सूचना प्रविधि विधेयक बहुमतले पारित, सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने

कांग्रेसको विपक्षमा मत 

पुस १३, २०७६

जयसिंह महरा

काठमाडौँ — प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । समितिकाे आइतबार बसेको बैठकले कांग्रेसकाे फरक मतका बाबजुत विधेयक बहुमतले पारित गरेको हो । 

समिति सभापति कल्याणीकुमारी खड्काले विधेयक बहुमतले पारित भएको र कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकार गरेको घोषणा बैठकमा गरिन् ।

कांग्रेस सांसद बहादुरसिंह लामाले उक्त विधेयक जस्ताको तस्तै पारित भएमा जनताको अभिव्यक्ति स्वतन्त्रता हनन हुने, संविधानले ग्यारेन्टी गरेका मौलिक हकअधिकार कुण्ठित हुने र स्वतन्त्र पत्रकारितामाथि अंकुश लाग्ने भएकोले आफ्नो पार्टीले विरोध गरेको बताए । 


सामाजिक सञ्जाल फेसबुक, गुगल लगायत कार्यालय नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ । नेपालमा प्रयोगकर्ता बढेकाले र ती सञ्जालमार्फत व्यवसायिक कारोबार बढ्दै गएकाले करको दायरामा ल्याउन दर्ता गर्नुपर्ने व्यवस्था राखिएको सञ्चार ताथ सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए । त्याे प्रावधानकाे काग्रेसले विरोध गर्दै आएको थियो ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully