कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नेकपाभित्रको मनोविज्ञान : एउटाको पीडामा अर्को समूह खुसी !

बबिता शर्मा

काठमाडौँ — पार्टीभित्र भावनात्मक एकता गर्ने भनेर नेकपाका शीर्ष नेताले गृहकार्य गरेको गर्‍यै छन् । तर, नेकपाभित्र पूर्वसमूहको तुस यति धेरै छ कि, एउटा समूहको नेताको दुःखमा अर्को समूह उत्साही हुने गरेको देखिन्छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा र निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको हकमा नेकपाभित्र देखिएको राजनीतिक मनोभावले त्यहाँ भित्रको समूहगत मनोविज्ञान दर्शाउँछ ।

नेकपाभित्रको मनोविज्ञान : एउटाको पीडामा अर्को समूह खुसी !

विवादमा तानिएपछि महराले राजीनामा दिनुपर्ने विषयमा नेकपाभित्रको पूर्व एमाले समूहका नेता कार्यकर्ताले निकै जोडतोडले आवाज उठाए, खास गरेर सामाजिक सञ्जालमा ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राखेपछि नेकपाको सचिवालय बैठकले महरालाई दुवै पदबाट राजीनामा दिन सुझाव दियो ।

महराले सभामुख पदबाट राजीनामा दिए । उनको राजीनामापछि पनि महराको नैतिकतामाथि पूर्वएमाले समूहबाट अनेकौं प्रश्न उठे । महरा अदालतबाट सफाई पाएर रिहाई हुँदा पनि यस्तै टिप्पणी पूर्व एमाले पंक्तिबाट सामाजिक सञ्जालमा देखिए ।


महराको प्रकरणमा नेकपाभित्र जुन मनोविज्ञान देखिएको थियो, त्यस्तै समस्या सञ्चारमन्त्री बाँस्कोटाको राजीनामामा पनि देखियो । बुधबार ‘कमिसन प्रकरण’को अडियो टेप सार्वजनिक भएसँगै, पूर्व माओवादी समूहबाट उनको राजीनामाको माग हुन थाल्यो ।

नेकपा अध्यक्ष दाहाल राजीनामा दिन सुझाव दिँदै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गए । अन्तत: बाँस्कोटाको राजीनामा आयो । तर, पूर्व माओवादी समूहले बाँस्कोटामाथि प्रश्न उठाउन छाडेनन् । बाँस्कोटा प्रकरणमा नेकपाकै माधव नेपाल समूह पनि उत्साही देखियो ।


एउटाको पीडामा अर्को समूह खुसी हुनुले नेकपाभित्र कुन मनोविज्ञानको संकेत गर्छ ? हामीले यो प्रश्न नेकपाकै नेता, राजनीतिक विश्लेषक र मनोविद्लाई सोध्यौं ।


कोही पनि खुसी वा दुखी हुनुको अर्थ छैन : राम कार्की, नेकपा केन्द्रीय सदस्य

मान्छेभित्र कहीँ न कहीँ एउटाले दु:ख पाउँदा अर्कोले खुच्चिङ् भन्ने प्रवृत्ति हुन्छ । हिजो महराजीको केसमा पनि कमिकमजोरी भएको थियो । ठुला मान्छेलाई पनि कानुन लाग्नुपर्छ भनेर आवाज उठ्नु स्वभाविक हो ।

बाँस्कोटा प्रवृत्ति पूर्वमाओवादीमा पनि होला, महराप्रवृत्ति पूर्व एमालेमा पनि होला । त्यसैले यसमा खुशी वा दुखी हुनुको अर्थ छैन । कसको उजागर भयो कसको भएन भन्ने मात्रै हो ।

अर्कोतर्फ, नेताहरुका गलत काममा जसले बचाउ गर्छ, त्यो नेताको नजिक हुन्छन् । नेताले उसलाई नै अवसर दिन्छन् । अहिले गोकुल बाँस्कोटाको केसमा पनि त्यस्तै भयो ।


पार्टीका लागि घातक : कर्ण थापा, नेकपा केन्द्रीय सदस्य

यो ढाहा, इर्ष्या, पूर्वाग्रह हो । आफ्ना निजि आग्रह हेरेर सोच्ने मान्छेहरुको मनोविज्ञानको परिणति हो । यो समस्या नेकपामा छ । पछिल्ला दुवै केसमा सही ढंगले व्याख्या गर्ने, विश्लेषण गर्ने, पार्टीको हित हेर्नेहरुले फरक ढंगले हेरेका छन् । तर, कसैप्रति असन्तुष्टि पोख्नु पर्ने छ भने यस्तो प्रवृत्ति देखा पर्छ । यो राम्रो होइन ।

नकारात्मक प्रवृत्तिको घातक हो । जे घटना हो, त्यसलाई त्यही रुपमा बुझ्न पर्छ । दुवै घटना (महरा र बाँस्कोटा) निजी हुन् । पार्टीसँग सम्बन्धित छैनन् । महराले व्यक्तिगत रुपमा सामना गर्नुभयो, अदालतले फैसला गर्‍यो । यसलाई मान्नु पर्‍यो !

अहिले गोकुल बाँस्कोटा माथि जे आरोप छ, त्यो उहाँले सामना गर्नुपर्छ । पार्टी यसको पक्ष, विपक्षमा हुनु हुँदैन । ठिक भयो गजव भयो भनेर ताली पिटेर पनि केही हुँदैन । नहुनुपर्ने भयो भनेर रोइकराई गरेर पनि हुने केही होइन । यि पार्टीका बहसका विषय होइनन् । तर भइराखेको छ । यो पार्टीका लागि घातक प्रवृत्ति हो ।

पार्टी भित्र गुटबन्दी रहिरहन्छ : कृष्ण खनाल, राजनीतिक विश्लेषक

एमाले र माओवादीबाट नेकपा बन्दा त्यसभित्र दुई ठूला गुट भए । पूर्व एमाले र पूर्व माओवादी गुट । कृष्णबहादुर महरा र गोकुल बाँस्कोटाको केसमा त्यहि गुटको असर हो ।

पूर्व एमाले भित्रपनि दुई/तीन गुट छन् । पार्टी भित्र गुटबन्दी रहिरहन्छ । कुनै पनि पार्टीमा गुट हुन्छ । गुटको सिमाना के हो ? त्यसको स्वस्थ व्यवस्थापन के हुने ? यो ठुलो कुरा हो । जसको हातमा सत्ता हुन्छ उसले अरुलाई बाइपास गरिहाल्छ । त्यसको असर हतपत मेटिँदैन । कुनै अवसर आउँदा पोखिन्छ । अहिले पनि त्यहि भएको हो ।

गुटको मनोविज्ञान हो : गोपाल ढकाल, मनोविद्

राजनीतिमा लाग्ने मान्छेहरु धेरै महत्वकांक्षी हुन्छन् । अगाडि बढ्न अर्काको खुट्टा तान्नै पर्ने हुन्छ । नेकपामा दुई ठूला गुट छन् । यो गुटको मनोविज्ञान हो । षड्यन्त्र, विभिन्न जालझेल, प्रपोगान्डाहरु भित्र भित्र भएका हुन्छन् ।

आफू कसरी अगाडि बढ्ने, अर्कोलाई कसरी गिराउने चलखेल भित्र भएका हुन्छन् । र, नेपालको राजनीतिमा राजनीतिक संस्कार छैन । सम्मान छैन । गुट उपगुट मात्रै छ । त्यसकै कारण एकलाई पर्दा अर्को खुसी हुने, अर्कोलाई पर्दा अर्को खुसी हुने प्रवृत्ति देखिन्छ ।

नेता कार्यकर्ता आफैं भित्र मिल्न सकेका छैनन् । स्वस्थ राजनीति छैन । इमान्दारिता छैन । अर्को कोही बदनाम हुँदा आफू खुसी हुने । उसको पनि बदनाम होस् भन्ने सोच्ने प्रवृत्ति छ । महरा र बाँस्कोटा प्रकरणमा पनि त्यति प्रवृत्ति देखा परेको हो ।


प्रकाशित : फाल्गुन ९, २०७६ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?