यूएई बस दुर्घटना : १ को मृत्यु, घाइते १३ नेपाली महिला उपचाररत [अपडेट]- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यूएई बस दुर्घटना : १ को मृत्यु, घाइते १३ नेपाली महिला उपचाररत [अपडेट]

कान्तिपुर संवाददाता

काठमाडौँ — यूएईको आबुधाबीमा भएको मिनी बस दुर्घटनामा घाइते १३ नेपाली महिलाको पहिचान खुलेको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार शुक्रबार दिउँसोसम्म १ को मृत्यु र १३ घाइतेको नाम र ठेगाना थाह भएको छ । घाइतेमध्ये १६ मध्ये ३ जना क्याम्प फर्किएका छन् ।

नेपाली दूतावासका प्रवक्ता रीता धितालले मृत्यु भएको ६ मध्ये १ जना मात्रै नेपाली महिलाको सनाखत भएको बताइन् । उनले कान्तिपुरसँग भनिन्, 'हामी अहिले पनि अस्पतालमै छौं, दुर्घटनामा अन्य देशका नागरिकसमेत परेको छ । जसको कारणले कति नेपाली महिलाको मृत्यु भयो भन्ने खुलिसकेको छैन ।' घाइतेमध्ये तीन जना कोमामा छन् ।


दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारीको मृत्यु भएको हो ।

दूतावासका अनुसार घाइतेहरुमध्ये पालुङ मकवानपुरकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, खुदुनाबारी झापाकी मुना राना, दाङ घोराहीकी आशा घर्ती मगर र ठेगाना नखुलेको सुजला विश्वकर्माको माफ्राक अस्पतालमा उपचार भइरहेको छ ।


एनएमसी अस्पतालमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र ईलामकी सिता सुब्बाको उपचार भइरहेको छ । हेटौंडाकी मिना थिङ, नुवाकोटकी सरिता तामाङ, धरानकी वर्षा विश्वकर्माको भने अलरहा अस्पतालमा उपचार जारी छ ।



उनीहरु एमबीएम क्लिनिङ कम्पनीमा कार्यरत थिए ।


..................

यूएईको आबुधाबीमा भएको मिनी बस दुर्घटनामा एक जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीका अनुसार दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारीको मृत्यु भएको हो ।


दुर्घटनामा पाकिस्तानी चालक तथा एक श्रीलंकाली महिलाको मृत्यु भएको छ । मृतकमध्ये ३ जनाको सनाखत भएको छैन ।


बिहीबार बिहान अधिकांश नेपाली कामदार चढेको मिनिबस आबुधाबीको शेख जायद बिन सुल्तान सडकमा लरीसँग ठोक्किएको थियो । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जना नेपाली नागरिक रहेको दूतावासले जनाएकाे छ ।


घाइतेहरुको माफराक र अन्य अस्पतालहरुमा उपचार भइरहेको दूतावासले जनाएको छ । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले अस्पतालमा पुगेर घाइतेहरुलाई भेटेका छन्।


आबुधाबी प्रहरीका अनुसार एउटा कारको हेलचेक्र्याइँका बस दुर्घटनामा परेकाे हो । कामदार चढेको बसले गति कम गर्न नसक्दा अगाडि रहेको लरीसँग ठोक्किएको प्रहरीले सार्वजनिक गरेको भिडियोमा देखिन्छ । लरीले अगाडि गुडिरहेको कार एक्कासि रोकिएपछि गति कम गरेका थिए ।

प्रकाशित : माघ ३, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

जोगबनी ठप्प बनेपछि रि–रुटबाट कन्टेनर

कच्चा पदार्थ आयात नहुँदा सुनसरी मोरङ औद्योगिक क्षेत्रका प्राय: उद्योगले उत्पादन कटौती गरेका छन् 
विनोद भण्डारी

(विराटनगर) — भारतको अररिया जिल्ला प्रशासनले मिरगन्ज पुल मर्मत गर्ने भन्दै ढुवानीका साधन चल्न रोक लगाएपछि जोगबनी नाकाबाट सातादेखि आयात–निर्यात ठप्प छ । तेस्रो मुलुकबाट औद्योगिक कच्चा पदार्थ र तयारी वस्तु बोकेर आएका कन्टेनरलाई रि–रुट हुँदै भित्रिन अनुमति दिइएको छ ।

तर रि–रुटमार्फत भारततर्फको आयात–निर्यात खुला गरिएको छैन । आयात–निर्यात ठप्प हुँदा विराटनर भन्सारको राजस्व असुली पनि प्रभावित भएको छ ।

कच्चा पदार्थ आयात नहुँदा सुनसरी मोरङ औद्योगिक क्षेत्रका प्राय: उद्योगले उत्पादन कटौती गरेका छन् । त्यसैगरी यहाँका जुट उद्योगले पहिलो पटक रेलमार्गवाट तयारी वस्तु निकासी गरेका छन् । मिरगन्ज पुलबाट साना सवारी साधनबाहेक अन्य सवारी र ढुवानीका साधन चल्न पाएका छैनन् । भारतीय प्रशासनले तेस्रो मुलुकबाट सामान बोकेर नेपाल आएका कन्टेनरलाई भारतको भीमनगर हुँदै सुनसरीको भन्टाबारी नाकाबाट रि–रुट हुँदै विराटनगर भन्सार जान अनुमति दिएको छ । त्यसैअनुरूप भारतको भीमनगर हुँदै सुनसरीको भन्टाबारी नाकाबाट ४९ वटा कन्टेनर भित्रिएको विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले जानकारी दिए ।

उक्त नाकाबाट सामान भित्र्याउनेबारे नेपाल–भारतका भन्सार अधिकारीबीच सहमति भएपछि एस्कर्टिङ गरी कन्टेनर ल्याइएको हो । भन्टाबारी नाकाबाट निकासी र भारतबाट हुने पैठारीलाई अनुमति छैन । यहाँबाट सामान आयात–निर्यात गर्दा करिब सय किलोमिटरको अतिरिक्त ढुवानी खर्च बढ्ने र प्रक्रिया पनि झन्झटिलो हुने व्यवसायीको गुनासो छ । आयात–निर्यात नहुँदा सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगले उत्पादन गरेका अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरका निकासीजन्य तयारी वस्तु उद्योगका गोदाममै थन्किएका छन् । त्यसभन्दा पनि बढी मूल्यको कच्चा पदार्थ भारतीय सडकमै रोकिएकाले उद्योग सञ्चालनका लागि समस्या भएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले जानकारी दिए । औद्योगिक क्षेत्रमा सानाठूला गरी पाँच सयभन्दा बढी उद्योग छन् ।
जुट उद्योगले भने आफ्नो उत्पादन रेलमार्गबाट निकासी गरेको जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले बताए । रघुपति जुट मिल र अरिहन्त मल्टिफाइबरले एक सातामा ८ सय टन जुटका तयारी वस्तु रेलमार्ग हुँदै भारत निकासी गरेका छन् । जुट उद्योगले भारत र बंगलादेशबाट कच्चा जुट आयात गरेर उत्पादन गरेका तयारी वस्तुमध्ये ९५ प्रतिशत भारत निर्यात गर्दै आएका छन् ।

भारतको अररिया जिल्ला प्रशासनले पुस २४ देखि माघ ६ सम्म पुल मर्मत गर्ने सूचना सार्वजनिक गरेको थियो । यसअघि पुस ३ देखि ११ गते मर्मत गर्ने भन्दै ढुवानीका साधन गुड्न दिइएको थिएन । जोगबनी नाकाबाट दैनिक सरदर साढे दुई सय मालवाहक साधन भित्रिन्छन् । ०७४ साउन अन्तिम साताको बाढीले पुलको पूर्वतिरको पिलर धस्सिएको थियो । त्यस बेला साढे दुई महिना सवारी आवागमन ठप्प बनेको थियो । त्यति बेला पनि भारतको भीमनगर हुँदै सुनसरीको भन्टाबारी नाकाबाट मालसामान ल्याइएको थियो ।

प्रकाशित : माघ ३, २०७६ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×