एमसीसीमा भएका प्रावधान संशोधन हुनुपर्छ : गृहमन्त्री थापा

रासस

सुर्खेत — गृहमन्त्री रामबहादुर थापाले एमसीसीमा भएका प्रावधानहरु संशोधन हुनुपर्ने बताएका छन् । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुईदिने सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत आइपुगेका गृहमन्त्री थापाले शुक्रबार पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटमा नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने देखिए एमसीसी मान्य नहुने बताएका हुन् । 

ZenTravel

‘एमसीसी परियोजनाअन्तर्गत अमेरिकाबाट नेपालमा लगानी हुने ५५ अर्ब रुपैयाँ बजेटमा नेपालको पनि १३ अर्ब लगानी हुन्छ,’ उनले भने,‘तर पनि कर्मचारी राख्नेदेखि लेखापरीक्षणलगायत विभिन्न प्रावधानहरुमा अमेरिकाको निर्णय मान्नुपर्ने बाध्यता जस्ता कुराहरु संशोधन हुनुपर्छ।’ अमेरिकी राजदूतावासले एमसीसीमा हिन्द प्रशान्त रणनीति नरहेको विज्ञप्तिमार्फत जानकारी गराइसकेको उनले जानकारी दिए।

Meroghar

गृहमन्त्री थापाले एमसीसीबारे नेकपाको स्थायी समितिमा छलफल भएर हिन्द प्रशान्त रणनीति एमसिसीमा समेटिए सो सम्झौतामा सहभागी नहुने र त्यसको कार्यान्वयन नगर्ने भन्ने भएको जानकारी दिए। अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध सुदृढ हुँदै गएको उल्लेख गर्दै उनले सङ्घीयता कार्यान्वयन गर्न केही कानुन बन्न बाँकी रहेको बताए।

गृहमन्त्री थापाले चीनले पनि नेपालको पूर्वाधार, जलविद्युत्, राजमार्ग, सञ्चारलगायत क्षेत्रमा लगानी गर्न बीआरआईमार्फत ६० अर्ब रुपैयाँ बजेट लगानी गर्ने भएको उल्लेख गर्दै लिम्पियाधुराको समस्या समाधान गर्नका लागि सरकारको भारतसँग कूटनीतिक प्रयास भइरहेको बताए।

प्रकाशित : माघ ११, २०७६ ०९:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

घट्यो वारिपारि बिहेको चलन

भवानी भट्ट

(कञ्चनपुर) — उस्तै समुदाय, मिल्दोजुल्दो धर्म, संस्कृति । त्यसैले नेपाल र भारतबीचको सम्बन्ध दर्शाउन प्रयोग हुने शब्द हो– रोटीबेटीको नाता । रोजगारी गर्ने चलनसँगै वाि्रपारि बिहेबारी चल्दै आएको छ । सुदूरपश्चिममा दार्चुलादेखि कञ्चनपुरसम्मका सीमावर्ती क्षेत्रमा वारिपारि विवाहको चलन पुस्तौंदेखिको हो । पछिल्ला वर्षमा भारतबाहेकका मुलुकमा रोजगारीका लागि जाने बढे । सँगै वारिपारि बिहे गर्ने पनि चलन घटेको छ ।

‘विवाहको कुरा त अब निकै कम भइसकेको छ । अहिले केटाकेटीहरूले पनि रुचाउँदैनन्,’ भीमदत्त नगरपालिका–११ भुजेलाका हरिसिंह साउद भन्छन्, ‘उताकाले पनि अब यता दिन चाहँदैनन् ।’ तीन दशकअघि उनले आफ्नो छोराको विवाह भारतबाटै गरेका थिए । त्यही सम्बन्धका कारण पनि चल्दोमिल्दो परिवारबाट प्रस्ताव आउँदा बुढापाकाबीच छोरीचेली भारतमै बिहे गरिदिने कुरा हुने गर्छ । तर अहिलेको पुस्ताले वारिपारिको सम्बन्ध नरुचाउने उनले बताए ।

भीमदत्त–१० गज्जरका ५३ वर्षीय महादेव गिरीले २०४४ मा भारत उत्तराखण्डको चक्करपुरबाट विवाह गरेका हुन् । उनले उता घर भएकी दिदी बिनादेवी नाथकी छिमेकी ममतासँग विवाह गरेका हुन् । बिनाको डडेलधुराबाटै भारतको चम्पावततिर बिहे भएको थियो । गिरी परिवार महेन्द्रनगर सरेपछि दिदीको परिवार पनि चम्पावतबाट चक्करपुर झरेको हो । ‘मेरा लागि केटी दिदीले नै खोजेको हो,’ महादेव भन्छन्, ‘त्यतिबेला भारतबाट विवाह गर्ने चलन धेरै थियो, दुवैतर्फका खुसी नै हुन्थे ।’

महादेवपछि उनका भाइ कमल र भरतको पनि चक्करपुरबाटै विवाह भएको हो । उनीहरूका लागि दुलही खोज्ने काम ममताले गरेकी हुन् । ‘हाम्रो गाउँमा भारतबाट विवाह गरी आएका १०/१२ जना छन्,’ उनी भन्छिन्, ‘बरु पारि दिएका छोरी भने कमै छन् ।’ उनले आफ्ना छोराछोरीको विवाह पनि भारतबाटै गर्न खोजेकी थिइन् । तर उनीहरू मानेनन् ।

महादेवको पुर्ख्यौली घर डडेलधुराको रूपालमा समेत थुप्रैले भारतबाटै विवाह गरेका छन् र आफ्नी छोरीचेली भारततिरै दिएका छन् । डडेलधुराको सीमावर्ती क्षेत्र तामली र दार्चुलाको जोलजिवीलगायतका क्षेत्रमा थुप्रैको वारिपारि विवाह भएको छ ।

दार्चुला, बैतडी र डडेलधुराका सीमावर्ती क्षेत्रमा वारिपारिको बिहेबारी दुई दशकअघिसम्म सामान्य थियो । दुवैतर्फका बासिन्दा तराई झरेपछि यहाँ पनि त्यो क्रमले निरन्तरता पाएको हो ।

भीमदत्त–१० सुकासालका भवानसिंह विष्टका तीन दिदीबहिनीको विवाह भारतमै भएको छ । बैतडीको सीमावर्ती क्षेत्र पिथौरागढको गिठीगाडामा उनका तीन दिदीबहिनीको विवाह भएको हो । विष्टको परिवार बैतडीबाट बसाइँ सरेजस्तै उनका दिदीबहिनीको परिवार पनि गिठीगाडाबाट खटिमा र चक्करपुरमा बसाइँ सरेको छ ।

‘पहिले पहिले कन्या खोज्नुपरे हाम्रा बाउबाजे भारततिरै जान्थे । भारतबाट पनि धेरैजना यता आउने गर्थे,’ आफ्नो बाल्यकालको अवस्था सम्झँदै विष्टले भने, ‘तर अहिले यो क्रम निकै घटेको छ । न त बुढापाकाले रुचाउँछन्, न तन्नेरीहरूले ।’ दिदीबहिनीको घरमा आउजाउ भइरहने भए पनि विगतको जस्तो बिहेबारीको कुरा नचल्ने उनले बताए ।

पारि सेवा सुविधा बढ्यो, वारि जस्ताको त्यस्तै तीन दशकअघिसम्म पनि सुदूरपश्चिमका पहाडी जिल्ला र सीमावर्ती क्षेत्रको जीवनस्तर एकनासको थियो । भारततर्फ धार्चुलाभन्दा पनि माथिसम्मै सडक यातायातको सुविधा पुगे पनि अन्य कुरामा खासै विकास हुन सकेको थिएन । दुवैतर्फका बासिन्दाको आयस्तरदेखि शैक्षिक अवस्था र खानपानको शैली समान थियो । कुमाउ क्षेत्रमा भएको तीव्र विकासले सीमावर्ती क्षेत्रमा पनि निकै चहलपहल बढायो । शैक्षिकस्तर र रोजगारीको क्षेत्र बढ्यो । त्यहाँका बासिन्दाको जीवनस्तरमा निकै सुधार आएको छ । पछिल्लो समय त्रिदेशीय सीमा नाकासम्मै चार लेनको सडक पनि निर्माण भइरहेको छ । विगतमा नेपालतर्फ सडक सुविधा नहुँदा दार्चुला र बैतडीका बासिन्दाले समेत तराई आउनुपरेमा भारतकै बाटो प्रयोग गर्दथे । ‘भारतमा भएको विकासले उताका बासिन्दाको हैसियत निकै बढ्यो,’ लामो समय भारतमै बैंकिङ क्षेत्रमा काम गरेका भवानसिंह विष्ट भन्छन्, ‘हैसियत नमिलेपछि बिहेबारी पनि घट्यो ।’

उनका अनुसार शिक्षा, स्वास्थ्य, यातायात र रोजगारीका क्षेत्रमा भएको परिवर्तनले नेपालीसँगको जीवनस्तर फरक परेको हो । सुदूरपश्चिमका बासिन्दा मजदुरी गर्न सीमावर्ती क्षेत्रमै जाने गर्छन् । स्वास्थ्योपचारका लागि पनि उतै जानुपर्ने बाध्यता छ । केही समयअघिसम्म पनि कुमाउका ग्रामीण भेगमा दाइजो प्रथा थियो । नगदसंँगै गहना, सवारीसाधन र विद्युतीय सामग्री दिनुपर्ने बाध्यता थियो । दाइजो दिन नसक्ने अवस्थामा विकल्पमा समेत नेपालतर्फ छोरी दिन रुचाउने गरेको उनीहरू बताउँछन् । तर अहिले उक्त क्षेत्रमा शैक्षिकस्तर वृद्धिसँगै दाइजोको चलन पनि कम हुँदै गएको छ ।

दशकअघि चक्करपुर बिहे गरेका भीमदत्त–९ का नारायण नाथको परिवार पहिले यहाँ छैन । उनी सपरिवार चक्करपुरमै बसाइँ सरेको छिमेकीहरू बताउँछन् । पारिको खटिमा बिहे गरेका ब्रह्मदेवका हरि नाथ पनि उतै बसाइँ गए । सहज शिक्षा र रोजगारीको अवस्था हेर्दै नारायण र हरि जस्तै विवाहपछि भारतमै बसाइँ सर्नेको संख्या धेरै छ । ‘हाम्रा पनि छोराछोरी यताभन्दा उतै रमाउँछन्,’ भीमदत्त–१० गज्जरकी मुन्नी गिरी भन्छिन्, ‘स्कुल बिदा भयो कि चक्करपुर गइहाल्छन् ।’ माइतीले पनि चक्करपुरमै घडेरी किनेर बस्न आग्रह गरिरहेको उनले बताइन् । खाद्यान्न किनमेलदेखि औषधि उपचार सबैका लागि भारततर्फ धाउनुपर्ने भएकाले पारि बसाइँ जानु बाध्यता पनि भएको उनको बुझाइ छ ।

सुदूरपश्चिमका नौवटै जिल्लाका अघिल्लो पुस्ताका धेरैजसो वृद्धहरू अवकाशप्राप्त सुरक्षाकर्मी हुन् । भारतका विभिन्न फोर्सबाट अवकाश पाएका उनीहरू पेन्सन थाप्छन् । उनीहरू भन्दा अघिल्लो पुस्ताका पनि भारतमै विभिन्न सुरक्षा निकायमा भर्ना हुने गर्थर् े। त्यो भर्तीको चलन हिजोआज निकै घटेको छ । फौजीहरूबाट नेपालतर्फ बिहेबारीको चलन सुरु भएको पनि भन्ने गरिन्छ । यद्यपि सीमावर्ती क्षेत्रमा सदियौंदेखि बिहेबारीको चलन रहेको स्थानीय बताउँछन् । नेपालीहरूलाई गोरखा रेजिमेन्टमा मात्रै भर्ना गर्ने चलन भए पनि सीमावर्ती क्षेत्रका स्थानीय भारतमै बसेर सोही क्षेत्रको बासिन्दा बनेर भर्ना हुने गर्थे । उनीहरूले स्थानीय तहसिलदार र हुलाकीलाई सानोतिनो खर्च दिएर भारतीय नै भएको लेखिदिन आग्रह गर्थे ।

‘झुलाघाटमा दुई महिनासम्म एक जनाको काम गरें, पछि उनैले भर्ती गरिदिए,’ भारतको सेन्टर रिजर्भ पुलिस (सीआरपी) मा दुई दशक काम गरेका भीमदत्त–११ भुजेलाका हरिसिंह साउद भन्छन्, ‘उनले एक महिनासम्म रामपुरमै बसेर मलाई भर्ती गरिदिएका हुन् ।’ सन् १९८५ मा अवकाश हुँदा तलब १२ सय पुगेको थियो । भुजेलाकै नन्दराज भट्ट पनि झुलाघाटकै बासिन्दा बनेर सुरक्षा निकायमा भर्ना भएका थिए । उनीसँगै भर्ती भएका धेरै जनाले भारतबाटै विवाह गरेका थिए । कतिपय त सीमावर्ती क्षेत्रमै बसोबास गरिरहेका छन् ।

प्रकाशित : माघ ११, २०७६ ०९:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×