२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

आफ्नै देश फर्की आएँ

आगमन कक्षबाट बाहिरिएपछि मानव बेचबिखन ब्युरोका एक प्रहरीले उनलाई ५० रूपैयाँ निकालेर दिए । र भने, ‘यही पैसाले बस चढेर कसैकोमा गएर बस्नुस् । हाम्रो सम्पर्कमा आइराख्नुस् है ।’
जनकराज सापकोटा

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिर विदेशबाट फर्किएका परिवारजन र आफन्तको स्वागतका लागि कैयौं मानिस आतुर थिए । कोहीले फूलको बुके लिएका थिए, कोहीले माला त कोहीले खादा । त्यो भीडमा रुकम तक्सेराका ४३ वर्षीय राम बुढाका परिवार, आफन्त र साथीभाइ कोही थिएनन् । विमानबाट ओर्लिनेबित्तिकै उनलाई नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोका अधिकारीले सोधपुछका लागि केहीबेर नियन्त्रणमा लिए । 

आफ्नै देश फर्की आएँ

अरू यात्रु लगेज लिन दौडिए । उनी भने सोधपुछ सकिएपछि सानो ब्याग बोकेर लुखुरलुखुर बाहिरिए । घर छाडेको झन्डै २७ महिनापछि अमेरिकाबाट फर्किएका रामको साथमा लगेज थिएन । न थियो, दुई छोरी र श्रीमतीलाई कुनै कोसेली । स्वदेश टेक्दा पनि उनी खुसी हुन सकेका थिएनन् । काठमाडौंमा चिसो बढिसकेको समेत उनलाई हेक्का थिएन । पातलो टिसर्ट र पातलै विन्डचिटरमा उनी विमानस्थल ओर्लिएका थिए ।


दु:खको लामो यात्रापछि अमेरिकाबाट डिपोर्ट भई फर्किएका उनलाई विमानस्थल ओर्लेपछि कहाँ गएर रात बिताउने भन्नेसम्म टुंगो थिएन । आगमन कक्षबाट बाहिरिएपछि मानव बेचबिखन ब्युरोका एक प्रहरीले उनलाई ५० रुपैयाँ निकालेर दिए । र भने, ‘यही पैसाले बस चढेर कसैकोमा गएर बस्नुस् । हाम्रो सम्पर्कमा आइराख्नुस् है ।’ काठमाडौंको चिसो सिरेटोले हाने पनि उनी आत्तिएका थिएनन् । उनी त यसअघि नामै नसुनेका देशमा, नामै नसुनेका र भाषा नमिल्ने मान्छेसँग हप्तौंसम्म अवैध बस्दा नै आत्तिइसकेका थिए । रामले गोजीबाट पेन्सिलले धमिलो गरी लेखिएको कागजको चिर्कटो निकाले । त्यसमा मनमैजुमा घर भएका जेठान अजित बुढाको मोबाइल नम्बर थियो । विमानस्थल ओर्लिनेबित्तिकै उनले प्रहरीको मोबाइलबाट कैयौं पटक उक्त नम्बरमा फोन गरिसकेका रहेछन् । तर फोन नलागेपछि उनी सोझै घर जाने सुरमा रहेछन् । उनले शंका सुनाए, ‘बा जेठानले घर नै बेचेर अन्तै पो सरिसके कि ? कि मैले घर नै पत्तो पो पाउँदिनँ कि ?’ विमानस्थल बाहिरको सानो चिया पसलमा बसेर मैले उनले दिएको नम्बरमा बारम्बार फोन गरिरहें । धेरै बेरपछि बल्ल फोन लाग्यो । मैले सोधें, ‘राम बुढा तपार्इंको को पर्नुहुन्छ ?’

उनले भने, ‘बैनी ज्वाइँ ।’


‘उहाँ कहाँ हुनुहुन्छ त ?’ ‘अमेरिका ।’

त्यसपछि पो पत्तो पाएँ, राम डिपोर्ट भएर नेपाल ओर्लेका उनका परिवार र आफन्त कसैलाई जानकारी रहेनछ । ‘अध्यागमनको नियन्त्रणमा बस्दा फोन गर्न पाए पो,’ उनले भने, ‘यदाकदा इन्टरनेटको सुविधा मिल्थ्यो । तर मैले चलाउन जाने पो ।’ अजितलाई उनका ज्वाइँ डिपोर्ट भएर काठमाडौं ओर्लेको र उनी मसँगै भएको कुरामा सुरुमा पत्यार लागेन । मेरो मोबाइलबाट रामले जेठानसँग रैथाने मगर भाषामा कुरा गरे । उनले आफू अकस्मात् आउनुपरेको कुरा संक्षिप्तमा बताए ।


त्यति बेला रातको करिब नौ बजेको थियो । अजितले आफू ट्याक्सी लिएर लिन आउने बताए । मैले चिसोमा विमानस्थलबाहिर बस्नुभन्दा बानेश्वरतिर कतै बसेर कुर्ने जवाफ दिएँ ।

बानेश्वरको एउटा होटलमा रामले आफ्नो दु:खको लम्बेतान कथा छोटकरीमा सुनाए ।


अमेरिका छिर्नुअघि रामले मलेसियामा ८ वर्ष मजदुरी गरे । मलेसियाको एउटा माछा कम्पनीमा काम गर्दागर्दै आत्तिएर स्वदेश फर्के पनि उनको मन रुकुमको गाउँमा अडिएन । खेतीपाती गरेर दुई छोरी कसरी हुर्काउन सकिएला र भन्ने चिन्तामा अल्झिरहेका बेला उनलाई आफन्त पर्ने एक अंकलले सुनाए, ‘अमेरिका जान्छौ भने छिराइदिन्छु ।’ आफूसँगै माइलो दाइ कर्ण पनि अमेरिका छिर्ने योजनामा रहेपछि चार दाजुभाइमध्ये कान्छा राम सुरिए ।


उनले सुनाए, ‘२०७२ को वैशाखमा अमेरिका जान भन्दै घर छोड्या थें ।’ बस चढेर नेपालगन्ज हुँदै दिल्ली पुगेका उनले एक साता त्यहीँ बिताए । अंकलले भारतीय एजेन्टको जिम्मा लगाइदिए । उनै एजेन्टले चाँजो मिलाइदिए, पर्यटक भिसामा रुसको मस्को हुँदै स्पेन जाने । स्पेनको बोगटा सहरमा तीन दिन बसेपछि उनी र दाइलाई एजेन्टले अवैध रूपमा बोलिभिया छिराइदियो । त्यहाँ अवैध रूपमा अमेरिका छिर्न हिँडेका ४ नेपाली, २ फ्रेन्च र चार भारतीय पनि थिए । त्यहाँबाट लुक्दै उनीहरू कोलम्बिया पुगे । पानामा छिर्न जंगली जनावर र विद्रोही गुरिल्लाको पकड क्षेत्र मानिएको डेरियन ग्याप भनिने जंगल उनले हिँडेरै दुई दिनमा छिचोले ।


विषालु सर्प र सन् १९६४ देखि सरकारसँग लडाइँ लडिरहेका कोलम्बियाविरोधी हतियारधारी गुरिल्ला समूहका कारण डेरियन ग्यापको जंगल यात्रा जोखिमपूर्ण मानिन्छ । तर क्युबा, सोमालिया, सिरिया, बंगलादेश, नेपाललगायत अफ्रिका र एसियाली देशबाट अमेरिका हिँडेकालाई मानव तस्करका एजेन्टहरूले यही बाटो हिँडाउने गरेको तथ्य संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले पनि उल्लेख गरेको छ । आईओएमले निकालेको ‘माइग्रेसन एन्ड माइग्रेन्ट्स : अ ग्लोबल ओभरभ्यु’ शीर्षकमा सन् २०१६ मा प्रकाशित प्रतिवेदनले यो यात्रालाई ‘घोस्ट ट्रेल’ को नाम दिएको छ । प्रत्येक वर्ष यही जंगल छिचोल्नेहरूमध्ये सयौं जना सशस्त्र समूहबाट मारिन्छन् वा बेपत्ता बनाइन्छन् ।


यो अवैध यात्रामा कति सास्ती खेपे, त्यसको हिसाबकिताब गर्नु खाटो बसेको घाउलाई कोट्याउनु जस्तो रामलाई लाग्छ । पानामाबाट कोस्टारिका–निकारागुवा–होन्डुरस–ग्वाटेमाला हुँदै मेक्सिकोको तिख्वाना पुगेका उनले झन्डै दुई महिनाको अवैध यात्रामा अनेक सास्ती भोगे ।


अवैध रूपमा होन्डुरस छिरेपछि १५ दिन प्रहरीको कस्टडीमा बसेको र होन्डुरसको जंगलमा स्थानीय गुन्डाले धम्क्याउँदै मोबाइल र साथमा भएको सबै पैसा लुटपाट पारेको उनले बताए । ‘लुटिँदा भने औधी डर लागेको थियो,’ उनी भावुक देखिए, ‘अरू डर त भनिसाध्य छैन ।’

मेक्सिको पुगेपछि उनलाई अब अमेरिका छिरिने भयो भन्ने लागेको थियो । एक दिन एजेन्टले सिकायो, मध्यरात पर्खालबाट हाम्फाल्ने । उनले सिकाएअनुसार गरे । सुनाए, ‘झन्डै ६ फिट अग्लो पर्खाल चढें र हाम्फालें ।’ केही मिनेटमै उनी अमेरिकी सीमा सुरक्षा बलको नियन्त्रणमा परे । दाइ कर्ण पनि उनीभन्दा एक दिनअघि त्यसैगरी प्रहरी नियन्त्रणमा पुगिसकेका थिए ।


त्यसपछि सुरु भयो, उनको अध्यागमनको हिरासत बसाइ । उनी र दाइले एउटै वकिल लगाएर शरणार्थी आवेदनको प्रक्रिया सुरु गरे । वकिलले नै स्पोन्सर खोजिदियो । दुई महिना अध्यागमन हिरासतमा बसेपछि दाइ हिरासतमुक्त भए । मुद्दा जारी रह्यो । तर उनको त्यस्तो भएन । ‘वकिलले स्पोन्सरको नक्कली कागजात राखिदिएका कारण मुद्दा हारें,’ उनले भने । स्पोन्सर खोज्न १५ सय डलर र वकिल शुल्कबापत २५ सय डलर खेर गएको उनको भनाइ छ । नेपाल छाडेपछि २७ महिना लामो यात्रामा उनले करिब ४५ लाख रुपैयाँ सकिएको उनले बताए । ‘त्योभन्दा पनि अमेरिकामै बस्ने सपना अधुरै रह्यो,’ उनले भने ।


दाइ भने शरणार्थी आवेदनको कानुनी प्रक्रिया पूरा गरेर अमेरिकामै बस्न पाउने भए । रामले सुस्केरा हाले । र भने, ‘त्यसलाई अमेरिका बस्न लेख्या र’छ । भाग्यमानी ।’ तर रामको हकमा शरणार्थीको निवेदन अस्वीकृत भएपछि उनलाई अमेरिकी सरकारले नेपाल डिपोर्ट गरिदिएको हो । रामलाई अब जीवन कहाँबाट कसरी सुरु हुन्छ, केही थाहा छैन ।


राति १० बज्नै लाग्दा रामका जेठानले फोन गरेर भने, ‘हामी थापाथली आइपुगेम् । यहीँ ल्याइदिनुस् न । बानेश्वर कहाँनेर हो ? हामी झुक्किन्छम् कि ?’ चिसो सिरेटो चिर्दै रामलाई मोटरसाइकलमा राखेर थापाथली पुग्दा उनका जेठान र अन्य आफन्त कुरिरहेका थिए । मोटरसाइकलबाट झर्नेबित्तिकै रामलाई आफन्तहरूले पालैपालो खादा लगाइदिए । जेठानले भने, ‘कम्तीमा आफू त सद्दे आउनुभो नि । त्यही भएर स्वागत गरेको । बाँचेपछि सबै गर्न सकिन्छ ।’

आफन्तको स्वागतले रामको अनुहारमा हल्का खुसी देखियो । उनी खुलेर मुस्काउन सकेनन् । सायद रुकुमको तक्सेरा पुगेर आफूले ५ र ३ वर्षका हुँदा छाडेका दुई छोरी र पत्नीको अनुहार नदेखेसम्म उनको अनुहार पूरै उज्यालो हुनेछैन । छुट्टिनुअघि रामले भनेका थिए, ‘अवैध यात्राका क्रममा भेटिएका देशैपिच्छेका अनेक एजेन्टलाई कहाँकहाँबाट ऋण खोजेर पत्नी र आफन्तले दिए होलान् ? ऋणको ब्याज कति पुग्यो होला ?’


सायद, राम अब यही तिरनतारनको अल्झोमा फस्नेछन् ।

प्रकाशित : मंसिर २५, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?