कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानले २३ सय कामदार लैजान परीक्षा लिँदै

काठमाडौँ — जापानले दुई हजारभन्दा बढी नेपाली कामदार लैजान यही सातादेखि छनोट प्रक्रिया सुरु गर्ने भएको छ । जापानी सरकारका तर्फबाट जापान फाउन्डेसनले जनवरीमा १ हजार र आगामी मार्चमा १ हजार ३ सय नेपाली कामदार लैजान छनोट प्रक्रिया सुरु गर्न लागेको हो ।

जापानले २३ सय कामदार लैजान परीक्षा लिँदै

फाउन्डेसनले सूचना जारी गरी कामदार छनोटका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार फाउन्डेसनले पहिलो चरणमा एक हजार कामदार छनोट गर्न जनवरी ७–८, १४–१६, २१–२३, २८–२९ तारिखमा भाषा परीक्षा लिनेछ ।


दोस्रो चरणमा १ हजार ३ सय कादार छनाेट गर्न आगामी मार्च ३–५, ९–१२ र १५–१९ तारिखमा भाषा परीक्षा लिइने सूचनामा उल्लेख छ । फाउन्डेसनले परीक्षा शुल्क २५ सय रुपैयाँ तोकेको छ । फाउन्डेसनले कम्प्युटरमा आधारित प्रणालीबाट लिखित, सीप परीक्षणलगायत परीक्षा लिनेछ । परीक्षार्थीले साधारण बोलीचाली तथा प्रस्तुति, जापानी भाषा सुनाइ र पढाइमा उत्तीर्ण हुनुपर्नेछ । दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र वरिपरिको परिस्थितिबारे जापानी भाषामा अभिव्यक्त गर्न सक्ने हुनुपर्ने सूचनामा उल्लेख छ । २ सय ५० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन न्यूनतम २ सय अंक ल्याउनुपर्छ ।

नेपाली नागरिकता, राहदानी वा सवारी चालक परिचयपत्र पेस गरेर भाषा परीक्षामा सहभागी हुन सकिने सूचनामा उल्लेख छ । फाउन्डेसनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गरिने जनाएको छ । गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो । जापानले अघिल्लो वर्षदेखि विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने नीति लागू गरेको छ ।

प्रकाशित : पुस १९, २०७६ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?