१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

परदेशमा आफ्नैले लुटे

भवानी भट्ट

(कञ्चनपुर) — भारतबाट काम गरेर घर फर्किरहेका बाबुछोरा बाटोमै लुटिएका छन् । उत्तराखण्डको कर्णप्रयागमा मजदुरी गरेर फर्किरहेका बर्दियाको बारबर्दिया नगरपालिका–८ का केशरबहादुर मल्ल र उनका बुवा शेरबहादुर लुटिएका हुन् । सँगै रहेका एक नेपालीले चियामा नशालु पदार्थ हालेर खुवाइ बेहोस बनाएर भारु ४५ हजार रुपैयाँ र एउटा मोबाइल सेट लुटी लगेका हुन् । 

परदेशमा आफ्नैले लुटे

बुधबार बिहान कर्णप्रयागबाट हिँडेका उनीहरू साँझ हरिद्वार पुगेका थिए । त्यहाँ दाङ घर बताउने अर्का नेपाली भेटिएका थिए । ‘रुपैडिया आउने बस छुटिसकेकाले तीनैजना बनबासाकै बसमा चढ्यौं,’ केशरले भने, ‘कुराकानी हुँदा उनी हाम्रो नजिक भएका थिए ।’ खाना खाने ठाउँमा उनैले चिया पिउन कर गरे । ‘चिया पिएर हामी सँगै बसमा बस्यौं, बस चलेपछि होस हरायो,’ उनले भने, ‘पैसा र मोबाइल सबै लगेर गयो ।’ आफूसँग भएको ५ हजार र बुबासँग भएको ४० हजार सबै लगेको केशरले बताए ।


केशर चार वर्ष कतारमा रोजगारी गरेर फर्केका थिए । फेरि कतार जानकै लागि उनले रोजगार कम्पनीमा निवेदन दिएका थिए । त्यसकै लागि खर्च जुटाउन उनी बुबासँगै भारत पसेका हुन् । तीन महिना ढुंगामाटोको काम गरेर ४० हजार भएपछि उनीहरू घर फिर्दै थिए । विदेश जान लाग्ने अपुग रकम गाउँमै खोजेर काठमाडौं जाने योजना थियो । बाटोमै लुटिएका बुबा–छोरा बेहोस अवस्थामा महेन्द्रनगर पुगेका हुन् । बुधबार बिहान सीमावर्ती बनबासामा बेहोस भेटिएका उनीहरूलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा गड्डाचौकी पुर्‍याइएको थियो ।


सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्रालयको गड्डाचौकीस्थित सहायता कक्षले उनीहरूलाई महाकाली अस्पताल पुर्‍यायो । उपचारपछि उनीहरू घरतर्फ हिँडेको सहायता कक्षका कर्मचारी दानसिंह बोहराले बताए । ‘भदौमा यो कक्ष राखेयता यस्ता नौवटा घटनाका पीडित आइपुगेका छन्,’ उनले भने, ‘घर फर्कँदै गरेकालाई नेपालीले नै लुटेका छन् ।’

प्रकाशित : फाल्गुन ३, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?