कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

किन खतरा हुनसक्छ हिमपहिरो ?

गोविन्द पोखरेल

काठमाडौँ — अन्नपूर्ण सर्किटको देउराली आसपासमा ४ कोरियाली पर्यटकसहित ३ नेपाली शुक्रबारदेखि सम्पर्क विहीन छन् । सगरमाथा र माछापुच्छ्रे आधार शिविरबाट २ सयजना पर्यटक तथा गाइडहरुको शनिबार उद्धार गरिएको पर्यटन विभागले जनाएको छ ।

किन खतरा हुनसक्छ हिमपहिरो ?

हिमाली क्षेत्रमा पदयात्राका लागि विदेशबाट हजारौं पर्यटकहरु नेपाल आउने गरेका छन् । पर्यटन विभागले टूर गाइडबिना हिमालय क्षेत्रको पदयात्रामा रोक लगाएको छ । हिमाली क्षेत्रको यात्रा क्रममा विभागले मौसम पूर्वानुमान हेरेर जान भनेको छ । कतिपय पर्यटकहरु टूर गाइड बिनै पदयात्रामा निस्कँदा हराउने, बेपत्ता हुने तथा हिमपहिरोमा पर्ने र फस्ने गरेका छन् । आकस्मात हुने आउने प्राकृतिक बिपत्तिले जिउधनको क्षति हुने गरेको छ ।

एड्भेन्चर टुरिजम र हिमाली क्षेत्रको पदयात्राको लागि उत्कृष्ट गन्तव्य मानिने नेपाल भौगोलिक विविधता भएको राष्ट्र हो । हिन्दकुश पर्वत श्रृंखलाको मध्यक्षेत्रमा अवस्थित नेपाल जलवायू परिवर्तनको चौथो जोखिम मुलुकभित्र पर्छ । पूर्वी र मध्य क्षेत्रहरुमा धेरै हिमाल र हिमश्रृंखलाहरु छन् । यो क्षेत्रमा धेरै बरफ थुप्रिएका छन् ।


के हो हिम पहिरो ?

उच्च हिमाली क्षेत्रमा हिउँ बन्ने, झर्ने, थुप्रिने भइरन्छ । कम तापक्रम भएकाले यहाँ धेरै नै चिसो हुन्छ । शून्य डिग्रीभन्दा कम तापक्रम हुँदा बरफको थुप्रो ठूलो हुन्छ । हिउँ पर्दै (स्नो फ्लेक्स)हरु धेरै थुप्रिदा खस्ने सम्भावना हुन्छ । मौसम पूर्वानुमान महाशाखाका पूर्व प्रमुख समेत रहेका मौसमविद् मदनलाल श्रेष्ठ भन्छन्,' धेरै हिउँ जम्मा भएको स्थानमा जब अस्थिरता हुन्छ, तब हिउँ झर्छ । त्यही नै हिम पहिरो हो ।'

हिम पिहरो कतिबेला जान्छ भनेर पूर्वनामून गर्न सकिदैन । पूर्वानुमान गर्न नसिकए पनि सतर्कता भने अपनाउन सकिन्छ । श्रेष्ठले भने,'पर्वतारोही र पर्यटकहरुले हिमाली भेगमा जाँदा मौसमको पूर्व जानकारी लिएर जानुपर्छ । कहिलेकाहीं उच्च भेगमा हिमपहिरो जान्छ । हिउँ खस्दा मानिसहरु त्यसैमा पुरिन्छन् । अनि बेपत्ता हुन्छन् ।'


उनका अनुसार हिमपहिरो जानुमा पहाडको 'स्लोप' र हिउँ जमेको थुप्रोको मात्रा कारक हुन्छन् । भिरालो क्षेत्रले पहिरो जाने/नजाने कुराको निर्धारण गर्छ । भिरोलो क्षेत्रमा धेरै हिउँ जम्मा हुँदा जुनसुकै बेला खस्न सक्ने सम्भावना रहने भएकाले सतर्कता अपनाउनुपर्ने उनले बताए ।


उनले कुन-कुन ठाउँमा हिमपहिरो जान्छ भन्ने आँकलन गर्न चाहिँ नसकिने बताए । यसका लागि हिउँ पर्ने स्थान र भिरोलो स्थललाई आधार मानेर हिमपहिरो जान सक्ने सम्भावित क्षेत्रहरुको अध्ययन गर्न सकिने बताए । उनले सरकारले अध्ययनका लागि पहल गर्नुपर्नेमा जोड दिए । पर्यटक र पर्वतारोहीलाई धेरै हिउँ जमेको क्षेत्र र त्यहाँ हुनसक्ने खतराको पूर्वजानकारी दिन सके हिमाली क्षेत्रमा पर्यटकहरु हिमपहिरो(एभालेन्च)मा पर्ने सम्भावना कम हुने उनले बताए ।


नेपालमा हिमपहिरोसम्बन्धि गहन अध्ययन निकै कम छन् । 'एभालान्च म्यापिङ' गरे हिमाली क्षेत्रमा पर्यटकहरु हिमपिहरोको जोखिम बारे जानकारी गराउन सकिने त्रिभुवन विश्वविद्याल केन्द्रीय वावतरण विभागका सहप्राध्यापक जलवायु परिवर्तन विज्ञ सुदीप ठकुरीले बताए । उनले हिमाल र पहाडको भिरोलो(स्लोप) हेरेर एभालेन्चको म्यापिङ गर्न सकिने तथा यसले क्षति न्यूनीकरण गर्न सक्ने बताए । उनका अनुसार ढुंगा,बरुप र हिउँ गरी तीन प्रकारका 'एभालान्च'हरु हुन्छन् ।


नेपालको मध्य र पूर्वी भाग बढी हिउँ जम्मा हुने क्षेत्र हुन्। सुदूरपश्चिम क्षेत्रमा पनि हिउँ पर्छ तर पूर्वी र मध्य क्षेत्रमा बढी पर्यटक आउने हुँदा जोखिम बढी छ ।


हिम पहिरो र हिमतालको के सम्बन्ध छ ?

उच्च हिमाली क्षेत्रको प्रसंग आउने बित्तिकै हिमताल विस्फोटन र हिमपहिरो (एभालेन्च)को प्रसंग आउँछ । नेपालमा रहेका हिमताल र फुट्न सक्ने हिमतालको विषयमा अध्ययन गरिएर त्यही अनुसारको पूर्वतयारी गर्न विज्ञहरुले सुझाव दिएका छन् । नेपाल सरकारले पनि विस्फोटको खतरामा रहेका हिमतालहरुको लगत उठाइसकेको छ।

अहिलेको नेपालको भूभागमा कुनै समय 'तेत्थिस' समुद्र थियो । जब इन्डियन र तिब्बतीयन टेक्टोनिक प्लेट एकआपसमा ठोक्किए, तब हिमालय पर्वत श्रृंखलाको निर्माण भयो । त्यही भएर हिमाली क्षेत्र खुकुलो ढुंगा र माटोले बनेको छ । समुद्रका ‘सेडिमेन्ट्स’ हरू हिमालयमा पाइन्छन् । हिमालका ग्लेसियरहरू पग्लेपछि हिमताल बन्छ । ग्लेसियर हिउँ र बरफको ठूलो थुप्रो हो । यो, बिस्तारै बग्छ र बग्नेक्रममा धेरै वस्तु आफूसँगै सोहोरेर लैजान्छ । ग्लेसीयर बग्नेक्रममा कुनै ठाउँहरू खाली हुन्छन् । त्यही खाली ठाउँमा हिउँहरू पग्लेर खाली ठाउँ भर्छन्। यी खाली ठाउँहरूमा नै हिमताल बन्छन् ।

जब हिमतालमा पानीको मात्रा बढ्दै जान्छ वा कुनै बाह्य वस्तु तालमा खस्दा भार थेग्न सक्दैन त्यसबेला बाँध फुट्छ । यसैलाई हिमताल विस्फोट भनिन्छ।

हिमताल विस्फोटनका घटनाहरू नेपालमा बढ्दै गएको विभिन्न घटनाक्रमहरूले देखाउँछन् । नेपालका २१ वटा हिमताल फुट्ने खतरामा रहेको इसिमोडको एक अध्ययनले देखाएको छ । जसमध्ये ६ वटा हिमताल जुनसुकै बेला फुट्नसक्ने चेतावनी दिइएको छ । च्छोरोल्पा, इम्जा, ठूलागी, चामलाङ, वरुण, लुम्दिङ हिमताल उच्च जोखिममा रहेका हिमताल हुन् ।


हिमतालहरू हिउँदको समयमा फुट्ने सम्भावना कम हुन्छ । त्यसबेला हिउँ जमेको हुन्छ । यस्तो बेलामा एभालेन्चको सम्भावना हुन सक्छ । तापक्रम बढ्दै जाँदा नेपालमा १५ प्रतिशतले ग्लेसीयरको क्षेत्रफल घटेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

प्रकाशित : माघ ४, २०७६ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?