कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पितृसत्ता राजसंस्थाभन्दा बलियो रहेछ : उपसभामुख तुम्बाहाङ्फे

'शासन र सत्तामा महिला सहभागिता गणतन्त्रमा पनि सुध्रिएन'

काठमाडौँ — उपसभामुख शिवमाया तुम्बाहाङ्फेले नेपाली राजनीतिमा रहेको पितृसत्ता राजतन्त्रभन्दा बलियो भएको र त्यसले महिलालाई जकडेर राख्नुका साथै पुरुषलाई पनि शिकार बनाएको बताएकी छन् ।

पितृसत्ता राजसंस्थाभन्दा बलियो रहेछ : उपसभामुख तुम्बाहाङ्फे

महिलाले मुक्ति पाउन नसक्नुको कारक पितृसत्ता भएको तुम्बाहाङ्फेको भनाइ थियो । आफैंले लेखेको 'नेपालमा महिला आन्दोलन' पुस्तकमाथिको परिचर्चा कार्यक्रममा शनिबार उनले भनिन्, 'पितृसत्ता यस्तो चिज रहेछ यो भन्ने शब्द होइन रहेछ । यो संस्था रहेछ । जुन संस्थाको कारणले गर्दाखेरि महिलाहरू त्यहाँबाट उन्मुक्ति पाउन पहिले पनि सकेनन् र अहिले पनि सकिरहेका छैनन् ।'

नेपाली जनताले पनि पितृसत्तालाई फाल्न नसकेको तुम्बाहाङ्फेको भनाइ थियो । नेपालमा २ सय ४० वर्ष शासन गरेको राजतन्त्रसँग पितृसत्ताको तुलना गर्दै उनले भनिन्, 'पितृसत्ता भन्ने जुन संस्था छ त्यो राजसंस्थाभन्दा बलियो रहेछ । राजसंस्थालाई त नेपाली जनताले आन्दोलनबाट फालिदियो । यो पितृसत्तालाई फाल्न सकिरहेका छैनन् ।' नेपाली महिलाको प्रगति हुन नसक्नुमा पितृ सत्ताको दोष रहेको उनको भनाइ थियो । यसले महिलालाई मात्र नभएर महिलाप्रति सकारात्मक भाव राख्ने पुरुषलाई पनि समस्यामा पारेको उनको विश्लेषण थियो । 'यो संस्थाले अहिले महिलालाई जकडेर राखेको छ । त्यसको शिकार पुरुष पनि बनेको छ,' उनको भनाइ थियो ।

महिलाका अधिकार स्थापना गर्नका लागि नेपालमा पटकपटक आन्दोलन भएका तर शासन र सत्तामा पुरुषकै बोलबाला रहेको तुम्बाहाङ्फेको भनाइ थियो । उनले अबको महिला आन्दोलन पहिलेको भन्दा फरक हुनुपर्ने बताइन् । 'पहिले महिलाहरू अधिकार स्थापित गर्नका लागि आन्दोलनमा थिए । त्यो भनेको निर्णय गर्ने ठाउँसम्म महिलालाई कसरी पुर्‍याउने भन्ने आन्दोलन थियो भने । अब अधिकार दिने ठाउँमा महिला सहभागिता वृद्धि गर्नुपर्छ भन्ने अबको महिला आन्दोलन हुनुपर्छ,' उनले भनिन् ।

'शासन र सत्तामा पुग्ने बेला महिलाहरूको सहभागिता न्यून र शून्य दुवै अवस्थामा छ,' विगतका शासन व्यवस्थामा जस्तै वर्तमान व्यवस्थामा पनि महिलाहरू पछाडि परेको गुनासो गर्दै तुम्बाहाङ्फेले भनिन्, 'गणतन्त्र आइसकेपछि केही सुधार हुन्छ कि भन्ने मैले आँकलन गरेको थिए तर त्यस्तो होइन रहेछ ।'

तुम्बाहाङ्फेले विद्यावारिधी गर्ने बेलाको शोधपत्रलाई पुस्तकका रूपमा प्रकाशित गरेकी थिइन् । उक्त पुस्तकको तेस्रो संस्करण सार्वजनिक भएपछि परिचर्चा कार्यक्रम आयोजना गरिएको हो ।

प्रकाशित : पुस २६, २०७६ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?