कुवेतमा नेपालीको मृत्यु घटना : खाडलमा झारिएका घाइतेले भने, ‘बाहिर निस्कने भर्‍याङ नै थिएन’

होम कार्की

काठमाडौँ — कुवेतको ‘साउथ अल–मुत्ला सिटी’ मा २८ हजार ६६३ वटा घर बनिरहेका छन् । देशकै सबैभन्दा ठूलो आवासीय सहर निर्माणका क्रममा पाइप बिछ्याउन भुइँ सम्याउने काम भइरहेको थियो । झन्डै ५ मिटर गहिरो खाडलमा जाने बाटो नभएपछि सर्लाहीका मनोरथ मण्डलसहित आठ जना नेपालीलाई पालैपालो एक्स्काभेटरको बकेटमा चढाएर खाडलमा झारियो । त्यतिखेर कुवेतमा दिउँसोको २ बजेको थियो ।

कुवेतमा नेपालीको मृत्यु घटना : खाडलमा झारिएका घाइतेले भने, ‘बाहिर निस्कने भर्‍याङ नै थिएन’

पाइप बिछ्याउने खाडल लामै थियो । युनिभर्सल लिडर्स एन्ड जेनेरल कन्स्ट्रक्टिङ कम्पनीमार्फत् सहर निर्माणमा खटिएका कामदारहरू सावेल लिएर भुइँ सम्याउँदै थिए । नेपाली कामदार खाडलमा छिरेको एक घण्टा पनि भएको थिएन, एक्कासि माथिको भित्ता चर्कियो । ‘टाउको उठाएर यसो माथि के हेरेको थिएँ । माटो झर्न थालिहाल्यो,’ मण्डलले कान्तिपुरलाई फोनमा भने, ‘दायाँ–बायाँ निस्केर भाग्ने ठाउँ थिएन । साथीहरू सबै आत्तिए । चल्नै पाइएन । गर्लम्मै परसम्म माटो खस्यो ।’


घाँटीसम्म माटोले पुरिएका मण्डलले बाँच्ने आशा गुमाइसकेका थिए । ‘मैले टाउकोलाई कतै चलाउनै सकिनँ । मलाई माटोबाट निकाल्न दुई घण्टा जति लाग्यो होला । कसो भगवान्ले बचाए,’ उनले भने, ‘दुवै हात फ्याक्चर भएकाले प्लास्टर लगाइएको छ ।’ आफूलाई अस्पतालबाट राति २ बजे कम्पनीको क्याम्पमा ल्याएर छाडिएको उनले बताए । मण्डलले क्याम्पमा आएपछि मात्रै आफूसँगै काम गर्ने ६ जना नेपालीको ज्यान गएको थाहा पाए । ‘हामीसँग काम गर्ने साथीहरू अर्को क्याम्पमा बस्ने पनि थिए । उनीहरू सबै नेपाली हुन्,’ उनले भने ।


कुवेतस्थित नेपाली दूतावासले मृत्यु भएकामध्ये ६ जना नेपाली रहेका पुष्टि गरेको छ । घटनामा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ, दाङका श्यामनारायण चौधरीको मृत्यु भएको हो । दुई जना मृतकको भने पहिचान भएको छैन । धर्मेन्द्रकुमार शाहको भने कुवेतस्थित अस्पतालमा उपचार भइरहेको छ ।


‘हामी कम्पनी र कुवेती अधिकारीसँग थप बुझ्ने प्रयास गरिरहेका छौं,’ कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारीले कान्तिपुरलाई भने । बुधबार दिउँसो भएको घटनाबारे बिहीबार दिनभरि पनि कम्पनीले कामदारलाई आधिकारिक जानकारी दिएको थिएन । उनीहरूले दिउँसो नेपालीको अवस्थाबारे जानकारी गराउन माग गर्दै धर्ना गरे । खाल्डोमा पुरिएका नेपालीको आईडी नम्बर खोज्दै कम्पनीका अधिकारीहरू क्याम्प पुगेका थिए । ‘मेरो कोठाको साथी आएको छैन भन्दै खोज्न थालेका छन्,’ एक नेपाली कामदारले भने, ‘को–को साथीहरू परे भनेर पत्ता लगाउन सकिएको छैन ।’


‘हामीलाई काममा लगाउने फोरम्यान माथि नै थियो । उसले सबै देखिरहेको थियो । माटोले पुर्नासाथ तुरुन्तै उद्धार गरिएको भए साथीहरू बच्थे होलान् ?’ उनले भने, ‘सेफ्टी गार्डहरूले कसैलाई जान दिएन । सरकारी उद्धार टोली आइपुग्दा ढिलो भइसकेको थियो ।’



खाल्डोबाट उद्धार गरी जीवन जोगिएका सर्लाहीका मनोरथ मण्डल ।


कामदारहरूका अनुसार पहिले खनिएको छेउमा अर्को खाल्डो तयार गर्दा माटो ढलेको हो । ‘अर्को छेउमा पनि ठूलो खाल्डो खनिएको थियो । त्यो प्राविधिक हिसाबले गलत भयो भन्दै फेरि थोरै पर अर्को खाल्डो खनियो,’ एक कामदारले भने, ‘दुईतिर ठूलो खाल्डो भएपछि माटो कामदारहरू भएतिर पल्टियो ।’ उनीहरूले बिनासुरक्षा जबर्जस्ती खाल्डोमा पठाइएको बताए । ‘सुपरभाइजर र फोरम्यान अधिकतर चाइनिज छन् । उनीहरूले पोलेर काममा लगाउँछन् । नत्र पिट्नेसमेत गरेका छन्,’ अर्का नेपाली कामदारले भने, ‘काम गरेन भने दुई महिनासम्म सुताएर नेपाल पठाइदिने गरेको छ ।’


कम्पनीमा झन्डै दुई हजार नेपाली कार्यरत छन् । उनीहरूलाई काम गर्ने साइटमै राखिंदै आएको छ । ‘हामीलाई ११० केडी तलब दिने भनिएको थियो । जसमा ३० केडी त खानामै काट्छ,’ ती नेपालीले भने, ‘खाना पनि राम्रो खुवाउँदैन ।’ कम्पनीमा लुलु इन्टरनेसनल, एसओएस र समत म्यानपावरबाट कामदार पठाइएको हो ।


घटनास्थल कुवेत सिटीबाट ४० किमि टाढा पर्छ । ‘साउथ अल मुत्ला सिटी’ २० अर्ब डलरको परियोजना हो । घटनाबारे छानबिन गर्न कुवेत सरकारले समिति गठन गरिएको जनाएको छ ।

प्रकाशित : फाल्गुन २, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?