कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

राजीनामा दिएको २४ घण्टा नबित्दै खतिवडा फेरि अर्थमन्‍त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएको २४ घण्टा नबित्दै बुधबार पुनर्नियुक्ति पाएका छन् । प्रधानमन्‍त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई बुधबार पुन: अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राजीनामा दिएको २४ घण्टा नबित्दै खतिवडा फेरि अर्थमन्‍त्री

राष्ट्रिय सभा सदस्य पद मंगलबार मध्यरातिबाट स्वतः सकिने भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति भण्डारीले राजीनामा स्वीकृत गरी उनले सम्हालेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकेकी थिइन् ।


संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने प्रावधानअनुसार खतिवडालाई पुनर्नियुक्ति दिइएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।


पुनर्नियुक्ति पाएका मन्‍त्री खतिवडाले बुधबार अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच शपथ ग्रहण गर्ने छन् । मन्त्रीलाई राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ ।


सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेपछिको सरकारका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा खतिवडाले आफू पुनः राष्ट्रिय सभा सदस्यमा मनोनीत हुने संकेत गरेका थिए । पत्रकार सम्मेलनमा उनले २१ गते शपथग्रहणमा भेट हुने बताएका थिए ।

सेक्यूरिटी प्रेस खरीदमा कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए । बाँस्कोटाको राजीनामापछि खतिवडालाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

खतिवडा दुई वर्षअघि राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत भएका थिए । उनको पदावधि सकिएपछि रिक्त स्थानमा कोहीलाई मनोनयन गरिएको छैन । त्यसमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने कि खतिवडालाई भन्नेबारे नेकपाभित्र मतभेद भएपछि मन्त्रिपरिषद्ले सिफारिस गर्न सकेको छैन । तत्काल सिफारिस हुने सम्भावना पनि नरहेको नेकपा स्रोतको भनाइ छ ।


त्यसैले राष्ट्रिय सभामा नयाँ आउने १८ जनाले बुधबार शपथ लिँदा मनोनीत एउटा सिट भने खाली हुनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले तीन जना विषय विज्ञलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने संवैधानिक प्रावधान छ ।


खतिवडालाई मन्‍त्री नियुक्त गरिएको पत्र



प्रकाशित : फाल्गुन २१, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?