काठमाडौँ — मलेसियामा कार्यरत नेपालीसहित विदेशी कामदारले जनवरीदेखि न्यूनतम १२ सय रिंगेट (झन्डै नेपाली ३३ हजार रुपैयाँ ) पाउने भएका छन् । मलेसिया सरकारले जनवरी १ देखि लागू हुने गरी न्यूनतम तलब बढाउने घोषणा गरेको थियो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार मलेसियाले विदेशी र स्वदेशी नागरीकबीच विभेद गरिएको छैन । ‘मलेसियाले न्यूनतम तलबमा एक सय ५० बढाएर १२ सय रिंगेट पुर्याएको छ’, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले कान्तिपुरलाई भने, ‘यसले नेपालीलाई ठूलो आर्थिक फाइदा पुगेको छ ।’
मलेसियामा हाल झन्डै चार लाख नेपाली कार्यरत छन् । पाण्डेका अनुसार बढाइएको तलब पुराना कामदारको हकमा समेत लागु हुनेछ । ‘हामीले जनवरी २ देखि नै करारपत्रमा १२ सय रिंगेट उल्लेख भएमा मात्रै मागपत्र प्रमाणीकरण गर्नेछौं’, उनले भने,‘नयाँ र पुराना दुवै कामदारले नयाँ तलबमान पाउने हो ।’
कम्पनीले नयाँ तलबमान नदिएमा जानकारी दिन पनि दूतावासले अनुरोध गरेको छ । राजदूत पाण्डेले नेपाली सुरक्षा गार्डले कम्तीमा २१ सय रिंगेट पाउने बताए । ‘अहिले सामान्य कामदार र सुरक्षा गार्डको तलबमान समान तोकिएको छ । तर, सुरक्षागार्डले हरेक दिन दैनिक चार घण्टा ओभरटाइम गर्ने हुदाँ मासिक रुपमा ओभरटाइमबापत ९ सय रिंगेट छुट्टै पाइन्छ’, उनले भने ।
मलेसिया खुलेपछि मात्रै झन्डै चालीस हजार कामदार ल्याउनका लागि अनुमति दिइसकेको छ ।
‘यही अवस्थामा अगाडि बढेमा यो वर्ष मात्रै झन्डै डेढ लाख कामदार मलेसिया आउने सम्भावना छ’, उनले भने, ‘जुन २०१५ यताको सबैभन्दा धेरै हुनेछ ।’
