हिमाली क्षेत्रमा हिउँ पग्लन थालेसँगै वनस्पति फैलिए

जलवायु परिवर्तनको प्रभाव
गोविन्द पोखरेल

काठमाडौँ — गत साता ग्लोबल चेन्ज बायोलोजी जर्नलमा सगरमाथा लगायत हिमाली क्षेत्रमा बिरुवाहरु फैलिन थालेको एक अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक भयो । बेलायतस्थित एक्सिटर विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले ल्यान्डस्याट भू–उपग्रहको सन् १९९३ देखि २०१८ सम्मको तथ्यांकलाई आधार मानेर गरेको उक्त अनुसन्धानले उच्च हिमाली क्षेत्रमा बिरुवाहरु फैलिन थालेको निष्कर्श निकालेका थिए ।

हिमाली क्षेत्रमा हिउँ पग्लन थालेसँगै वनस्पति फैलिए

उक्त अनुसन्धानले हिउँ तथा हिमनदी हुने स्थानको ५ देखि १५ गुणासम्म वनस्पतिहरु पाइएको निष्कर्श निकालेको छ । अध्ययनमा वनस्पतिहरु ४ हजार १ सय ५० मिटरदेखि ६ हजार मिटर उचाईसम्म गरिएको थियो । हिन्दूकुश हिमालय क्षेत्रलाई समेटेर गरिएको उक्त अनुसन्धानले अधिकांश वनस्पतिहरु ५ हजार ५ सय मिटरसम्मको उचाईमा उम्रिएको देखाएको छ ।

हिमाली क्षेत्रमा तापक्रम वृद्धिसँगै वनस्पति फैलिएको नेपाली वैज्ञानिकहरुको दाबी छ । उनीहरुले हिउँ पग्लने र वातवरण अनुकल हुँदा स–सना वनस्पतिहरु फैलिन थालेको बताए ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातवरण विज्ञान क्याम्पसका सहप्राध्यापक एवं जलवायु विज्ञ सुदीप ठकुरीका अनुसार हिमाल क्षेत्रमा वनस्पतिको बढ्दो उपस्थितीले त्यहाँ स्थायी रुपमा हिउँ र बरफ(आईस)ले छोपेको क्षेत्र घट्दै गएको संकेत देखिएको बताए । उनले भने,‘यसले ग्लेसियर र हिउँले ढाकिएको क्षेत्र कम हुँदै गएको संकेत दिन्छ । यो भनेको तापक्रममा आएको परिवर्तन हो । यसले तत्काल असर नदेखाएपनि लामो समयको अन्तरलालमा हेर्ने हो भने माटो बन्ने प्रक्रियादेखि जल तथा वायुमण्डलीय परिवर्तनमा असर गर्छ । ’ वनस्पतिको उपस्थिती धेरै हुँदा हरित गृह ग्यास उत्सर्जन बढ्ने र त्यहाँको स्थानीय जलवायुमा पनि असर गर्ने उनले सुनाए ।

खुम्बु क्षेत्रमा सूक्ष्म वनस्पतिको अध्ययन गरेका त्रिवि केन्द्रीय वनस्पति विभागका उपप्राध्यापक नारायण घिमिरेका अनुसार उच्च हिमाली क्षेत्रको जलचक्रमा प्रभाव र पारिस्थितकीय प्रणालीमा आएको परिवर्तनका कारण वनस्पतिहरु बढेको हुनसक्ने बताए । हिउँ र बरफले ढाकिएका क्षेत्रहरु खुला हुँदा र उपयुक्त तापक्रम भएपछि वनस्पतिहरु आएको उनको दाबी छ । उनले भने, ‘वनस्पतिहरु आउन थाल्नु वनस्पति विकास चक्रको पहिलो चरण हो । तापक्रम परिवर्तन हुँदै जाँदा पोष्टिक तत्वको चक्रमा पनि असर गर्छ । खानेकुरा पर्याप्त हुँदा वनस्पतिहरु आउने गर्छन् ।’ उनका अनुसार सुरुमा लेउ (अल्गी) जस्ता स–साना वनस्पतिहरु आउने र विस्तारै अन्य वनस्पतिहरु फैलन सक्छन् । यसले समग्र प्रणालीलाई नै असर गर्ने उनले सुनाए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)की वरिष्ठ वैज्ञानिक एवं जलवायु विज्ञ अञ्जना गिरीका अनुसार सूक्ष्म जीवहरुको उपस्थिति र खानेकुराको पर्याप्तता बढ्दै जाँदा वनस्पतिहरु उम्रने बताइन् । उनले भनिन्, ‘बरफहरु पानी बनिनु अनि सूक्ष्म जीव बढ्नु र जैविक वस्तुको विच्छेदन बढेसँगै वनस्पतिहरुका लागि उपयुक्त वातवरण बनिन्छ । ’ यस्ता किसिमको परिवर्तनले तल्लो तटीय क्षेत्रहरुमा बसोबास गर्ने मानिसहरुको दैनिकीमा असर गर्ने,बाढी तथा हिमपहिरो, हिमताल विस्फोटनको जोखिमहरु बढ्ने गिरिले बताइन् ।

‘सगरमाथा क्षेत्रमा धेरै नै हिउँ पग्लन थालेको छ’

विगत १२ वर्षदेखि खुम्बु क्षेत्रमा ट्रेकिङ गाइडको काम गर्दै आएका दावा लामाको अनुभवमा सगरमाथा क्षेत्रमा हिउँ धेरै नै पग्लन थालेको छ । पछिल्लो एक दशकमा हिमाली क्षेत्रमा हिउँ पग्लने तथा ट्रेकिङ जाने बाटोमा हिउँ पग्लेर बग्न थालेको उनले बताए । खुम्बु क्षेत्रमा हिमनदीहरु बढेको उनले बताए । त्यस क्षेत्रमा वनस्पतिहरु पनि बढ्दै गएको उनको अनुभव छ ।

केही वर्षयता हिमाली क्षेत्रका बासिन्दालले घरमै गोलभेंडा तथा तरकारीहरु उत्पादन गर्न थालेको पनि उनले सुनाए । उनले इकान्तिपुरसँगको कुराकानीमा भने, ‘३ हजार मिटर उचाइमाथि टहरा बनाएर गोलभेडा उत्पादन थालिएको छ । ४ हजार मिटरमा पनि तरकारी खेती गर्न थालिएको छ । स्थानीयहरुले गमलामा माटो भरेर तरकारी उत्पादन थालेका छन् । मेरो अनुभवमा हिमाल धेरै नै तातो हुन थालेको छ । ’

प्रकाशित : माघ ७, २०७६ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?