लाखौं तिर्छन्, प्रमाण लिँदैनन्

मंसिर २५, २०७६

होम कार्की

काठमाडौँ — अमेरिका लगिदिन्छु भन्ने पूर्ण लामालाई उमेश रिजालले २२ लाख रुपैयाँ बुझाए । लामाले पुर्‍याउन सकेनन्, मेक्सिकोबाटै फर्काइदिए । बुझाएको रकम फिर्ता नपाएपछि रिजाल ठगी भएको भन्दै वैदेशिक रोजगार विभागसमक्ष पुगे ।

तनहुँका ३० वर्षीय राजन सिग्देलले क्यानडा जान ट्रेड लिंक प्रालिलाई २५ लाख रुपैयाँ बुझाए । ट्रेड लिंकले सिग्देललाई क्यानडा पठाउन सकेन । उनी आफूले बुझाएको रकमको दाबी गर्दै विभागमा पुगे । विभागले बलियो प्रमाण नभएको भन्दै अपराध अनुसन्धान महाशाखामा पठाइदियो ।


 सन्देश मण्डलले राकेश साहसहित तीन जनालाई माल्टा पठाइदिने भन्दै १७ लाख रुपैयाँ लिए । पठाउन सकेनन् । उनीहरूले आफूले दिएको रकमसमेत फिर्ता पाएका छैनन् । वैदेशिक रोजगार विभागमा पछिल्लो समय म्यानपावर कम्पनीभन्दा व्यक्तिगत रूपमा ठगिएका उजुरी लिएर दिनहुँजसो पीडित आउन थालेका छन् । त्यसरी उजुरी लिएर आउनेसँग प्रमाण नहुँदा विभागले उनीहरूलाई पैसा फिर्ता गराएर न्याय दिलाउन सकेको छैन । ‘विदेश जान दलाललाई जति पनि रकम तिर्छन् तर कुन प्रयोजनका लागि कति बुझाएको भन्ने प्रमाण राख्दैनन्,’ विभागका महानिर्देशक भीष्मकुमार भुसालले भने । खाडी तथा मलेसिया जाने कामदारभन्दा युरोप, अमेरिका र क्यानडा जान खोज्नेसित ठूलै रकम ठगी भइरहेको उनले बताए । ‘श्रमस्वीकृति लिएर गएका कामदारका उजुरी आइरहेका छन्,’ उनले भने, ‘उनीहरू भन्दा युरोप–अमेरिकाको सपना देख्नेहरू कैयौं गुणा बढी ठगीमा परिरहेका छन् ।’ 


पछिल्लो चार महिनामा व्यक्तिगततर्फ विभागमा ११ करोड रुपैयाँ ठगिएको उजुरी परेको छ । तिनमा ९८ वटा मुद्दा दायर भएका छन् । आव ०७५/७६ मा २ सय ९ वटा व्यक्तिगत ठगीका मुद्दा अदालतमा दायर गरी २२ करोड ५७ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो । यसबाहेक प्रमाण अभावमा ठूलाठूला रकम ठगी गर्ने मानव तस्करविरुद्ध विभागले मुद्दा दायर गर्न सकिरहेको छैन । विभागले त्यस्ता उजुरीलाई अपराध अनुसन्धान महाशाखामा पठाउने गरेको छ । 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully