१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

काठमाडौंमा भेटिए कोराेना भाइरस संक्रमित

काठमाडौँ — चीनको वुहानबाट फर्केका एक नेपाली* नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य मन्त्रालयलाई सतर्कता अपनाउन चेतावनी दिएको केही दिनपछि काठमाडौंमा कोरोना भाइरसको संक्रमित भेटिएका हुन् ।

काठमाडौंमा भेटिए कोराेना भाइरस संक्रमित

वुहानमा पीएचडी अध्ययन गर्दै आएका ३१ वर्षीय नेपाली विद्यार्थीमा काेरोना भाइरसको संक्रमण भेटिएकाे हाे । उनी जनवरी ५ मा नेपाल फर्किएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल गएका थिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेयले कोरोना भाइरसको संक्रमण भएको आशंकामा ती विद्यार्थीलाई अस्पतालमा निगरानीमा राखिएको जानकारी दिए ।

के हो कोरोना भाइरस ?

कोरोना भाइरसको समूहको एउटा हिस्सा हो, जसबाट सामान्य रुघाखोकीदेखि लिएर घातक रोगसम्म हुन सक्छ । कोरोना भाइरसको संक्रमण सामान्यतया पशु र मानिसमा हुन्छ र हाल यस्ता कतिपय भाइरस छन्, जो पशुमा भए पनि मानिस त्यसबाट संक्रमित भएका छैनन् । सन् २००३ मा चीनलगायत एसियामा यस्तै सार्स भाइरस (सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम) फैलिएको थियो । यसको विस्तार उत्तरी अमेरिका, दक्षिण अमेरिका र युरोपसम्म देखिएको थियो । त्यसयता यो संक्रमणबाट चीनमा ६ सय ४६ जनाको मृत्यु भएको थियो भने विश्वभरमा मर्नेको संख्या ८ सय १३ पुगेको थियो ।

चीनबाट आएका बिरामीबारे टेकु अस्पतालले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत निकायलाई समेत जानकारी दिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीका अनुसार चीनमा हालै देखिएको नोबेल कोरोना भाइरसको परीक्षण प्रविधि नेपालमा उपलब्ध छैन । विश्व स्वास्थ्य संगठनले चीनभन्दा बाहिर पहिलोपटक थाइल्यान्डमा नोबेल कोराेना भाइरसको केस देखिएको गत मंगलबार जनाएको थियो । थाइल्यान्डमा घुम्न गएकी अमेरिकाकी ६१ वर्षीया महिलालाई चिसो लाग्ने, घाँटीमा खसखस, टाउको दुखाइ र ज्वरोलगायत लक्षण देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । थाइल्यान्डको सुवर्णभूमि विमानस्थलमा थर्मल सर्भिलेन्सका माध्यमले त्यही दिन ज्वरोले पीडित ती महिलालाई पहिचान गरेर अस्पतालमा भर्ना गरिएको थियो ।

चिनियाँ अधिकारीहरूले विश्व स्वास्थ्य संगठनलाई गत शनिबार र आइतबार उपलब्ध गराएको जानकारीअनुसार त्यहाँको हुवई प्रान्तस्थित वुहानमा ४१ जना नोबेल कोरोना भाइरस संक्रमणले बिरामी भएको पहिचान गरिएको छ । तिनमा एक जनाको मृत्यु भएको छ भने ७ जनाको अवस्था गम्भीर छ ।

डब्लूएचओका अनुसार चिनियाँ अधिकारीहरूले नयाँ प्रकारको कोरोना भाइरसलाई गत पुस २२ गते मात्रै पहिचान गरेका हुन् । यो क्लस्टर (समूह) को सुरुवात ३१ डिसेम्बर सन् २०१९ मा भएको थियो, जतिखेर संगठनको चाइना कन्ट्री अफिसलाई सूचित गरिएको थियो ।

चीनले सबै सम्भावित केसको प्रयोगशाला परीक्षण गरेपछि इन्फ्लुएन्जा, एभियन इन्फ्लुएन्जा, एडेनो भाइरस, सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस (एसएआरएससीओभी) र मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस (एमईआरएससीओभी) जस्ता अन्य श्वासप्रश्वाससम्बन्धी रोग उत्पन्न गर्ने कारकको पहिचान गरेको थियो । यसअघि चिनियाँ सञ्चार माध्यममा जारी रिपोर्टअनुसार यो रोगका लागि कोरोना भाइरसलाई जिम्मेवार ठानिएको थियो ।

प्रारम्भिक महामारीसम्बन्धी खोजबिनअनुसार वुहानको समुद्री खाद्य बजारमा यो भाइरस देखिएको हो । हालसम्म जो बिरामी देखिएका छन्, तीमध्ये अधिकांश समुद्री खाद्य बजारमा काम गर्नेहरू हुन् । सरकारी अधिकारीहरूका अनुसार यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने स्पष्ट प्रमाण छैन । सतर्कताका लागि हाल अस्थायी रूपमा वुहान सीफुड होलसेल मार्केटअस्थायी रूपमा बन्द गरिएको छ । विश्व स्वास्थ्य संगठनले नोबेल कोराना भाइरसफैलिने स्रोत पत्ता लगाउनु चीनका लागि आवश्यक रहेको जनाएको छ ।

*यसअघिकाे समाचारमा काेराेना भाइरसबाट चिनियाँ नागरिक संक्रमित हुन गएकाेमा सच्याइएकाे छ ।- प्रधान सम्पादक

प्रकाशित : माघ ३, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?