काठमाडौँ — चीनमा नोवल कोरोना भाइरसको संक्रमण व्यापक भएपछि घर फर्कन चाहने त्यहाँका नेपालीले सरकारबाट विशेष विमानको व्यवस्थासहित सहयोगको पहल नभएकामा दुःखेसो गरेका छन् । कतिपय विद्यार्थीले भने चीनमै आफूहरू सुरक्षित रहेकाले फर्कन नचाहेको जनाएका छन् ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारी ले नेपालमा स्वास्थ्य परीक्षण, उपचारलगायतको उचित व्यवस्थापन नभऐसम्म चीनबाट आफ्ना नागरिकलाई फर्काउन सम्भव नरहेको बताए । ‘हामीकहाँ आईसीयूसहितको आइसोलेसन वार्ड निकै कम छन् । संक्रमण विस्तार भए रोक्न सकिने स्थिति छैन,’ उनले भने । चीनबाट एकैपटक विद्यार्थी ल्याएर चिकित्सकीय सहायतासहित आइसोलेसनमा राख्न सक्ने क्षमता यहाँ नरहेको ती अधिकारीको भनाइ छ ।
नोवल कोरोना भाइरसको संक्रमण सुरु भएको चीनको वुहान बाहिरका सहरहरूमा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई त्यहाँका कलेजहरूले तत्काल घर फर्कन प्रोत्साहन गरिरहेका छन् । क्यापिटल मेडिकल कलेज, बेइजिङमा एमडी गरिरहेकी डा. नीति श्रेष्ठले भने उतै सुरक्षित अनुभव गरिरहेको बताइन् । ‘फर्के एयरपोर्ट, ट्रान्जिट, हवाईजहाज आदिमा संक्रमणको जोखिम हुन्छ,’ उनले भनिन्, ‘घर पुगे पनि दुई साता आइसोलेसनमै बस्नुपर्छ ।’
डा. नीतिले संक्रमणको लाक्षणिक उपचार गरिने भएकाले उच्च गुणस्तरको उपकरण र विज्ञतासहितको आधुनिक अस्पताल भएको ठाउँमा सुरक्षित भइने बताइन् । उनका अनुसार वुहानमा नेपाली विद्यार्थी क्वारेनटाइनको स्थितिमै छन् । चीनमा पढेका विद्यार्थीको संगठन अरनिको समाजका उपाध्यक्ष एवं नेपाल मेडिकल काउन्सिलका सदस्य डा. मनोजमान श्रेष्ठले आफूहरू नेपाली विद्यार्थीलगायतसँग निरन्तर सम्पर्कमा रहेको बताए ।
‘वुहानबाहेक ग्वाङझाउ, बेइजिङ, छेङदुलगायत सहरमा बस्ने विद्यार्थीलाई स्थानीय निकायले घर फर्किने भए फर्के हुन्छ भन्दै फर्किने प्रक्रियाबारे जानकारी दिने गरेका छन्,’ उनले भने ।
डा. श्रेष्ठका अनुसार चीनमा करिब ५ हजार नेपाली विद्यार्थी छन् । वुहानमा चीन सरकारले विशेष निगरानी राखेकाले त्यहाँ रहेका नेपालीलाई बाहिर जान दिइएको छैन । नेपाल सरकारले आग्रह गरे मात्र त्यहाँका विद्यार्थीलाई घर फर्कन दिइने डा. श्रेष्ठ बताउँछन् ।
छेङदुबाट १६ जना नेपाली विद्यार्थी शुक्रबार घर आइपुगेका छन् । एयर चाइनाले विद्यार्थीलाई बेइजिङ–काठमाडौं उडानमा करिब ३५ हजार रुपैयाँ लिने गरे पनि हिमालय एयरलाइन्सले धेरै बढी भाडा लिने गरेको दुखेसो विद्यार्थीले गरिरहेको डा. श्रेष्ठले बताए ।
कलेजले विदेशी विद्यार्थीलाई सम्भावित संक्रमण रोक्न कोठा बाहिर ननिस्कन भनेका छन् । भाइरसको उद्गमस्थल वुहानमा सबैभन्दा बढी कडाइ गरिएको छ । यो भाइरस बाफबाट सर्ने भएकाले जोखिममा भएका होस्टेलहरूमा सेन्ट्रल हिटिङ सिस्टमसमेत बन्द गरिएको छ । वुहानमा रहेकाहरू बढी चिन्तामा छन् । ‘आमाबुवा चिन्तित हुनुहुन्छ । घर फर्किंदा केही भयो भने उपचारमा समस्या पर्छ,’ चिकित्साशास्त्रमा अध्ययनरत एक विद्यार्थीले भने । अर्का विद्यार्थीले चीनमा उच्च सतर्कता अपनाइएको जानकारी दिए । ‘यहाँ समस्या देखिए तुरुन्त उपचार हुन्छ, स्वास्थ्य निकायमा अत्याधुनिक सुविधा छ,’ ती विद्यार्थीले टेलिफोनमा भने ।
