वैदेशिक रोजगार कसुरमा फरार तामाङ पक्राउ

तामाङलाई वैदेशिक रोजगार न्यायधिकरणले  ४ लाख ५० हजार जरिवाना र ४ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको छ

माघ २६, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार कसुर मुद्दामा फरार अजय तामाङलाई पक्राउ गरेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२६ रानीबारीमा बस्ने ३७ वर्षीय तामाङलाई ब्यूराेले शुक्रबार पक्राउ गरेको हो ।

तामाङलाई भक्तपुर जिल्ला अदालतमार्फत कारागार कार्यालय डिल्लीबजार पठाएको ब्यूरोले आइतबार विज्ञप्तिमार्फत जनाएको छ । 

  

वैदेशिक रोजगार कसुरका तीन मुद्दामा वैदेशिक रोजगार न्यायधिकरणले ०७५ मंसिर २४ गते तामाङलाई ४ लाख ५० हजार जरिवाना र ४ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि फरार तामाङलाई ब्यूरोले पक्राउ गरेर भक्तपुर जिल्ला अदालत मार्फत कारागार कार्यालय डिल्लीबजार पठाएको हो । 

तामाङले आकर्षक वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै पैसा लिएको तर भने बमोजिम वैदेशिक रोजगारमा नपठाएको भन्दै उजुरी परेको थियो । 

कान्तिपुर

Link copied successfully