कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

देश निकालालाई फर्काउन ५ करोड खर्च

अवैध रुपमा प्रवेश गरेका पाँच नेपालीलाई अमेरिकाले विमान चार्टर गरेर बुधबार काठमाडौं ल्याइदिएको छ
जनकराज सापकोटा

काठमाडौँ — अमेरिकी सरकारले डिपोर्ट (देशनिकाला) मा परेका पाँच नेपालीलाई विमान चार्टर गरेर नेपाल ल्याइपुर्‍याएको छ । अवैध रूपमा अमेरिका प्रवेश गरेका चार र ओभरस्टे बसेका एक जनालाई अमेरिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको छ । 

देश निकालालाई फर्काउन ५ करोड खर्च

काठमाडौं आइपुगेकामध्ये चार जना विभिन्न देश हुँदै मेक्सिको पुगेर अवैध रूपमा अमेरिका छिरेका थिए । एक जना विद्यार्थी भने ओभरस्टेका कारण डिपोर्टमा परेका हुन् । पाँचै जनालाई अमेरिकी सरकारले कम्तीमा दस वर्ष आउन नपाउने गरी देश निकाला गरिदिएको हो । अमेरिकी सरकारले आफूहरूलाई यहाँ ल्याइपुर्‍याउन करिब ५ करोड रुपैयाँ खर्च गरेको उनीहरूले बताए । प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले लिएको प्रारम्भिक बयानअनुसार चार जनाले करिब साढे दुई करोड रुपैयाँ गुमाएका छन् ।

अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम फोर्स’ का सैनिक अधिकारीसहित करिब १७ जनालाई लिएर अमेरिकाबाट उडेको विमान ५२ घण्टापछि बुधबार नेपाल उत्रिएको थियो । विमानमा अमेरिकाबाट डिपोर्ट गरिएका दुई पाकिस्तानी नागरिकसमेत थिए । बुधबार बिहान ९ बजेतिर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भनिए पनि मौसम अनुकूल नभएपछि पाकिस्तान पुगेको थियो । विमानस्थल ओर्लिएर नेपाल प्रहरीको जिम्मा लगाएपछि मात्रै डिपोर्ट भएका सबैका हात, खुट्टा र कम्मरमा लगाइएको हत्कडी खोलिएको थियो । डिपोर्ट भएका एक जनाले विमान यात्राभर आफूहरूलाई कडा सुरक्षामा राखिएको र खाना खाने बेला र शौचालय जाँदासमेत हत्कडी नखोलिएको बताए । उनले भने, ‘चिलाएका बेला कन्याउनसमेत नमिल्ने अवस्था थियो । कैदीजस्तै गरेर ल्याइयो ।’ ०७४ जेठमा पनि डिपोर्ट गरिएका सात नेपालीलाई अमेरिकी सरकारले चार्टर विमानमै ल्याएको थियो । पछिल्ला २० महिनामा अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या ९७ पुगेको छ । उनीहरूले २३ करोड ४६ लाख रुपैयाँभन्दा धेरै गुमाएका छन् ।


अमेरिकाबाट बुधबार आइपुगेकामध्ये अधिकतर एक वर्षभन्दा लामो समय अध्यागमन नियन्त्रणमा बसेका थिए भने एक पीडित सबैभन्दा धेरै अर्थात् २२ महिना अध्यागमन नियन्त्रणमा थिए । अवैध रूपमा अमेरिका प्रवेश गरेकामध्ये सबैजसोले भारतको दिल्लीबाट रुस हुँदै स्पेन–बोलिभिया–इक्वेडर–कोलम्बिया–पानमा–कोस्टारिका–निकारागुवा–होन्डुरस–ग्वाटेमाला–मेक्सिको रुट प्रयोग गरेको देखिन्छ ।


रुकुमका एक पीडितले अमेरिका बस्न पाइने कागज बन्ने आसमा कानुनी प्रक्रियामै ५० लाखजति खर्च गरेको पाइएको छ । फर्किएका पाँचमध्ये दुई रुकुमका, एक दाङका र एक जना बागलुङका हुन् । डिपोर्ट भएका रुकुमका पीडितले मेक्सिकोबाट फिर्ता भए पूरै पैसा फर्काउने तर अमेरिका छिराएपछि आफ्नो दायित्व नहुने सर्त एजेन्टले राखेकाले नाम भन्न नमिल्ने बताए । उनले भने, ‘त्यो एजेन्टले मलाई खोज्दै आएको हैन, मै खोज्दै गएको हुँ ।’ उनले आफ्नो भाग्य बलियो नभएकाले अमेरिका छिरेर पनि फर्कनुपरेको बताए । ‘मसँगै छिर्नेले ग्रिन कार्ड बनाइसके, के गर्नु मेरो भाग्य थिएन,’ उनले भने ।

प्रकाशित : पुस ३, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?