सरकारको कामको समीक्षा गर्ने बेला भयो : नेपाल

फाल्गुन १५, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकारको समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् । काठमाडौंमा आयोजित वागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा उनले नेकपाको सरकारबाट जनता खुसी भए नभएकोबारेमा समीक्षा गर्नुपर्ने बेला भएको बताएका हुन् ।

'हाम्रो पार्टी र सरकारको कामबाट जनता खुसी छन् कि छैनन् भन्‍ने समीक्षा गर्ने बेला भएको छ,' उनले भने, ‘नेतृत्वले आलोचना सुन्‍न सक्‍नुपर्छ । नेताहरू आपसमा लड्‍नुपर्ने अवस्था छैन ।'

पार्टी एकता नभएको भए नेकपा सरकारमा नहुने र पछारिने अवस्थामा रहेको नेपालको भनाइ थियो । 'नेताहरू आपसमा लड्‍नुपर्ने छैन अलगअलग हुन्थ्यौं भने हामी पछारिने थियौं,' उनले भने ।

पार्टी एकता भएको दुई वर्ष बित्दा पनि एकीकरण नटुंगिएकोमा उनको असन्तुष्टि थियो । उनको भनाइ थियो, '२ वर्ष बित्दा पनि एकीकरणका काम टुंगिन सकेनन् । यो विलम्ब भयो । छिटो टुंग्याऔँ र विधिसम्मत टुंग्याउनुपर्छ ।’

जनताले दिएको मतमा पार्टी नेताहरूले दम्भ देखाउन नहुने नेता नेपालको सुझाव थियो । उनले भने, 'दुई तिहाइको नजिक पुग्यौं भनेर हामीले दम्भ देखाउन हुन्‍न । जनताको विश्वास जित्‍न काम र व्यवहार देखाउनुपर्छ । अब हामी गुनासो गर्ने ठाउँमा छैनौं । काम गर्ने ठाउँमा छौं । राज्यस्रोत हाम्रो हातमा छ त्यसलाई सही सदुपयोग गरेर अगाडि बढ्नुपर्छ ।'

नेकपाभित्र पछिल्लो समय विवाद बढेको सतहमा देखिएको छ । पार्टी र सरकार संचालनलाई लिएर सचिवालयमा विवाद देखिएको हो । त्यतर्फ संकेत गर्दै नेता नेपालले कार्यकर्ताहरूलाई भने, 'पार्टीमा समस्या देखेर आत्तिनु पर्दैन । पार्टीभित्र अनेक चिज हुनसक्छन् । पार्टीका सबै नेताले एकताबद्ध भएर जाने संकल्प लिनुभएको छ । त्यही भएर हामी यहाँ आएका हौँ ।’

कान्तिपुर

Link copied successfully