२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

देउवाले एकलौटी गठन गरे १३ विभाग

भाग पाएपछि सिटौलाले दिए नाम, ५ आमन्त्रित केन्द्रीय सदस्य पनि मनोनीत
मधुसुधन भट्टराई

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटीरुपमा पार्टीका १३ विभाग गठन गरेका छन् । पार्टीभित्रको रामचन्द्र पौडेल समूहले विभागमा बस्‍ने नेताहरुको नाम नदिएपछि नेता कृष्णप्रसाद सिटौला समूहलाई एउटा विभागको संयोजक दिएर १२ विभागमा आफ्‍नो समूहका नेतालाई संयोजक बनाएका छन् । 

देउवाले एकलौटी गठन गरे १३ विभाग

देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम पार्टी केन्द्रीय सदस्यहरुलाई विभागको जिम्मेवारी सुम्पेका हुन् ।


देउवाले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई संगठन विभाग, रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग संयोजकको जिम्मेवारी दिएका छन् ।


त्यस्तै, आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरासियालाई तराई मधेस समन्वय विभाग, महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभाग र शंकर भण्डारीलाई तरुण विभागको जिम्मेवारी दिएका छन् ।


सीता गुरुङलाई आदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग र प्रवक्ता विश्वप्रकाश शर्मालाई सूचना, सञ्चार तथा प्रसार विभाग र शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा ट्रेड युनियन विभागको संयोजकको जिम्मेवारी दिएका छन् ।

यीमध्ये हुमागाईं पार्टीभित्रको सिटौला समूहका हुन् । बाँकी सबै संस्थापन पक्षका हुन् । जनसम्पर्क समन्वय समिति विभागको जिम्मेवारी पाएका भट्टराई केही समयअघि मात्रै पौडेल समूह छोडेर संस्थापनतिर आएका थिए ।

देउवाले शुक्रबार नेता रामचन्द्र पौडेललाई टेलिफोन गर्दै आफू विभाग गठनको तयारीमा रहेकाले विभागमा राख्‍ने नेताहरुको नाम दिन आग्रह गरेका थिए । पौडेलले देउवालाई महाधिवेशनको तयारीमा लाग्‍न सुझाव दिँदै अहिले विभाग गठन गर्न नाम दिन नसक्‍ने बताएका थिए । त्यसअघि बिहीबार साँझ उपसभापति विमलेन्द्र निधि पनि विभागमा राख्‍ने नेताहरुको नाम दिन आग्रह गर्न पौडेल निवास बोहोराटार पुगेका थिए ।


प्रवक्ता विश्वप्रकाश शर्माले नेता पौडेलसँग नाम माग्दा नदिएपछि सभापतिले आफ्‍नो अधिकार प्रयोग गरेर विभाग गठन गरेको जानकारी दिए ।

देउवाले आफू पक्षीय ५ नेतालाई आमन्त्रित केन्द्रीय सदस्य मनोनीतसमेत गरेका छन् । देउवाद्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र र ध्रुव वाग्ले (तनहुँ) लाई मनोनयन गरेको उल्लेख छ । आमन्त्रीत केन्द्रीय सदस्य भएकामध्ये शिवाकोटी र बस्नेत नेता सिटौला पक्षीय हुन् । बाँकी सबै संस्थापन पक्षीय हुन् ।

प्रकाशित : फाल्गुन १७, २०७६ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?