२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

किन मरे राराका असला ?

कारण खोज्न ललितपुरस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षण हुँदै

(मुगु), काठमाडौं — मंसिरदेखि फागुनसम्म रारा तालमा माछा देखिँदैन । यो समय तालको करिब ५० मिटर गहिराइमा तैरिने भएकाले माछा हेर्न चैत नै कुर्नुपर्छ ।

किन मरे राराका असला ?

साताअघि एक्कासि तालको किनारमै माछा देखिएपछि भने रारा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीको मनमा चिसो पस्यो । हेर्दाहेर्दै ठूलै संख्यामा मरेका माछा तालको किनारमा तैरिन थाले ।


रारा तालमा कालो रारा असला, नेपाली असला, तिल्के असला, करंगे, धामी, गिँडुला र बुदुना गरी सात प्रजातिका माछा पाइन्छन् । नेपाली असला विश्वमै रारामा मात्र पाइने प्रजाति हो । अहिले मरेका माछा पनि यही प्रजातिका हुन् । भण्डारीका अनुसार सेतो र कालो–खैरो माछा बढी मरेका छन् । एक्कासि माछा मर्नुको कारण अझै खुलेको छैन । यसबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययन थालेको छ ।


‘मरेका माछाको नमुना काठमाडौं पठाएका छौं, रिपोर्ट आएपछि मात्र कारण थाहा होला,’ संरक्षण अधिकृत भण्डारीले भने, ‘नमुना परीक्षणपछि मात्र कारण के हो भन्ने थाहा होला, त्यसपछि रोकथामको लागि विज्ञ पनि आउलान् ।’ रिपोर्ट नआउँदासम्म मरेका माछा हेर्नुबाहेक तत्काल केही गर्न सक्ने अवस्था नरहेको उनले बताए ।


यति धेरै माछा एकैचोटि मरेपछि निकुञ्जले कारण पत्ता लगाउन यसै साता विभागमा नमुना पठाएको छ । विभागका इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार थप अध्ययनका लागि मरेका माछाको नमुना मंगलबार ललितपुरस्थित विधि विज्ञान प्रयोगशाला पठाइएको छ । यसअघि पशुपन्छी तथा कृषि मन्त्रालयमातहतको मत्स्य विकास महाशाखामा समेत जाँच गरिएको थियो । ‘नमुना परीक्षणका लागि मरेका तीनवटा माछा पठाएका थियौं,’ भण्डारीले कान्तिपुरसँग भने, ‘रोग वा विषादीका कारण होइन भन्ने जानकारी दिइएको छ ।’


यो वर्ष विगतमा भन्दा छिटो हिमपात भएको र तापक्रमसमेत निकै घटेकाले चिसो खप्न नसकेर माछा मरेको हुनसक्ने अनुमान भण्डारीको छ । गत साता राराको तापक्रम माइनस ६ देखि माइनस १६ डिग्री सेल्सियससम्म झरेको थियो । ‘तल्लो सतह तातो हुन्छ, त्यसैले चिसोको समयमा माछा गहिरोमा बसेका हुन्छन्,’ उनले भने, ‘केही माछा बाहिर निस्किएका बेला अत्यधिक चिसोले मरेको हाम्रो अनुमान छ ।’ ताल ठूलो भएकाले बाहिरबाट विषाक्त मिसिएकै कारण माछा मर्न नसक्ने उनले बताए । ‘कुनै रोग लागेर मरेका पनि हुन सक्छन् तर यसको कारण ल्याब परीक्षणपछि मात्र थाहा हुन्छ,’ उनले भने ।


रारामा माछा मर्न थालेपछि बुधबार मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे र छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाही रारा पुगेर जानकारी लिएका छन् । नगर प्रमुख शाहीले कारण पत्ता लगाउन ढिला भइसकेको बताए । ‘सम्बन्धित निकायले अहिले मात्र होइन, बेलाबेला माछाको परीक्षण गरिरहनुपर्छ,’ उनले भने, ‘समयमै कारण पत्ता लगाएर उपचार थालिएन भने माछामाथि ठूलो संकट नआउला भन्न सकिन्न ।’


रारा ताल ०३२ सालमा स्थापित निकुञ्जको मुख्य आकर्षण हो । दुई हजार नौ सय मिटर उचाइमा रहेको यो ताल पाँच किलोमिटर लामो, तीन किलोमिटर चौडा र १६७ मिटर गहिरो छ ।


उच्च हिमाली क्षेत्रको सिमसार र इकोसिस्टमका जानाकार दीपनारायण साहले रारामा मात्र पाइने असला माछा मर्नु गम्भीर विषय भएकाले तत्काल अध्ययन गरेर समस्या निराकरण गर्न ध्यान दिनुपर्ने सुझाए । उनका अनुसार तापक्रममा उच्च गिरावट हुँदा अक्सिजनको कमीका कारण माछा मरेका हुन सक्छन् । ‘एक्कासि तापक्रम माइनसमा झर्दा पानीमा बदलाब र अक्सिजनको कमी हुन सक्छ, त्यसैले माछा मरेका हुन सक्छन्,’ उनले भने ।


‘तालमा आहारा छैन’

छायाँनाथरारा नगरपालिका–९ का बिर्खबहादुर रोकायाले पहिले तालको किनारसम्म लस्करका लस्कर देखिने माछाको संख्या अहिले निकै कम भएको बताए । ‘अहिले माछा किन मरिरहेका छन् र माछाको संख्या पनि किन घटिरहेको छ भन्नेबारे बेलैमा अध्ययन हुनु जरुरी छ,’ उनले भने, ‘माछामाथिको संकटबारे हामीले बारम्बार आवाज उठाए पनि सुनुवाइ भएको छैन ।’


पर्यावरणीय प्रभावले माछाको जीवनचक्र नै संकटमा परेको स्थानीयको भनाइ छ । ०३५ सालसम्म छाप्रुमहादेव भन्ने स्थानमा बाक्लो बस्ती थियो । त्यहाँ गहुँ, जौ, चिनो, कागुनो, फलफूल प्रशस्त मात्रामा उत्पादन हुन्थ्यो । बर्खाको बेला खेतबारीबाट बगाएर तालमा जान्थ्यो । यसरी बगेर तालमा मिसिने अनाज माछाको आहारा हुन्थ्यो । ‘निकुञ्ज बनेपछि बस्ती सर्‍यो, माछा मार्ने क्रम पनि रोकियो,’ रोकाया भन्छन्, ‘सँगसँगै आहारको महत्त्वपूर्ण स्रोत पनि घट्यो ।’


पहिले चारैतिरबाट करिब ३ सय खोलानाला रारा तालमा मिसिन्थे । आजकल अधिकांश खोलानाला सुकेका छन् । बर्खाको बेला मात्र होइन, अरू समयमा पनि ती खोलानालाबाट किरा–फट्याङ्ग्रा, गड्यौला बगेर आउँथे ।


मांसाहारी जातका असला माछाको लागि त्यसरी बगेर तालमा मिसिने चिज राम्रो आहारा हुन्थे । ‘आहाराको कमीले माछाको जीवनमा मात्र होइन, प्रजनन्मा समेत प्रभाव पारेको हुनसक्छ,’ स्थानीय लेकविक्रम शाह भन्छन्, ‘त्यसैले पो हो कि माछा देखिनै छाडेका ?’ जलवायु परिवर्तनको कारण किरा–फट्याङ्ग्रा र गड्यौलासमेत लोप भएकाले थप समस्या देखिएको उनले बताए ।


त्यतिमात्र होइन, पहिले रारा क्षेत्रमा वन्यजन्तु पनि प्रशस्त थिए । कालगतिले वा प्राकृतिक प्रकोपले ताल किनारमा गएर मरेका त्यस्ता वन्जयजन्तु माछाको आहारा बन्थे । मांसाहारी असला जातका माछाका लागि अहिले त्यस्तो उपलब्धतासमेत छैन ।

‘तालभित्र भएको आहारा सकियो, बाहिरबाट जाँदैन,’ शाह भन्छन्, ‘यस्तो अवस्थामा माछाको संख्या बढ्ने कुरै भएन ।’ रारामा रहेका असला माछाको प्रजनन् प्रक्रिया चैत–वैशाख र भदौ–असोजमा हुने गर्छ । चिसोको समय (मंसिरदेखि फागुन) मा गहिराइमा बस्ने माछा गर्मी बढेसँगै बिस्तारै माथिल्लो सतहमा देखिन्छन् । असार–साउनमा त किनारमै आइपुग्छन् ।


स्थानीयका अनुसार ०४० सालमा जापानको एक विश्वविद्यालयबाट आएको अनुसन्धान टोलीले रारातालको माछाबारे अनुसन्धान गरेको थियो । टोलीले यहाँको पानीसहित माछा जापान लगेर उत्पादन गर्न खोजेको थियो । ‘तर त्यो माछाको प्रजनन् प्रक्रिया सफल हुन सकेन,’ मुर्मागाउँका स्थानीय बिर्खबहादुर रोकायाले भने, ‘राराको माछा जापानमा कसरी बाँचोस् ?’ अध्ययनका क्रममा उक्त टोलीले ११ केजीसम्मको माछा भेटाएको उनले बताए ।


प्रकाशित : पुस १७, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?