कुबेतमा मृत्यु हुने ६ नेपाली कामदारमध्ये ४ को पहिचान खुल्यो [अपडेट]

फाल्गुन १, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — कुवेतमा बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएका ६ जना नेपाली कामदारको ४ जनाको पहिचान खुलेकाे छ ।

ढिस्कोले पुरिएर मृत्यु भएकामध्ये पहिचान हुनेहरु एक बहादुर गाहा–पाल्पा, गंगाराम चाैधरी–सिराहा, बसन्त गुरुङ–ताप्लेजुङ र श्याम नारायण चाैधरी–दाङ हुन् । कुवेतस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै पहिचान हुनेरुकाे विवरण सार्वजनिक गरेकाे हाे ।


अरब टाइम्सले जनाएअनुसार कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ६ जना नेपाली कामदारको मृत्यु भएको हो ।

चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र  ढुंगा खसेको थियो । ढिस्कोमा पुरिएकामध्ये ६ जनाको सकुशल उद्धार गरिएको कुवेती अधिकारीले जनाएका थिए।  

कुवेतको भौतिक मामिलासम्बन्धी मन्त्री राना अल फरिसले घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गर्न निर्देशन दिएकी छिन् । उनले दुर्घटनाको कारण पत्ता लगाइ दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएकी छिन् । 

दूतावासबाट यस घटनाबारे स्थलगत अध्ययन भइरहेकाे छ ।

कान्तिपुर

Link copied successfully