बिदामा आएर साउदी नफर्के तीन वर्ष प्रतिबन्ध

बिदामा गएकाहरू समयमै नफर्कर्दां रोजगारदातालाई कामदार अभाव भएपछि साउदी सरकारले ल्यायो नयाँ नीति

मंसिर २६, २०७६

होम कार्की

काठमाडौँ — साउदी अरबले बिदामा आएका कामदार भिसाको म्यादभित्रै नफर्के तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साउदीको राहदानी विभाग (जवाजत) ले भिसा रद्द नगरी साउदी छाडेपछि पुनः सोही रोजगारदातासँग काम गर्न नआए तीन वर्षसम्म फर्कन नदिने निर्णय गरेको हो ।

बिदामा गएकाहरू समयमै नफर्कर्दां रोजगारदातालाई कामदार अभाव भएपछि साउदीले यस्तो नीति ल्याएको हो । साउदी रोजगारदातालाई नयाँ कामदार भर्ती गर्न कम्तीमा दुई महिना लाग्ने गर्छ । साउदी सरकारले गैरकानुनी हैसियतमा कामदार भर्ती गर्ने रोजगारदातालाई भने एक लाख रियालसम्म जरिवाना लगाउने नीति ल्याएको छ ।


पछिल्लो समय भिसाको म्यादभित्र बिदामा आएका कामदार पुनः तोकिएको अवधिमा साउदी फर्कने गरेका छैनन् । जसमा नेपालीसमेत छन् । कामदारहरू कामका आधारमा ज्याला नपाउने र बचत नहुने भएपछि पुरानो रोजगारदातासँग काम गर्न इच्छुक नदेखिएका हुन् । ‘म भिसा रद्द नगरी आएको थिएँ । राम्रो तलब मिल्ने काम पाए अन्तै जाने योजना बनाएको छु,’ साउदीमा तीन वर्ष काम गरी फर्केका रूपन्देहीका उज्ज्वल मगरले भने, ‘अहिले पनि भिसाको अवधि बाँकी छ । तर जाने योजना बनाइसकेको छैन ।’


उनका अनुसार साउदीमा पहिलाजस्तो भागेर अन्य रोजगारदातासँग काम गर्नसमेत कठिन छ । ‘पहिला भागेका कामदारलाई रोजगारदाताले पनि सहजै लिन्थ्यो । पैसा पनि कमाइ हुन्थ्यो । अहिले त भागेका कामदारलाई ५० हजार रियाल जरिवाना र ६ महिना जेल बस्नुपर्ने नियम छ,’ झापाका उमेश रिजालले भने, ‘भिसाको म्याद छ । फेरि जाउँ कि नजाउँ भएको छ ।’


कतिपय कम्पनीले कामदारसँग लेबी उठाउन थालेपछि पनि कामदारहरू फर्कन अनिच्छुक देखिएका हुन् । साउदी सरकारले सन् २०१७ देखि नै लागू हुने गरी प्रतिकामदारको लेबी कम्पनीसँग उठाउन थालेको छ । जसमा २०१८ मा ५० प्रतिशतभन्दा कम साउदीलाई रोजगार दिने कम्पनीले प्रतिकामदार महिनामा ४ सय रियाल, २०१९ देखि प्रतिकामदार ६ सय रियाल र २०२० देखि ८ सय रियाल लेबी तिर्नुपर्ने नीति ल्याएको थियो । यसको मार कामदारमाथि परेको छ । यो नीति ल्याएपछि धेरै कामदारले साउदी छाडेका छन् ।


वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष बिदामा आएका ४४ हजार ४ सय ९३ नेपाली फर्केर साउदी गएका थिए । जसमा चार सय ४६ महिला थिए । गत वर्ष पुरानासहित १ लाख १७ हजार ९ सय ४ जना साउदी गएका थिए ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully