कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वका कुनै पनि सूचकमा नेपालको अवस्था ‘नेगेटिभ’ छैन : प्रधानमन्त्री

जयसिंह महरा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका कुनै पनि सूचकमा नेपालको अवस्था नेगेटिभ नभएको बताएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेकपाको केन्द्रीय कमिटी बैठकमा सरकारले केही गरेन भन्ने हल्ला निराधार भएको बताएका हुन् ।

विश्वका कुनै पनि सूचकमा नेपालको अवस्था ‘नेगेटिभ’ छैन : प्रधानमन्त्री

विपक्षी र नेकपाकै नेताहरुले सरकारले केही गरेन भन्ने आरोप लगाइरहँदा प्रधानमन्त्री ओलीले विभिन्न तथ्याङ्‍क प्रस्तुत गर्दै सरकारको उपलब्धि फेहरिस्त बताएका हुन् । उनले नेपाल कुनै पनि सूचकांकमा अगाडिबाट पछाडिमा झर्‍यो भन्ने अवस्थामा नपुगेको दाबी गरे ।

विश्व बैंकको डुइङ बिजनेसदेखि संयुक्त राष्ट्र संघको मानव विकास सूचकांकसम्म नेपालले उल्लेख्य सुधार गरेको प्रधानमन्त्रीले बताए । उनले यी सबै कुरा विधिको शासनको उपलब्धि भएको दाबी गरे । ‘केही टावर पड्काउने, ब्लास्ट गर्ने चन्दा असुली गर्नेहरुमाथि नियन्त्रण गरेका छौं,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले सुशासनदेखि भ्रष्टाचार नियन्त्रणसम्म नेपालले उल्लेख्य सुधार गरेको बताए ।

गणतन्त्रपछि लगातार ४ प्रतिशतको आर्थिक वृद्धि भई त्यसपछि ६ प्रतिशतभन्दा भएको बताउँदै इकोनोमिस्टले उच्च आर्थिक वृद्धि गरिरहेका मुलुकको सूचीमा नेपाललाई राखेको प्रधानमन्त्री ओलीले दाबी गरे । ‘हामीले बनाएको होइन, द इकोनोमिस्टले हो ।अन्तर्राष्ट्रिय मानकमा नेपाल अगाडि बढेको छ । कम्युनिस्ट सरकाले कसैलाई पनि कमजोर बनाएको छैन,’ प्रधानमन्त्री ओलीले भने ।

दैलेखमा पेट्रोलियम अन्वेषण सुरु भएको र फलाम खानी उत्पादनको काम निकट भविष्यमा सुरु गर्ने प्रधानमन्त्री ओलीले दाबी गरे । यी दुई आयोजना पूरा भएपछि नेपालको अवस्था बेग्लै हुने पनि प्रधानमन्त्री ओलीले बताए ।

त्यसैगरी उनले निर्यात २७ प्रतिशतले बढेको, आयातमा कमी आएको, भुक्तानी सन्तुलन बचतमा रहेको, उत्पादन र उत्पादकत्व बढेको तथा, धान, गहुँ र मकैको उत्पादन बढेको तथ्यांक नै प्रस्तुत गरे ।

सडक निर्माण, पुल निर्माणलगायत भौतिक पूर्वाधारमा भएका काम, पानी जहाज कार्यालयको स्थापना, चितवनको नारायणी नदीमा क्रुज सञ्चालन भएको लगायतका विवरण पनि प्रधानमन्त्री ओलीले प्रस्तुत गरे ।

प्रकाशित : माघ १५, २०७६ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?