्र खुलेको छ ।’


प्रहरी सेवामा रोजगारी पाएका नेपालीले पाउने सुविधा आकर्षक छ । उनीहरूले तालिम अवधिभर तीन हजार रियाल (९० हजार रुपैयाँ) र कार्यक्षेत्रमा खटिएपछि मासिक ६ हजार रियाल (एक लाख ८० हजार रुपैयाँ) पाउनेछन् । कतारले उच्च माध्यमिक शिक्षा उत्तीर्ण गरेका ३५ वर्ष मुनिकालाई प्रहरी सेवामा लिएको हो । तत्कालका लागि दुईवर्षे करारमा लगिए पनि यो निरन्तर हुने सम्भावना छ । तालिम समापनका अवसरमा सम्बोधन गर्न पुगेका नेपाली दूतावासका उपप्रमुख लक्ष्मण खनालले नेपाली जनताको छविलाई थप उचाइमा पुग्ने गरी आफ्नो कार्यक्षेत्रमा इमानदारीपूर्वक दायित्व निर्वाह गर्न युवालाई आग्रह गरेका थिए ।


कतारले प्रहरी सेवामा यसअघि सुडान र पाकिस्तानका नागरिकलाई मात्रै अवसर दिँदै आएको थियो । विश्वकप फुटबलको तयारी अन्तिम चरणमा पुर्‍याएको कतारले सुरक्षा सेवामा अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका नेपालीलाई अवसर दिनु सकारात्मक रहेको पूर्वराजदूत मिश्रले बताए । ‘विश्वकपमा रंगशालामा आउने दर्शकको भीड व्यवस्थापन गरी सुरक्षाको बन्दोबस्तीमा सहयोग पुर्‍याउन नेपालीलाई अवसर दिएको हुन सक्छ,’ उनले भने, ‘यो टोलीले उत्कृष्ट भूमिका निर्वाह गरे अन्य नेपालीले पनि अवसर पाउँछन् ।’ नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हलीले भने थप नेपालीलाई भर्ती गर्ने वा नगर्ने विषयमा अहिले कुनै जानकारी आइनसकेको बताए ।


पूर्वराजदूत मिश्रका अनुसार कतारी अमिर दिवान (अमिरसहित राजपरिवारका सदस्यलाई दिने सुरक्षा विभाग) भित्र पनि नेपाली सुरक्षा गार्ड कार्यरत छन् । कतारको राजपरिवारका सदस्यको निजी सुरक्षा गार्ड पनि नेपाली नै छन् । कतारको बलेदिया (नगरपालिका) मा सरसफाइ गर्ने काममा दुई हजारभन्दा बढी नेपाली छन् । त्यस्तै न्यायालय, संस्कृति, सहरी विकास र श्रम मन्त्रालयअन्तर्गतका सरकारी क्षेत्रमा पनि नेपाली कार्यरत छन् ।


कतारमा सन् १९८६ देखि नेपाली कामदार लगिएको हो । हालसम्म झन्डै १५ लाख नेपालीले कतार जान श्रमस्वीकृति लिइसकेका छन् । नियमित काम गर्नेको संख्या झन्डै चार लाख छ । जुन कतारी नागरिक बराबर हो । यो कतारमा रहेका कुल मानिस (आप्रवासीसहित) को झन्डै १२ प्रतिशत हो ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully