कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृति थाम्‍ने त्यो दरबार

नेपाल सरकारले बझाङी राजा ओमजंगबहादुर सिंहलाई मार्न लगाएपछि विसं २०१८ देखि तल्कोटका राजा स्थानीयको परम्पराका सांस्कृतिक प्रतिनिधि मात्रै हुन् । तर, संस्कृति थामेर बसेका उनका पुस्तालाई अझै  स्थानीयले सम्मान गर्छन् । हालै सम्पन्न दक्षिण एसियाली खेलकुदमा सर्वाधिक स्वर्ण पदक विजेता गौरिका सिंह बझाङी राजाकै सन्तान हुन् ।
वसन्तप्रताप सिंह

(बझाङ) — बझाङको सदरमुकाम चैनपुरबाट २० किलोमिटर उत्तरतर्फ लागेपछि तल्कोट गाउँपालिकाको पुगिन्छ खौला बजार । बजारको पूर्वी कुनाको अग्लो डाँडामा छ– कोट दरबार । बजारबाट दरबारमा पुग्न १६५ वटा कलात्मक ढुंगे सिँढी पार गर्नुपर्छ ।

बाटोको दायाँतिर दमाईं जातिका घरहरू लहरै छन् । सिँढी चढेर डाँडामा पुगेपछि देखिन्छ ऐतिहासिक दरबार । यहाँ भेटिन्छन् रजवार (राजा) नारायणबहादुर सिंह र उनको परिवार । बझाङी राजा ओमजंगबहादुर सिंहको विसं २०१८ सालमा हत्या भएपछि यहाँको राजपरम्पराको अन्त्य भएको थियो । तत्कालीन समयमा बझाङ राज्यको सम्पूर्ण राजपाट हेर्ने जिम्मेवारीसहित राजाको पदवी दिइएका ओमजंगबहादुरले बझाङलाई स्वतन्त्र राज्य बनाउन खोजेपछि राजा महेन्द्रको सरकारले सेना लगाएर उनको हत्या गरेको थियो । त्यसपछि बझाङी राजसंस्था अन्त्य भएको थियो ।


राजा हटेको ६८ वर्ष बितिसकेको भए पनि तल्कोटमा पूर्वराजाका परम्परागत अवशेष सामाजिक संस्कृतिको अंगका रूपमा छ । सन्तानको जेठा छोरा हुँदै राजकीय सांस्कृतिक परम्परामा सहभागिता निरन्तर भइआएको छ । जेठा छोरालाई स्थानीयले राजा नै मान्छन् । तल्कोट गाउँपालिका मात्र नभएर छिमेकी मस्टा र साइपाल गाउँपालिकाका स्थानीयले पूर्वराजाका सन्तानलाई श्रद्धा र सम्मान गर्ने चलन छ । ‘अहिले पनि यहाँ राजा मान्ने चलन यथावतै छ,’ जयपृथ्वी बहुमुखी क्याम्पसका प्राध्यापक तल्कोट–३ रुवातोलाका भानुभक्त जोशी भन्छन्, ‘राजा भएनन् भने यहाँको दसैं, गौरामात्र हैन । गाउँका मठ मन्दिरमा हुने पूजाआजा पनि रोकिन्छ ।’ तल्कोटको राजपरिवारले अहिले पनि यस क्षेत्रको धार्मिक र सांस्कृतिक विरासत धानेर बसेको उनले बताए ।


तल्कोटमा हरेक वर्ष दसैं मेला लाग्छ । बझाङकै प्रसिद्ध उक्त मेलामा पूर्वराजाको उपस्थिति अनिवार्य हुन्छ । दसैंको नवमीका दिन दरबारमा रहेको भैरव मन्दिरमा पशु बलि चढाउन जिल्लाका विभिन्न ठाउँबाट श्रद्धालुहरू भेला हुन्छन् । सबै घरबाट काँचो (तोकिएको रकम) उठाएर किनिएको राँगोलाई राजाले विशेष पूजा गरेर मन्दिरमा रहेको खुँडाले छोएपछि मात्र बलि दिने काम सुरु हुन्छ । दसैंको दिन पूर्वराजाको हातको टीका र जमरा लगाउनका लागि टाढाटाढाबाट मानिसहरू यहाँ पुग्ने गरेको स्थानीय जनक विष्टले बताए ।


यस्तै दसैंपछिको ठूलो पर्वका रूपमा मनाइने गौरा पनि यहाँका राजपरिवारसँग जोडिएको छ । गौरा यस क्षेत्रका स्थानीयहरूले तल्कोट दरबारमा गौरा भित्र्याउने गर्दछन् । गौरा पूजा, गौरा नाचका लागि पनि यहाँका मानिसहरू दरबारको प्रांगणमा भेला हुने गर्दछन् । राजाका ब्राह्मणले बनाएको गौरीको पुतलालाई राजाले विशेष खालको कपडाले बनेको ठूलो छाता ओढाएर दरबारमा भित्र्याउने चलन रहेको तल्कोटका स्थानीयसमेत रहेका अर्का प्राध्यापक लालबहादुर बोहराले बताए । ‘राजा यहाँका लागि सामाजिक, धार्मिक तथा सांस्कृतिक एकताको प्रतीक जस्तै हुन्,’ उनले भने, ‘राजा र प्रजाबीचको सम्बन्ध सुमधुर बनाउन, सबै मानिसहरू भेला गराएर परम्परादेखि चल्दै आएका रीतिरिवाजहरूलाई अहिले पनि यहाँका स्थानीयले कायमै राखेका छन् ।’ राजाको उपस्थितिमा हुने यस्ता गतिविधिहरूले सामाजिक सम्बन्धहरू जोड्नका लागि महत्त्वपूर्ण योगदान दिएको उनले बताए ।


दसैं र गौरामा मात्र हैन । यहाँका स्थानीय मठमन्दिरमा सामूहिक पूजाआजा हुँदा राजाको उपस्थितिलाई महत्त्वका साथ लिने गरिएको कैलाश देवताका धामी गोरख जेठाराले बताए । ‘कुनै पनि मन्दिरमा पूजा सुरु गर्दा धामीले देउता काँपेर राजालाई माला लगाइदिन्छन्,’ उनले भने, ‘राजाको उपस्थिति भयो भने गाउँलेहरूले पनि आफूहरूको पूजा राम्रो हुन्छ भन्ने विश्वास गर्छन् ।’ उनले धेरैजसो मन्दिरमा बोकाको बलि दिन्छन् । बलि दिँदा धामी काँपेर एक फिला हातैले तानेर राजाको भाग छुट्याउने चलन कायमै रहेको उनले बताए ।


केही वर्ष पहिलासम्म मह काढ्दा पहिलो पोतलो (चाका) राजालाई छुट्याउने चलन थियो । यस्तै नयाँ अन्न खानुपूर्व दरबारको भाग छुट्याउनुपर्ने, भैंसी पहिलोपटक ब्याउँदा दूध दरबारमा दिनुपर्ने चलन अनिवार्य थियो । यो चलन भने अहिले हटाइएको छ । ‘हामी यहाँको संस्कृति जगेर्ना गर्न बसेका हौं,’ हालका रजवार नारायणबहादुर सिंहले भने, ‘कतिपय चलन र परम्पराहरू अलि सामन्ती प्रकृतिका भएकाले बन्द गराएका हौं ।’ राजपरिवारले यस्ता चलन हटाए पनि कतिपय स्थानीयले अहिले पनि मनले जितेर मान्दै आएको भोग्नुपर्दा सम्झाउने गरेको उनले बताए ।


नारायणबहादुर सिंह, तल्कोटका १७ औं पुस्ताका रजवार हुन् । विसं १४०० तिर बझाङी राजाको दरबार रहेको ब्याँसीकोटमा निरन्तर हुने बज्रपातलाई आफ्नो तान्त्रिक शक्तिका माध्यमबाट टाढा फाल्न सफल भएका एकजना भारदार मेदनी सिंहसँग खुसी भएका तत्कालीन बझाङी राजा पृथ्वीबहादुर सिंहले तल्कोट क्षेत्रको राजपाठको जिम्मेवारी दिएको कुरा बझाङ राज्यसम्बन्धी विभिन्न दस्तावेजमा उल्लेख छ ।


बझाङ राज्यको इतिहासका जानकार प्रयागराज जोशीका अनुसार तल्कोटको राजपाठको जिम्मेवारी पाएका मेदनी सिंहले तल्कालीन लुगाडीकोट, दानाकोट र चौसालकोटमा राज्य गरेका थिए । उनले यस क्षेत्रका राजा लडछडी रावललाई हराएर तल्कोट राज्यमै गाभेपछि तल्कोटको राजपरम्परा र यसको भौगोलिक क्षेत्र पनि सबल र विस्तार भएको थियो ।


तल्कोट दरबारले तत्कालीन समयमा हाल चीनको तिब्बतमा पर्ने मानसरोवर क्षेत्रसम्मको सिर्तो (कर) उठाउने र यस क्षेत्रको प्रशासन चलाउने अधिकार राखेको थियो । यहाँको सम्पूर्ण न्यायिक मामिला छिनोफानो पनि कोट दरबारमै गर्ने गरेको दस्तावेजहरूमा उल्लेख छ । अहिले पनि गाउँमा सानोतिनो झैझगडा हुँदा राजाको रोहवरमा गाउँका भद्र भलाद्मीहरू बसेर मेलमिलाप गराउने चलन कायमै रहेको यहाँका स्थानीय बताउँछन् । मेलमिलाप गराइसकेपछि आगामी दिनमा मिलेर बस्ने प्रतिबद्धता गर्नका लागि तामा–तुलसी छुवाएर वाचा गर्न लगाउने चलन छ । बेमेलहरू तोडिएको संकेतस्वरूप सिट्को (मसिनो लट्ठी) भाँच्ने चलन रहेको स्थानीय देवराज धामीले बताए ।


परम्पराले धान्ने कहिलेसम्म ?

सामाजिक र सांस्कृतिक सेतुका रूपमा रहेको तल्कोटको राजपरम्परालाई स्थानीयले सम्मान र श्रद्धाका दृष्टिले हेर्छन् । तर, रजवार नारायणबहादुर सिंह र उनका जेठा छोरा किशोरबहादुर सिंह भने भित्रभित्रै निराश छन् । परम्पराकै कारण आफूहरूको प्रगति रोकिएको उनीहरूको बुझाइ छ ।


हुन पनि नारायणका हजुरबुबा जंगबहादुर सिंहका नौ भाइ छोरामध्ये जेठातर्फका उनको परिवारमात्रै हाल दरबार कुरेर बसेको छ । अरू परिवारका धेरैजना सरकारको उच्च ओहदामा छन् । कतिपय धनगढी र काठमाडौंलगायतका ठाउँमा सुविधा सम्पन्न जीवन बिताइरहेका छन् । केही परिवार अमेरिका र बेलायतमा पनि बस्छन् । ‘जेठो भएका कारणले हामीले दरबार छाड्न मिलेन । हामीलाई परम्पराले बाँधेर राख्यो,’ नारायणबहादुरले भने, ‘अरू भाइहरू खुला भए, प्रगति गरे ।


हामी जहाँको त्यहीँ छौं ।’ उनले पनि ०३४ सालमा एसएलसी उत्तीर्ण गरेर भारतबाट आईएस्सीसम्मको अध्ययन गरेको भए पनि राजपरम्परा धान्नकै लागि ठाउँ नछाडेको बताए ।


जेठा छोरा किशोरबहादुर पनि परम्पराको बिँडो थाम्ने तयारीमा छन् । उनी अहिले बुबासँगै दरबारमै बस्ने गरेका छन् । आफ्नो व्यक्तिगत सुखसुविधा र प्रगतिका लागि पुर्खाको इतिहास नबिर्सने किशोरको सोचाइ छ । ‘मभन्दा पछाडिको पुस्ताले के गर्छन्, उनीहरूको विचार हो । मेरै पालामा परम्परादेखि चल्दै आएको संस्कार छोड्न सक्दिनँ,’ उनी भन्छन्, ‘त्यसैले यतै बस्न थालेको छु ।’


गौरीका तल्कोटको गौरव

कुराकानीकै क्रममा किशोरले हालसालै सम्पन्न भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा सबैभन्दा बढी स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी गौरिका सिंहको प्रसंग पनि उठाए । तल्कोटी राजा नारायणबहादुरकी भतिजी नाता पर्ने गौरिकाले देशका लागि कायम गरेको कीर्तिमानले तल्कोटको गौरव बढाएको उनले सुनाए ।


गौरिकाको विजय उत्सव मनाउँदाको क्षण सम्झिँदै उनले भने, ‘त्यो दिन त हामीले भव्य उत्सव मनायौं । तल्कोटवासीले गौरिकाले रेकर्ड तोडुन् भनेर कामना गरिरहेका थियौं । उनी सफल भएको दिन हामी सबै रमायौं ।’ गौरिकाले तल्कोटको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चम्काएको बताउँदै उनी तल्कोट राजपरिवारको सदस्य मात्रै नभएर सिंगो तल्कोटी राजपरम्पराको गौरव भएको बताए ।


पर्यटकको आकर्षण

स्थानीयका लागि राजपरम्परा महत्त्वपूर्ण भए पनि बाहिरबाट तल्कोट जानेहरूका लागि तल्कोट दरबार र यहाँको परम्परा पर्यटकीय आकर्षणको छ । साइपाल हिमाल, चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर जाने प्रवेशद्वारका रूपमा रहेको तल्कोट दरबारमा पर्यटकहरू पुगिरहेका हुन्छन् ।


अग्लो डाँडामा रहेको दरबारबाट उत्तरमा पर्ने व्यास र गुदुपाललगायतका हिमालहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । दक्षिणतिर सेती नदी र त्यस छेउछाउका बस्तीहरूको दृश्य पनि माथिबाट उत्तिकै आकर्षक देखिन्छन् । यस क्षेत्रमा घुम्न आइपुग्नेहरू दरबारमा अनिवार्य पुग्ने गरेको स्थानीय व्यवसायी शोभा भण्डारीले बताइन् ।


कतिपय विदेशी पर्यटक पनि आइपुग्छन् । केहीले परम्परा बुझ्न र भौगोलिक वातावरणमा रमाउन दोहोर्‍याएर आउने गरेको रजवार नारायणबहादुर सिंहले बताए । ‘कतिपय दुई–चार दिन यतै बसेर जान्छन् । कोही एक–दुई वर्षपछि पनि फर्केर आउँछन्,’ उनले भने, ‘यहाँको वातावरण देखेर नेपालीभन्दा पनि विदेशीहरू बढी रमाउँछन् ।’ दरबार घुम्न आउनेलाई चिया, नास्ता, खाना र बाससमेत दिने गरेको उनले बताए ।

तल्कोट गाउँपालिकाले पनि यस दरबारलाई गाउँपालिकाको मुख्य पर्यटकीय तथा पुरातात्त्विक महत्त्वको स्थानको मानेको छ । यसको प्रचारप्रसार र प्रवर्द्धनका योजना निर्माण भइरहेको गाउँपालिका अध्यक्ष लालबहादुर विष्टले बताए । प्रकाशित : फाल्गुन ६, २०७६ ०८:५९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आर्मीले गुमाएको ऐतिहासिक अवसर

हिमेश

काठमाडौँ — कति नजिक, अझै कति टाढा । यो खेलकुदमा प्रायः प्रयोग हुने शब्दावली हो । यो किन दोहोर्‍याएर प्रयोग हुन्छ भने यस्तो स्थिति खेलकुदमा दोहोरिइरहेको हुन्छ । त्रिभुवन आर्मी क्लब यसपालि सहिद स्मारक लिग ‘ए’ डिभिजन उपाधि नजिक पुगेर पनि त्यसबाट अन्ततः टाढा रहनुपर्‍यो ।



दशरथ रंगशालामा भएको अन्तिम दिनको खेलअघिसम्म पनि आर्मीका प्रशिक्षक नवीन न्यौपाने भनिरहेका थिए, ‘हामी उपाधिबाट एक पाइलामात्र टाढा छौं ।’

त्यो एक पाइला आर्मीले चाल्नै सकेन । सबैभन्दा पहिले २०६३ सालको लिगमा फर्कौं । त्यो वर्षको फागुन २५ मा भएको खेलमा आर्मी अहिले जस्तै स्थितिमा थियो । टोलीलाई बराबरीमै लिग जित्ने अवसर थियो । खेल पुलिस क्लबविरुद्ध थियो । त्यो खेल आर्मीले २–० ले गुमायो । पुलिसका लागि रमेश बुढाथोकी र जुमनु राईले गोल गरे । पुलिसले उपाधि चुम्यो । जति बेला खेल सकियो, आर्मीका गोलरक्षक विकास मल्लले आफूलाई थाम्न सकेनन् । मैदानमै रोए ।

यसपल्ट पनि यस्तै स्थिति थियो । मछिन्द्रलाई बराबरीमा रोके पुग्नेमा आर्मी पराजित नै रह्यो । त्यो पनि आत्मघाती गोलमा । विकास तामाङको नाम सधैं गलत कारणले सम्झिने छ । जति बेला यो खेल पनि सकियो, आर्मीका लगभग सबै खेलाडी मैदानमै ढले । धेरैले आफूलाई सम्हाल्न नै सकेनन् । ‘च्याम्पियन’ को निकै नजिक पुगेर पनि त्यसबाट वञ्चित हुनुपरेको आर्मीका लागि यो दोस्रोपल्ट थियो । यस्तो स्थितिमा आफूलाई सम्हाल्न गाह्रो हुन्छ । त्यसैले त फुटबल निर्दयी खेल हो भनेर भनिन्छ ।

धेरै अर्थमा आर्मी ऐतिहासिक रूपमा चुकेको मान्न सकिन्छ । यस्तो किनभन्दा नेपाली फुटबलले ढिलोचाँडो एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेनिइङ प्रणाली लागू गर्नैपर्छ । यस्तो स्थितिमा विभागीय टिमले लिग खेल्ने सम्भावना पनि कमजोर हुनसक्छ । यो त भयो भविष्यको सम्भावना मात्रै । अहिले तत्कालका लागि भने खाली एउटै तथ्य के स्थापित भएको छ भने आर्मी फेरि एकपल्ट लिग जित्न असफल रह्यो ।


नेपालमा सफा र राम्रो नियतले फुटबल खेल्ने टिमका समर्थकका लागि आर्मी चुक्नु वास्तवमै पीडादायी रहनेछ । एउटा तथ्य के पनि यही लिगमा स्थापित भएको छ भने भलै आर्मीले उपाधि चुम्न सकेन तर पूरा प्रतियोगितामा सबैभन्दा मीठो फुटबल पस्कने टिम आर्मी नै हो । प्रशिक्षक न्यौपानेको नेतृत्वमा आर्मीले अधिकांस खेलमा अत्यन्त ‘पेस’ मा लयात्मक फुटबल खेल्यो । आर्मीले धेरैको मन जित्यो तर उपाधिमात्र जित्न सकेन ।

आर्मीले १३ खेलमध्ये ६ खेलमा ‘क्लिन सिट’ राखेको थियो । तर टोलीका लागि तीन खेलका प्रतिकूल नतिजा निकै महँगो साबित भयो । दोस्रो चरणमा मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित रहनुसम्म पचाउन सकिएला, तर संकटा र एनआरटीसँगको बराबरी भने स्वीकार्य रहेन । आर्मीले जुन प्रकारले थ्रीस्टारलाई चौथो चरणमा २–० ले हरायो । धेरैले त्यो खेल पछिसम्म पनि सम्झनेछन् । त्यसै खेलमा सन्तोष तामाङले प्रतिबन्धयता पहिलोपल्ट खेले र उत्कृष्ट प्रदर्शन गरे ।


उनको आगमनपछि त आर्मीको खेल अझ माझिएको थियो । पुलिससँग ४–२ को जितपछि उत्कृष्ट पुनरागमन रह्यो । एनआरटीसँग गोलरहित बराबरीपछि पनि आर्मीले लगातार ४ खेल जितेको थियो, तर अन्तिम खुड्किलो पार नै गर्न सकेन । आर्मी किन असफल रह्यो त ? यसको उत्तर ठ्याक्कै कसैले दिन सक्ने छैन । एउटा सिनेमा किन सफल हुन्छ, के त्यसको फर्मुला छ र ? उत्तर, छैन । आर्मीले पनि खेलको मैदानमा राम्रो पटकथा त बुन्यो, तर त्यसलाई सुखद अन्त्य दिन सकेन ।

आर्मीले उतारेको टिम भने एकरूपको थियो । उसले २२ खेलाडी उतारेकामा त्यसमध्ये चार खेलाडीले एकै खेलमात्र खेले । आर्मीका लागि सबै १३ खेल्ने तीन खेलाडी रहे, भरत खवास, जर्जप्रिन्स कार्की र विकेश कुथु । विकास खवासले डिफेन्स र सन्तोषले मिडफिल्डमा राम्रो गरे पनि उनीहरू उत्कृष्ट चुनिएनन्, व्यक्तिगत विधामा । सन्तोषले त ४ गोल पनि निकाले । धेरै हदसम्म जर्जप्रिन्सको खेल उनको प्रतिष्ठाअनुसार रहेन ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०८:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×