कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई ‘रातो झण्डा’  

पुस ८, २०७६
अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई ‘रातो झण्डा’  

अस्ट्रेलिया — अस्ट्रेलियाका दुई विज्ञले नेपाली विद्यार्थीहरुको बढ्दो संख्यालाई राेक्न अध्यागमन विभागले ‘रातो झण्डा’ देखाउनुपर्ने बताएका छन् ।

उनीहरुकाे भनाइ उद्धृत गर्दै स्थानीय एक पत्रिकामा नेपाली विद्यार्थीहरु गरिब भएको, करिब ३ करोड जनसंख्या भएको देशबाट ५० हजार बढी विद्यार्थी अध्ययनका लागि आउनु असहज भएकाे समाचार प्रकाशित भएको छ ।

उनीहरुको भनाइसहित आएको समाचारप्रति अस्ट्रेलियास्थित नेपाली दूतावासले शिक्षा मन्त्रालयसमक्ष चासो व्यक्त गर्दै ध्यानाकर्षण गराएको छ ।

अस्ट्रेलियाको एक दैनिक पत्रिकाले नेपाली विद्यार्थी, उनीहरुको अध्ययन, संख्या, आर्थिक हैसियतलगायतलाई लिएर सिड्नी युनिभर्सिर्टीका एसोसिएट प्रोफेसर सालभाटोरे बारबोन्स र अस्ट्रेलियन नेसनल युनिभर्सिटीका प्रोफेसर एन्ड्रयु नर्टनको धारणासहित समाचार प्रकाशित गरेको छ ।

प्राध्यापक साल्भाटाेरे बारबाेन्स तस्बिर - द सिड्नी माेर्निङ हेराल्ड

समाचारमा उनीहरुले नेपाल धेरै जनसंख्या नभएको र अत्यन्तै गरिब देश भएकाले उनीहरु कसरी अस्ट्रेलियाको अध्ययनलाई धान्न सक्छन् भन्ने प्रश्न सिर्जना गरेको बताएका छन् । यसैगरी अस्ट्रेलिया आउने नेपाली विद्यार्थीहरु अधिकांश व्यावसायिक शिक्षा अध्ययनका लागि आउने र थोरै तलबमा धेरै काम गर्न बाध्य हुने जनाइएको छ । नेपाली विद्यार्थीहरुको बढ्दो संख्या रोक्नका लागि अध्यागमन विभागले ‘रातो झण्डा’ देखाउनुपर्नेसमेत उनीहरुले सुझाव दिएका छन् ।

आइतबार प्रकाशित समाचारपछि क्यानबेरास्थित नेपाली दूतावासले अस्ट्रेलियाको शिक्षा मन्त्रालयमा औपचारिक पत्र लेखेर यसबारेमा ध्यानाकर्षण गराएको छ । दूतावासले प्रकाशित समाचारमा आएको धारणाप्रति चासो व्यक्त गर्दै यसबारेमा शिक्षा मन्त्रालयसँग विस्तृत जानकारी मागेको छ ।

प्राध्यापक एन्ड्रयु नर्टन तस्बिर - द सिड्नी माेर्निङ हेराल्ड

‘हामीले समाचार प्रकाशित भएपछि नै यहाँको शिक्षा मन्त्रालयसमक्ष आधिकारिक रुपमा ध्यानाकर्षण गराएका छौं’, राजदूत महेशराज दाहालले भने, ‘शिक्षा मन्त्रालयबाट नेपाली विद्यार्थीहरु सबै कानुनी प्रक्रियाद्वारा अस्ट्रेलिया आएका र सबै पढिरहेकाले यसबारेमा आफ्नो धारणा परिवर्तन नभएको जनाएका छौँ ।’ राजदूत दाहालले अष्ट्रेलियाको शिक्षा मन्त्रालयले प्रकाशित समाचार मन्त्रालयको आधिकारिक धारणा नभएको जानकारी दिएको बताएका छन् ।

दूतावासले समाचार प्रकाशित भएपछि नेपाली विद्यार्थीहरुका बारेमा यस्तो धारणा दिने विज्ञहरुसँग बसेर छलफल गर्ने प्रयास गरिरहेको जनाएको छ । राजदूत दाहालले आफूहरुले दुवै प्रोफेसरहरुसँग यसबारेमा धारणा बुझ्नका लागि भेट्ने प्रयास गरिरहेको बताए ।

दाहालले दुई प्रोफेसरहरुको भनाइ उनीहरुको व्यक्तिगत भएको र कुनै अनुसन्धानबिना नै सार्वजनिक गरिएको धारणा भएकाले समेत यसले कुनै असर नगर्ने धारणा बताए ।

यसैगरी ग्रिफिथ विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरिरहेका विक्रम तिमिल्सिनाले दुई प्राध्यापकले अनुमानका भरमा आफ्नो धारणा राखेको प्रतिक्रिया दिएका छन् । तिमिल्सिनाले भने, ‘तोकिएका सबै प्रक्रिया पुरा गरेर अस्ट्रेलिया सरकारले भिसा दिएर आएका विद्यार्थीलाई उनीहरुको राष्ट्र, राष्ट्रियता र आर्थिक अवस्थाप्रति इङ्गीत गर्दै प्रस्तुत हुन आवश्यक थिएन ।’

नेपाली विद्यार्थीको बढ्दो संख्यालाई ‘रातो झण्डा’ देखाउनुपर्ने सुझाव दिइएको यो मिडिया रिर्पोट मात्र भएको र यसले दुई देशबीचको सम्बन्धमा कुनै प्रभाव नपर्ने उनी बताउँछन् । नेपाल र नेपालीको अपमान गर्नुभन्दा पनि नेपालबाट अध्ययनका लागि आउने विद्यार्थीको संख्या नियन्त्रण गर्नु अस्ट्रेलियाको हितमा हुने पक्षमा प्राध्यापकको धारणा आएको उनी बताउँछन् ।

अस्ट्रेलियाली सरकारको तथ्यांकअनुसार ६५ हजार ७ सय ४६ जना नेपाली विद्यार्थीले अस्ट्रेलियामा विभिन्न विषयमा अध्ययनका लागि भर्ना गरेका छन् । शिक्षा विभागको तथ्यांकअनुसार अहिले अस्ट्रेलियामा उच्च शिक्षा अध्यययनका लागि ३२ हजार ७ सय ५१ विद्यार्थी भर्ना भएका छन् भने व्यावसायिक तालिमतर्फ २८ हजार १ सय ४९ छन् ।

यसैगरी अंग्रेजी अध्ययन गर्नका लागि (एलिकोस) मा ३ हजार ८ सय ९८ जना भर्ना भएका छन् । उपलब्ध तथ्यांकअनुसार गत वर्षको यही समयको तुलनामा नेपाली विद्यार्थी संख्या करिब १७ हजार बढी हो ।

प्रकाशित : पुस ८, २०७६ २०:११
x
×