वैदेशिक रोजगारबारे श्वेतपत्र जारी गर्न कांग्रेसको माग

पुस १, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैदेशिक रोजगार, सामाजिक सुरक्षा तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको वर्तमान अवस्थाबारे तत्काल श्वेतपत्र जारी गर्न सरकारसंग माग गरेको छ । कांग्रेसले वैदेशिक रोजगार क्षेत्रका समस्याहरूको पहिचान गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका कार्यक्रम ल्याउनसमेत सरकारलाई आहृवान गरेको छ ।

छायाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिला संग्रौलाले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारले युएई, मलेसिया, जापान मरिससलगायतका श्रम गन्तब्य मुलुकसँग श्रम सम्झौता, सम्झदारी, सहमती गरेपनि कार्यान्वयनमा ल्याउन नसकेको आरोप लगाइन । 


जापानसँग सम्झदारी गरेपनि भाषा परीक्षा र सिप परीक्षणका प्रक्रिया झन्झटिला भएकाले सोचेअनुरुप नेपाली रोजगारीमा जान नसकेको उनले बताइन । श्रम स्वीकृती लिन प्रदेशस्तरमा सेवा विस्तार गरेपनि प्रक्रियागत झन्झटका विषयमा मन्त्रालयले सहजिकरण गर्न नसकेको संग्रौलाले आरोप लगाइन ।


सामाजिक सुरक्षा योजनामा हालसम्म १ लाख २५ हजार श्रमिक र ११ हजार रोजगारदाता सामेल हुने बाहेक अन्य रोजगारदाता र श्रमिकलाई ल्याउने पहल मन्त्रालयले गर्न नसकेको आरोप कांग्रेसको छ । 


प्रधानमन्त्री रोजगार कार्यक्रमले आर्थिक वर्षको मध्यसम्म पनि रोजगारी सिर्जना र बेरोजगारका लागि नयाँ कार्यक्रम ल्याउन नसकेको संग्रौलाले बताइन । 

कान्तिपुर

Link copied successfully