कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जागिरबाट निकालिएपछि आत्महत्या

अपमान गरिएको भन्दै मजदूर आन्दोलित
भरत जर्घामगर

सिरहा — गोलबजार– ९ स्थित मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्षले रोजगारीबाट हटाएको सूचना जारी गरेको केही घण्टामै एक महिला श्रमिकले आत्महत्या गरेकी छन् । गोविन्दपुरकी अनितादेवी पासवान मंगलबार बिहान उद्योग नजिकै झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

जागिरबाट निकालिएपछि आत्महत्या

१५ वर्षदेखि स्थायी श्रमिकका रुपमा कार्यरत उनले आत्महत्या गरेपछि मजदूरहरुले प्रदर्शन गरेका छन् । पासवानलाई अपमान जनक ढंगले कामबाट निकालेर आत्महत्या गर्न बाध्य पारेको भन्दै आफन्त, मजदूरले क्षतिपूर्तिको माग गर्दै उद्योग घेराउ गर्नुका साथै पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरे । प्रहरीले दुई घण्टापछि राजमार्ग खुलाएको थियो ।


उद्योग व्यवस्थापनले सोमबार अवकास दिएको सूचना टाँसेको थियो । नियमित कामका लागि मंगलबार बिहान ७ बजे उद्योग पुगेकी पासवान अवकासको सूचना पाएपछि त्यहाँबाट फर्किएकी थिइन् । उनी उद्योग नजिकैं रुखमा ११ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको उद्योगका प्रशासकीय अधिकृत एवं सुरक्षा संयोजक मोहन शर्माले जानकारी दिए । पासवान दैनिक बिहान ८ देखि ४ बजेसम्म उद्योगमा काम गर्थिन् ।


मजदूरहरुले सेवा सुविधाको विषयलाई लिएर माग गरी केही दिनदेखि उद्योगमा अवरोध गर्दै आएका थिए । अवरोधमा संलग्न अनितालाई उद्योग प्रशासनले मंसिर ६ र १३ गते दुई पटक स्पष्टीकरण सोधेको थियो । प्रशासकीय अधिकृत शर्माका अनुसार स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै सोमबार उनलाई सेवाबाट अवकाश दिएको थियो । उनी उद्योगको अखिल नेपाल औद्योगिक मञ्चकी सदस्य थिइन् ।


सबै मजदुर काममा गएका बेला अनितालाई अपमानजनक ढंगले महिला प्रहरी लगाएर उद्योगबाट निकालेकाले हतोत्साहित भएर आत्महत्या गर्न पुगेको दाबी मजदुरहरुको छ । मजदुरहरुले उद्योग व्यवस्थापनसँग उचित क्षतिपूर्तिको माग गरेका छन ।


आफूहरुले खाईपाई आएको तलब कात्तिक महिना देखि घटाएर आएको विषयमा व्यवस्थापनसँग छलफलको लागि माग गर्दा आफूहरुमाथि अनावश्यक आरोप लगाउँदै व्यवस्थापन पक्ष एकपक्षीय ढंगले कार्वाहीमा उत्रिएको मजदूर पक्षको आरोप छ ।

उद्योग व्यवस्थापनले अनितासँगै मधेसी कारखाना मजदुर मञ्चका अध्यक्ष समेत रहेका विनोदकुमार महतो, सभ्यकुमार यादव, मोहनकुमार यादव र मिथिलेशकुमार यादवलाई पनि एक महिनाका लागि निलम्बन गरेको उनीहरुले जानकारी दिए ।


उद्योगका मजदूरहरुले चिया, मिठा (सख्खर) वापत प्रत्येक दिन ५० रुपैयाँका दरले पाउँदै आएको सुविधा व्यवस्थापनले पछिल्लो कात्तिकबाट दिन छोडेको आरोप लगाएका छन् । यस विषयमा छलफल गर्न माग गरेकै कारण मृतक पासवानलाई रोजगारीबाट हटाएको मजदूरहरुको आरोप छ ।

घटनापछि उद्योग व्यवस्थापनले मजदूरहरुलाई वार्ताका लागि बुधबार बिहान बोलाएको मधेसी कारखाना मजदुर मञ्चका अध्यक्ष विनोदकुमार महतोले जानकारी दिए ।

प्रकाशित : मंसिर २४, २०७६ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?