२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

अहिंसाको सन्देशका लागि महोत्सव

काठमाडौँ — गोरखाको मनास्लु क्षेत्रको चुम उपत्यकामा आगामी वैशाखमा चुम श्याग्या शताब्दी महोत्सव हुने भएको छ । 

अहिंसाको सन्देशका लागि महोत्सव

अहिंसा क्षेत्र घोषणा भएको ९९ वर्ष पूरा भएर १ सय वर्ष सुरु भएको अवसरमा चुम नुब्री गाउँपालिकाको छेकम्पारस्थित गुम्बा परिसरमा महोत्सव गर्न लागिएको हो । चुम उपत्यका चुम नुब्री गाउँपालिकाको ६ र ७ मा फैलिएको छ ।


१९७७ सालमा उक्त क्षेत्रलाई अहिंसा क्षेत्र घोषणा गरिएको थियो । काटमार नहुने क्षेत्र भएकाले यस क्षेत्रलाई सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा परिचित गराउनु महोत्सवको उद्देश्य रहेको मुल समारोह समितिका महासचिव सोनाम चुम्बा लामाले बताए ।

२०६५ सालमा तत्कालीन छेकम्पार गाविसको गाउँ परिषद्ले अहिंसा क्षेत्रको चार किल्ला घोषणा गरेको थियो ।


मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) भित्र पर्ने चुमक्षेत्रमा कहिल्यै पनि काटमार हुँदैन । जसका कारण वर्षौदेखि जैविक विविधाको संरक्षणसमेत भएको छ । कुनै पनि पशु वा वन्यजन्तुको काटमार नहुने भएकाले उक्त क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई यस्तो कुरा नयाँ लाग्ने गरेको छ ।


सिकार खेल्न, भीर मौरी काट्न, डढेलो लगाउन, मासुजन्य प्रयोजनको व्यापारका लागि उक्त क्षेत्रमा प्रतिबन्ध लगाइएको छ । चुम उपत्यकामा बौद्ध गुरु मिलारेपाले समेत ध्यान गरेकाले अहिलेसम्म उक्त क्षेत्रमा बौद्ध धर्मकोका अनुयायीको चासो रहेको छ ।

करिब ३ हजार ७ सय जनसंख्या र ५ सय ६० घरधुरी रहेको चुम उपत्यकामा पुराना गुम्बा, आँखैअघि देखिने हिमश्रृंखला, परम्परागत संस्कृती मुख्य आकर्षण हुन् ।

प्रकाशित : पुस १८, २०७६ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?