कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भयानक डढेलोपछि अस्वस्थ्य अस्ट्रेलिया !

गोविन्द पोखरेल

काठमाडौँ — सेप्टेम्बरबाट सुरु भएको डढेलोको कारण अस्ट्रेलियाको जनजीवन प्रभावित भएको छ । हालसम्म दुई दर्जन मानिसहरुले ज्यान गुमाएका छन् भने करिब ५० करोड वन्यजन्तु तथा चराचुरुंगीहरु डढेलोमा परेर मारिएका छन् । अहिले अस्ट्रेलिया अस्वस्थ्य बनेको छ ।

भयानक डढेलोपछि अस्वस्थ्य अस्ट्रेलिया !

डढेलोको कारण जीवहरुको अस्तित्व नै संकटमा पर्न गएको इकोलोजिस्टहरुले बताएका छन् । बासस्थान नै विनाश भएपछि अस्तित्व संकटमा पर्ने देखिएको हो । पृथ्वीको सबैभन्दा फरक किसिमको भौगोलिक एवं जैविक विविधता भएको अस्ट्रेलियामा डढेलो लाग्नु सामान्य नै भएपनि यसपालिको डढेलोले धेरै लामोसमयसम्म हुँदा विनाश पनि धेरै गर्यो । स्तनधारी, सरिसृप र चराचुरुंगीहरु गरेर ५० करोड मरेको अनुमान गरिएपनि स–सना जीवहरु कति मरे भन्न सकिने अवस्था नै छैन ।


त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले डढेलो नियन्त्रणका लागि ३ हजार रिजर्भ फोर्स परिचालन गर्ने घोषणा गरेका छन् । अस्ट्रेलियाको इतिहासमा यो सबैभन्दा ठूलो डढेलो भएको त्यहाँका रक्षामन्त्रीले बताएका छन् । विकासित मुलुक भएरपनि होला यस्तो ठूलो विपत्तिमा ठूलो मानवीय क्षति भने भएको छैन ।


अस्ट्रेलियामा किन फैलिन्छ डढेलो ?

जंगलमा डढेलो लाग्छ । पालुवाका लागि फाइदाजनक पनि हुन्छ । झाडी सफा हुने भएकाले यसले अन्य प्रजातिको विकासमा सघाउ पुर्‍याउँछ । त्यहाँका केही प्रजातिका बिउ अंकुरणका लागि ताप ‘हिट’ आवश्यक पनि पर्छ । अस्ट्रेलियामा संसारकै सबैभन्दा फरक किसिमको भू–वनावट, हावापानी र जैविक विविधता पाइन्छ । तटीय क्षेत्र बाहेक अन्य क्षेत्रहरु प्रायः सुख्खा छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातवरण विभागका उप–प्राध्यापक डा. मनकुमार धमला भन्छन्, ‘अस्ट्रेलिया गर्मी हुने क्षेत्र हो । सुख्खा क्षेत्र धेरै हुँदा आगो चाँडै फैलने सम्भावना हुन्छ ।’


यसका अलवा ज्यादा हिट वेभ, जलवायुमा आएको परिवर्तन, जंगलमा भएको बायोमास, पुराना रुखहरुले पनि डढेलोको अर्को कारण हो । तीनदशकदेखि पर्यावरण र फरेस्ट्री सम्बन्धि अध्ययापन गर्दै आएका प्राध्यापक अमूल्य रत्न तुलाधारको बुझाईमा त्यहाँ डढेलो फैलनुको अर्को कारणमा त्यहाँ पाइने रुखहरुलाई पनि लिन्छन् ।


उनी भन्छन्,‘ यूकालिप्टस प्रजातिका रुखका कारण पनि आगो छिटो फैलिन्छ । नेपालमा यो प्रजातिको रुखलाई मसला भनेर चिनिन्छ । सुख्खा तथा कम पानी पर्ने क्षेत्रहरुमा यो प्रजाति भेटिन्छन् । यिनीहरुको पात र अन्य भागमा तेल जस्तो चिप्लो चोप हुन्छ । जसका कारण रुखबाट धेरै पानी निस्कन (ट्रान्सपिरेसन) पाउँदैन । उक्त चोपले छिटै आगो टिप्ने सक्ने क्षमता राख्छ । त्यही भएर पनि आगो चाँडै फैलन सक्छ ।’


अस्ट्रेलियामा बढ्दो सुख्खा र तापक्रम परिवर्तनले पनि डढेलोमा सघाउ पुर्‍याएको त्रिविका सह–प्राध्यापक एवं जलवायु विज्ञ डा. सुदीप ठकूरीको भनाइ छ । पुरानो र सुकेको रुख, सुख्खा जमिन, मानवीय अतिक्रमणले पनि डढेलो लागेको हुनसक्ने उनले बताए ।पुरानो जंगलमा रुखहरुबीच घर्षण हुँदा पनि आगलागी हुने गर्छ । जंगलमा हुने प्रज्जवलनशील पदार्थ र बायोमासले डढेलोमा पनि प्रभाव पार्छ । हावाको बहाव र वातवरणीय अवस्थाले पनि अगालागीको अवस्था निम्त्याउने गरेको छ ।


यसले अस्ट्रेलियालाई मात्रै असर गर्छ कि सिंगो विश्वलाई ?

अस्ट्रेलिया एक टापु मात्रै नभएर महाद्विप पनि हो । न्यू साउथ वेल्सस्थित मक्योरी विश्वविद्यालयमा कन्जर्भेसन बायोलोजीमा स्नातकोत्तर गरिरहेकी निशा तामाङ अस्ट्रेलियाको डढेलोले सिंगो वायुमण्डलाई नै असर पुगेको बताइन् । उनले भनिन्, ‘यसले यहाँको वायुमण्डलाई मात्रै नभएर स्थानीय मौसम प्रणालीलाई पनि असर गर्छ । प्रदुषण बढाएको छ । पुरानै अवस्थामा यहाँको वातवरणलाई फर्काउन निकै नै समय लाग्छ ।’


अस्ट्रेलियाको घटना मानवीय अतिक्रमण, जलवायु परिवर्तन, अत्याधिक सुख्खा, खडेरीका कारण भएको क्षतिको एउटा उदाहरणको रुपमा पनि लिइन्छ । त्यहाँका बढ्दो कोइला तथा अन्य खनिज पदार्थको उत्खनन्ले पनि वातवरणीय विनाश हुने गरेको छ । जैविक विविधतामा भएको क्षति पैसामा तुलना गर्न निकै कठिनाई हुन्छ । यो घटनाले पारिस्थितकीय प्रणालीमा असर गरेको छ । यसका अलवा जीवजन्तु तथा चराचुरुंगीको अस्तित्व खतरामा पर्छ ।

यो घटनाबाट पुरानै अवस्थामा फर्काउन (रिस्टोरेसन)का लागि सयौं वर्ष लाग्न सक्ने अनुमान वैज्ञानिकहरुले गरेका छन् ।


कस्तो छ अस्ट्रेलियाको भूगोल ?

पृथ्वीको दक्षिणी गोलार्धमा अवस्थित अस्ट्रेलियाको बीच भएर मकर रेखा जान्छ । चारैतिर महासगरले घेरिएको अस्ट्रेलिया महाद्विपको तटीय क्षेत्रहरुमा बसोबास ज्यादा छ । यसमा अझ पूर्वी र दक्षिणी तटीय क्षेत्रमा बाक्लो बसोबास छ । यिनै क्षेत्रमा राजधानी केनबेरा, सिड्नी, मेलबर्न, एड्लिलेड, ब्रिसबेन जस्ता सहरहरु छन् । पश्चिम दक्षिणी क्षेत्रमा पर्थ छ ।


अस्ट्रेलियाको पूर्वी क्षेत्रमा एउटा लामो पर्वत श्रंखला छ । उत्तरदेखि तल दक्षिण क्षेत्रसम्म फैलिएकोको यो पहाडलाई ‘ग्रेट डिभाइडिङ रेन्ज’ भनेर चिनिन्छ । पूर्वबाट बहने हावा यसले रोकिदिन्छ, जसका कारण पूर्वी क्षेत्र धेरै ओसिलो छ र पानी पर्छ । पश्चिमी क्षेत्रमा कम .पानी पर्ने र ज्यादा सुख्खा हुने गरेको छ । कम पानी पर्ने भएकाले पश्चिमी क्षेत्रमा मरुभूमि छन् ।


पश्चिमी क्षेत्रमा भिक्टोरिया मरुभूमि छ । डिभाइडिङ रेन्जको पश्चिमी क्षेत्रमा खेती हुने क्षेत्र छ जसलाई ‘डाउन्स’ भनिन्छ । यो गहिरो क्षेत्र हो । यी क्षेत्रहरु जैविक विविधतामा धनी रहेको अमूल्यरत्न प्राध्यापक तुलाधारले बताए ।

अस्ट्रेलियामा पृथ्वीमा पाइने तीनै प्रकारका स्तनधारी जीवहरु पाइन्छन् । काख ‘पोच’मा राखेर बच्चा हुर्काउने कंगारु जस्ता ‘मार्सुपियल’, अन्डा पारेर दूध चुसाउने प्लेटिप्स जस्ता ‘मोनोट्रिम्स’ र गर्भमा हुर्कने मानव जाति जस्ता ‘प्लासेन्टियल’ जीवहरु पाइन्छन् ।


यसरी बन्यो अस्ट्रेलिया, यसकारण जैविक विविधतामा धनी

पृथ्वीका ‘टेक्टोनिक प्लेट’हरु सर्ने किसिमका छन् । यो प्रवृत्तिलाई अल्फ्रेड वेंग्नरले ‘कन्टिनेन्टल ड्रिफ्ट’ भनेर पत्ता लगाए । कुनै समय पृथ्वीको सबै जमिनहरुसँगै थिए । उक्त भू–भागलाई पेन्जिया अर्थात् ‘सुपर कन्टिनेन्ट’भनिन्थ्यो । प्लेट टेक्टोनिक्सका कारण भू–भाग सर्दै गएपछि लारेन्सिया र गोन्डवानामा टुक्रिएको थियो ।


दक्षिणी क्षेत्रमा बनेको गोन्डवाना टुक्रिएर अस्ट्रेलिया, अफ्रिका र दक्षिण अमेरिकाको भू–भाग बनेको थियो । यी मध्ये अस्ट्रेलिया टाढा थियो । जसका कारण प्रजातिहरुको बसाईसराई कम भयो । उनीहरु त्यहीको वातवरणमा अनुकुल हुँदै समयसँगै परिवर्तन हुँदै गए । जसका कारण जैविक विविधता पनि बढ्दै गयो । यसलाई विल्सन र म्याक अर्थरले इकोलोजीमा ‘आइलेन्ड बायोजिओग्राफी थेउरी’को रुपमा व्याख्या गरेका छन् ।


‘ठूलो टापुमा जैविक विविधता पनि धेरै हुन्छ । प्रजाति लोप हुने दर पनि कम हुन्छ । यस्तै, जब कुनै दुईवटा टापुबीचको दूरी टाढा हुन्छ, प्रजातिहरुको बसाइसराई पनि कम हुँदै जान्छ । जसका कारण जैविक विविधता बढ्छ,’ उपप्राध्यापक डा. मनकुमार धमला भने, ‘भिन्नै किसिमको पर्यावरणीय अवस्था अनि तापक्रम, भूगोलमा प्रजातिहरु त्यही अनूकलता अनुसार आफूलाई परिवर्तन गर्छन् । यसका कारण फरक किसिमको अनूकलनता विकास हुन्छ र नयाँ जीवहरुको उत्पति हुन्छ । फरक जलवायू, भू–बनावटका, भूगोलका कारणले अस्ट्रेलियामा पाइने प्रजातिहरुमा परिवर्तन आएको हो ।’


फरक किसिमको भौगोलिक अवस्थामा त्यही अनुसार आफूलाई परिवर्तन गर्दै लैजाँदा जीवहरुको क्रमिक विकासका क्रममा नयाँ प्रजातिहरुको विकास हुन्छ । धमलाले उदाहरण दिँदै भने, ‘अस्ट्रेलियामा कोअलाको संख्या धेरै हुनुमा यसले खाने यूक्यालेप्टस अन्य जीवहरुले नखाने भएको कारणले गर्दा हो । खानाको पर्याप्तता, ठूलो बासस्थान हुँदा विविधता त बढ्ने नै भयो । नयाँ नयाँ प्रजातिहरुको इभोलुसन भयो ।’

त्यहाँको वातवरण तथा ऊर्जा विभागका अनुसार त्यहाँ १० लाख प्रजाति पाइन्छन् । अधिकांश त्यहाँका रैथाने छन् । दुई सय वर्षयता त्यहाँ भइरहेको बसाइसराई, जंगल फडानी, मानवीय अतिक्रमण, डढेलो, सुख्खा, खडेरी, बाढीले त्यहाँको पर्यावरणलाई असर गरेको विभागले जारी गरेको सूचनाहरुमा उल्लेख छ ।


मानवीय अतिक्रमणका कारण ५० प्रजातिका स्तनधारी र चराचुरुंगी,४ प्रजातिका भ्यागुता र ६० भन्दा बढी प्रजातिका वनस्पतीहरू लोप भएको विभागले उल्लेख गरेको छ । हाल ३१० प्रजातिका रैथाने जीव र १ हजार १ सय ८० प्रजातिका वनस्पति लोप हुने संघारमा छन् ।

प्रकाशित : पुस २१, २०७६ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?