नेपाल ट्रस्ट भवन निर्माण यथास्थितिमा राख्न अन्तरिम आदेश- समाचार - कान्तिपुर समाचार

नेपाल ट्रस्ट भवन निर्माण यथास्थितिमा राख्न अन्तरिम आदेश

कृष्ण ज्ञवाली

काठमाडौँ — उच्च अदालत पाटनले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गामा भइरहेको भवन निर्माणको काम ‘यथास्थितिमा राख्न’ अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सम्झौताअनुसारको काम आगामी माघ १ गतेसम्म रोक्न आदेश दिएको हो ।

भवन निर्माण गरी ३० वर्षे अवधिमा ६ अर्ब ४५ करोड रुपैयाँ बुझाउने प्रस्ताव गरेको थामसेर्कु डेभलपर्ससँग एक अर्ब ५९ करोड रुपैयाँमा नेपाल ट्रस्टले ठेक्का सम्झौता गरेको भन्दै अधिवक्ता परिवर्तन राईले ठेक्का बदर गर्न माग गरी उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले सार्वजनिक महत्त्वको र कानुनी प्रश्न समावेश भएको मुद्दामा एमिकस क्युरी (अदालतका सहयोगी) झिकाउनसमेत आदेश दिएको छ ।


अघिल्लो मितिमा बढी रकममा सम्झौता गर्न बोलाएर पत्र पठाएको ट्रस्टले पछि कम रकममा सम्झौता गरेको भन्दै उच्च अदालतले प्रारम्भिक दृष्टिकोणमै त्यसलाई ‘कानुनको प्रतिकूल’ ठम्याएको हो । निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ६ निकाय र थामसेर्कु डेभलपर्सलाई विपक्षी बनाइएको थियो । ठेक्का पाउने कम्पनी थामसेर्कु डेभलपर्स भए पनि अदालतको आदेशमा ‘थामसेर्कु ट्रेकिङ’ उल्लेख छ ।


‘यसरी गरेको पत्राचार प्रथम दृष्टिमै सार्वजनिक खरिद ऐन र नियमावलीको व्यवस्थाको प्रतिकूल देखिएको छ,’ आदेशमा भनिएको छ, ‘सम्झौताबमोजिमको कार्य सुरु भइनसकेको भनी निवेदकका कानुन व्यवसायीले इजलासमा अवगत गराउनुभएकाले छलफलका लागि माघ १ गतेसम्म सम्झौता जे जुन अवस्थामा छ, यथास्थितिमा राख्नू, सम्झौताबमोजिमको कार्य अघि नबढाउनू ।’


ट्रस्टको कार्यालयले २०७३ फागुन १८ मा थामसेर्कु डेभलपर्स प्रालिलाई उसले पेस गरेको आर्थिक प्रस्तावअनुसारै ६ अर्ब ४५ करोड ३७ लाखमा सम्झौता गर्न आउनु भनी पत्र पठाएको थियो । त्यसमा अरू तीन वर्ष जोड्दा ट्रस्टले पाउनुपर्ने रकम ६ अर्ब ९७ करोड पुग्छ । तर त्यति रकम नतिर्ने मनस्थिति बनाएको थामसेर्कुले आफूले एक अर्ब ४० करोड रुपैयाँको प्रस्ताव गरेको र त्योभन्दा बढी तिर्न नसक्ने जवाफ लेख्यो । ट्रस्टको कार्यालयले २०७४ वैशाख ६ मा पत्र पठाई एक अर्ब ५९ करोड २० लाख रुपैयाँमा सम्झौता गर्न आउनु भनी बोलाएको थियो । अघिल्लोको तुलनामा बढेको १९ करोड रुपैयाँ भने भवन निर्माणको लागत हो ।


दरबारमार्गस्थित जग्गामा भवनको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ, ‘फिनिसिङ’ को काम बाँकी छ । उच्च अदालतको आदेशबमोजिम माघ १ सम्म ठेकेदारले काम रोक्नुपर्नेछ । ‘निवेदनमा उठाइएको सार्वजनिक महत्त्वको विषय र कानुनी प्रश्नलाई दृष्टिगत गरी सुनुवाइमा अदालतको सहयोगी (एमिकस क्युरी) का रूपमा दुई जना वरिष्ठ वा अधिवक्तालाई उपस्थित गराइदिनू भनी मिसिल संलग्न कागजातको प्रतिलिपि उच्च अदालत बार एसोसिएसनलाई दिनू ।’


अदालतका सहयोगीले न्याय निरूपणका क्रममा सघाउ हुने गरी इजलासलाई आफ्नो राय दिनेछन् । नेपाल ट्रस्टको सञ्चालक समिति बैठकले २०७१ साउन २८ मा दरबारमार्गको एक रोपनी १४ आना जग्गा लिजमा दिने कार्यक्रम स्वीकृत गरेको थियो । त्यहीअनुसार ६ कम्पनीले भाग लिएकोमा अवधि नाघेपछि थामसेर्कु डेपलपर्सले राखेको प्रस्ताव स्वीकृत गरिएको थियो ।


थमसेर्कुले नेपाल ट्रस्टको कार्यालयमा बुझाएको प्रस्तावको सारांशमा रकम भुक्तानी गर्ने अवधि, कुल वर्ष र त्यसको दर उल्लेख छ । उक्त तालिकामा रहेको दर र वर्ष हिसाब गर्दा तीनवर्षे निर्माण अवधिसमेत जोडेर ३० वर्षमा थामसेर्कुले ६ अर्ब २६ करोड ३१ लाख ३२ हजार ३ सय ७० रुपैयाँ नेपाल ट्रस्टलाई बुझाउने भनेको छ । अनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार त्यसमा १९ करोड २९ लाख ६५ हजार रुपैयाँ भवन निर्माण खर्चसमेत जोडेर ६ अर्ब ४५ करोड ६६ लाख रुपैयाँमा सम्झौता गर्न सचिवस्तरबाट स्वीकृति दिइएको थियो ।


ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्कीले ६ अर्ब ४५ करोड रुपैयाँमा सम्झौता हुनुपर्ने भनी निर्णय गरेर आफूमा भएको अधिकार सहसचिव लेखबहादुर कार्कीलाई प्रत्यायोजन गरिदिएका थिए । सहसचिव कार्कीले सचिवको सिफारिस होइन, थामसेर्कुले चतुर्‍याइँपूर्वक पेस गरेको दररेटकै योगफल तयार गरेर ठेक्का सम्झौता गरिदिए । उनको हिसाबअनुसार थामसेर्कुले पेस गरेको सबै दररेटको हिसाब जोड्दा ३० वर्षको अवधिमा उसले जम्मा १ अर्ब ४० करोड १० लाख रुपैयाँ ट्रस्टलाई बुझाए पुग्छ । त्यसमा भवन निर्माण गर्दा लागेको थामसेर्कुको १९ करोड २० लाख रुपैयाँ लागतसमेत जोडेर नेपाल ट्रस्टले एक अर्ब ५९ करोड ४० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यसरी आफ्नो काम गरिदिएका कार्कीलाई यति समूहका सञ्चालक आङछिरिङ शेर्पाले उनको इच्छाअनुसार भौतिक योजना तथा निर्माण मन्त्रालय पुर्‍याइदिन खोजेका थिए । त्यहाँ नभए पनि पुनर्निर्माण प्राधिकरणको सचिव बनाइदिए ।


महालेखाको कार्यालयले पनि ६ अर्ब ४५ करोड रुपैयाँमा सम्झौता हुनुपर्नेमा एक अर्ब ४० करोड रुपैयाँमा मात्रै भएको भन्दै अनियमितता औंल्याएको थियो । उनको भनाइमा ‘बोलपत्र कागजात परीक्षण गर्दा अंकगणितीय त्रुटि पाइएमा इकाई दरका आधारमा कुल रकम सच्याउनुपर्ने’ थियो । तर नेपाल ट्रस्टको कार्यालयले राज्यकोषमा वार्षिक साढे १८ करोड नोक्सानी हुने निर्णय गरिदियो । महालेखाले प्रतिवेदनमा भनेको छ, ‘यसमा छानबिन गरी यकिन गरिनुपर्छ ।’


दुई साताअघि पत्रकार सम्मेलन गर्दै ट्रस्टका सचिव गजेन्द्र ठाकुरले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन ‘झूटो’ भनी प्रतिक्रिया दिएका थिए । ‘उहाँहरूले लेखापरीक्षण गर्दा सबै कागजात हेर्नु भएन,’ ठाकुरले भनेका थिए, ‘संवैधानिक अंगले सबै कागजात हेरेन । मैले महालेखामा गएर भनेपछि सबै सम्परीक्षण हुन्छ ।’


प्रकाशित : पुस २५, २०७६ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्

त्रिशाला भन्छिन्- अब हेलमेट किन्छु !

पठाओ भन्छ- बीमा छैन
रीना मोक्तान

काठमाडौँ — नेपाल मेडिकल कलेजमा काम थालेको झण्डै डेढ महिना भएको थियो । भर्खरै डाक्टर बनेकी गायिका त्रिशाला गुरुङलाई  ९ बजे अस्पताल पुग्नुपर्छ । सँधैझैं ८: ४५ मा उनले राइड सेयरिङ एप पठाओ प्रयोग गरेर पठाओ बाइक डाकिन् ।

चाबहिलको घरमै उनलाई लिन एकैछिनमा पठाओ राइडर आइपुगे । बाइकमा उनी गन्तव्यतिर हुँइकिइन्।

सिमेसिमे पानीले बाटो चिप्लो थियो । सरस्वती नगरबाट आरुबारी जाने बाटोमा बाइकको अगाडि अचानक कुकुर आइपुग्यो । राइडरले दुवै ब्रेक बेस्सरी समातेपछि पछाडि बसेकी त्रिशाला बाइक अगाडि हुत्तिइन् । 'एकछिन दिमागै शून्य भयो,' उनले भनिन् । सबै सामान छरपष्ट भुइँमा । टिफिन बक्स, पर्स, स्टेथोस्कोप यत्रतत्र छरिए । त्रिशालाको मोबाइल भने हातबाट उछिट्टिएन । सहयोग गर्न आउनेहरुको आवाज उनको कानमा ठोक्कियो, 'ए आफैं नै डाक्टर रहेछ ।'

त्रिशालाले हत्त न पत्त ठोकिएको निधार छामिन् । भूईंमा ददारिएर औंलाहरु दुखिरहेका थिए । देब्रे आँखामाथिको भाग सुन्निएर ठूलो भएको थियो । उनी आत्तिइन्-कतै मासु पो निस्कियो कि ? त्यसपछि भक्कानिन थालिन् । 'निधार त सुनिएर ठूलो टुटुल्को भाको थियो । माथि अलिकति काटेको थियो । रगत पनि बग्न थाल्यो । त्यसपछि अस्पताल जान्छु भन्दै म रुन थालें,' उनी सम्झिन्छिन् । राइडर डराइसकेका थिए । त्रिशालाले आफ्नो दुर्घटनाबारे अस्पतालकै एक स्टाफलाई खबर गरिन् । उनकै निर्देशनमा राइडरले त्रिशालालाई अस्पताल कुदाए ।

इमरजेन्सीमा सबैले ढाडस दिएपछि बल्ल रुन छोडिन् । उनको मनमा निधारमा ठूलै चोट लाग्यो कि भन्ने डर थियो । साथीले निधारको फोटो खिचेर देखाएपछि भने उनले लामो सास फेरिन् । 'नयाँ भिडियो सुट गर्नु थियो । अनुहार बिग्रियो कि भनेर कत्ति डर लाग्यो । हातखुट्टा भाँचिए पनि हुन्थ्यो तर मुखै बिग्रियो, टाँका लगाउनु पर्‍यो भने भिडियो कसरी बनाउने भनेर चिन्तित थिएँ । त्यही भएर पनि रोइरहेको थिएँ के म,' मुसुक्क मुस्कुराउँदै सुनाइन् ।

अस्पताल पुगेपछि आफ्नो काम देखाउँदै राइडर फुत्किन खोजेका थिए । 'उहाँ ४५ वर्षको हुनुहुन्थ्यो सायद । राइडर त तर्सिरहनु भएको थियो नि दुर्घटनापछि । जान्छु भन्दै हुनुहुन्थ्यो । तपाईं अस्पताल जानु भएन भने मेरो उपचार हुँदैन । पुलिस रिपोर्टको लागि तपाईं हुनुपर्छ भनें उहाँलाई । बरु तपाईंलाई म केही पनि भन्दिनँ,' सोह्रखुट्टेमा रहेको स्टुडियोमा त्यो दिनको घटना सुनाउँदै छिन् त्रिशाला 'दाईको पनि त्यस्तो गल्तीचाहिँ थिएन । तर बिस्तारै ब्रेक लगाको भएचाहिँ हुने । अब दशा लागेको होला ।'

उपचार सकेपछि फेसबुकमा भएका फलोअरलाई हेलमेटको आवश्यकताबारे बोलेर स्टोरी पनि राखिन् । स्टोरी राख्न साथ पठाओबाट उनलाई फोन आयो । राइडरलाई मोबाइल होल्डर, हेलमेट दिए पनि लापरबाही गरेर त्यो नबोकेको उनीहरुले स्वीकारे । माफी पनि मागे । १ महिनाको लागि पठाओमा प्रोमो कोड(सहुलियत) दिने बताएका थिए । तर त्रिशालालाई त्यसले लोभ्याएन । उनीहरुले क्षतिपूर्तिको कुरा पनि गरेनन्, न त्रिशालाले नै ।
'बाइकमा हिँड्दा हेलमेट कति आवश्यक छ भन्ने मलाई थाहा भयो,' उनले दुर्घटनाले सिकाएको पाठ बताइन् । 'टाउको फुटेर म मर्न पनि सक्थें । मलाई हेलमेट अति आवश्यक लाग्यो । अब म हेलमेट किन्छु,' उनले भनिन् ।
पठाओको बीमा छैन

राइड सेयरिङ कम्पनी पठाओले अहिलेसम्म यात्रु सुरक्षाका लागि कुनै बीमा सुविधा राखेकै छैन। त्यसैले यात्रु दुर्घट्ना भइहाले, पठाओले कुनै खर्चको भार उठाउँदैन । अब भने यात्रु बीमाका लागि बीमा कम्पनीसँग कुरा भइरहेको पठाओमा मार्केटिङ हेरिरहेकी सुर्खिया हमाल बताउँछिन् । 'इन्सयुरेन्स कम्पनीसँग कुरा भइरहेको छ । यस्तोखालको पोलिसी छैन रहेछ कम्पनीसँग पनि,' उनले फोन सम्पर्कमा भनिन् । तर, चालकहरुलाई सुरक्षित यात्राको लागि भने राइडरलाई पहिल्यै ट्रेनिङ दिएको हुने उनले बताइन् ।

'दुर्घट्नामा पर्‍यो भने राइडर वा पठाओले त्यस्तो कुनै कुरा व्यहोर्दैन,' एक राइडरले भने । यसबारे पठाओको कस्टमर केयरमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित : पुस २५, २०७६ १७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×