कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘इराकमा कार्यरत नेपाली सुरक्षित’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि इराकका गैरआवासीय राजदूत फलाह अब्लुल्हसन अब्दुलसदाले इराकमा कार्यरत नेपाली सुरक्षित रहेको बताएका छन् । इराकको सुरक्षा व्यवस्थापन सुदृढ पार्ने काममा नेपालीको विशेष योगदान रहेको उनको भनाइ छ । गृहमन्त्री रामबहादुर थापासित बिहीबार भएको भेटमा उनले भने, ‘नेपालीहरूको योगदानलाई इराकले निकै महत्त्वका साथ लिएको छ ।’

राजधानी बग्दादस्थित कूटनीतिक नियोगहरूको सुरक्षामा नेपाली रहेको राजदूत अब्दुलसदाले बताए । उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका थिए । गृहमन्त्री थापासँगको भेटमा उनले नेपाल आउने इराकीलाई भिसा प्राप्तिमा सरलीकरण गरिदिन गृहमन्त्री थापालाई आग्रह गरेका थिए । थापाले इराकमा कार्यरत नेपालीको सुरक्षाप्रति चासो जनाएको थापाका प्रेस सल्लाहकार किरण भट्टराईले बताए ।


नेपालले ०६७ मा इराकलाई प्रतिबन्धको सूचीबाट हटाए पनि कानुनी रुपमा कामदार पठाएको छैन । गैरकानुनी रूपमा अझै पनि झन्डै २५ हजार नेपाली त्यहाँ कार्यरत छन् । ०६१ भदौ १६ मा इराकमा १२ नेपालीको हत्या भएपछि सरकारले रोजगारीका लागि इराक जान प्रतिबन्ध लगाएको थियो । हाल ओसिस, एभीए इन्टरनेसनल, इकोलग, जीसीसी, सिर्का, पीपआई, डी एन्ड पी, रिनिलसेन्स, टोइफर एफेक्स र यूआरएसलगायत कम्पनीमा नेपाली कार्यरत छन् ।

प्रकाशित : मंसिर १९, २०७६ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्

एमबीबीएसको प्रश्नपत्र आउट, विद्यार्थीद्वारा परीक्षा बहिष्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले लिएको परीक्षा विद्यार्थीले बहिष्कार गर्ने क्रममा बिहिबार प्रश्नपत्र बाहिरिएको हो । परीक्षा सुरु भएको एक घण्टा अगावै प्रश्नपत्र परीक्षा हल बाहिर पुगेको विद्यार्थीले दावी गरेका छन् ।

परीक्षा सुरु भएको १ घण्टासम्म प्रश्नपत्र परीक्षा हल बाहिर लैजान पाइदैंन् । गण्डकी मेडिकल कलेजमा विद्यार्थीले परीक्षा बहिष्कार गर्न खोज्दा प्रहरीसँग हुलदंगा भएको थियो । त्यहि बेला प्रश्नपत्र बाहिरिएको अनुमान गरिएको छ । बिहान १० बजेबाट परीक्षा थियो । गण्डकी मेडिकल कलेजका प्रिन्सिपलका छोरा र सिईओकी छोरी लगायत केहि विद्यार्थी परीक्षा दिन हलमा प्रवेश गरेका थिए । त्यसपछि बहिष्कार गर्ने विद्यार्थी पनि हल भित्र पसेर प्र्रश्नपत्र लिएर बाहिरिएको एक विद्यार्थीले बताए ।

चिकित्सा शिक्षा संघर्ष समितिले भने कलेज प्रशासनले नै प्रश्नपत्र आउट गरेको दावी गरेको छ । ‘आफ्ना छोराछोरीको मात्र परीक्षा लिने तयारी रहेछ,’ गण्डकी मेडिकल कलेजका छात्र अनित सिंन्हाले भने, ‘परीक्षा सुरु हुनुभन्दा अघि नै प्रश्नपत्र आउट गरेर हामीलाई दोष दिइएको छ ।’
अतिरिक्त शुल्क फिर्ता नपाएका विद्यार्थीले एमबीबीएस पहिलो वर्षको परीक्षा पनि बहिष्कार गर्ने कार्यक्रम थियो । त्यही क्रममा गण्डकी मेडिकल कलेजबाट प्रश्नपत्र नै आउट भएको हो । आन्दोलनरत विद्यार्थीले बुधबार बीडीएस र नर्सिङको परीक्षा बहिष्कार गरेका थिए । बिहिबार ४ मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका हुन् ।

परीक्षा बहिष्कार गर्ने क्रममा कलेजमा तोडफोड गरेको आरोपमा कास्की प्रहरीले गण्डकी मेडिकल कलेजका ८ विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । ‘विद्यार्थी परीक्षा छाडेर बाहिर निस्किदैं थिए, प्रहरी आएर हस्तक्षेप गर्‍यो’ समितिका प्रवक्ता समेत रहेका सिंन्हाले भने, ‘प्रहरी र विद्यार्थीबीच धकेलाधकेल हुँदा केहि सिसाहरू फुटयो, तोडफोड गरेको आरोपमा ३ जनालाई प्रक्राउ गरियो ।’

पक्राउ परेका विद्यार्थीलाई छुटाउन जाँदा अन्य ५ जनालाई पनि नियन्त्रणमा लिइएको उनले जनाए । बढि शुल्क लिने कलेज संचालकलाई कारवाही गर्न नसक्ने प्रहरी प्रशासनले उल्टै विद्यार्थीलाई प्रक्राउ गरेको विद्यार्थीले गुनासो गरे । कलेज प्रशासन र डिन कार्यालयले भने परीक्षा सुरु भएको एक घण्टा पछिमात्र प्रश्न बाहिरिएको दावी गरेका छन् । डिन कार्यालयको परीक्षा महाशाखाले प्रश्नपत्रका बिषयमा विस्तृतमा बुझने काम भइरहेको जनाएको छ ।

अवैध शुल्क फिर्ताको माग राख्दै महिनौदेखि आन्दोलनरत मेडिकल विद्यार्थीले चितवन मेडिकल कलेज, युनिर्भसल कलेज अफ साइन्सेस, नेसनल मेडिकल कलेजमा परीक्षा बहिष्कार गरेका हुन् । यी कलेजमा बुधबारको परीक्षामा पनि विद्यार्थीले दिएनन् । अतिरिक्त शुल्क फिर्ता पाएपछि मात्र शैक्षिक कार्यक्रममा सहभागी हुने विद्यार्थीको अडान छ । कात्तिक २० देखि हुने परीक्षा विद्यार्थीको बहिष्कार गर्ने चेतावनी पछि मंसिर १८ देखि हुने गरि सारिएको थियो । शिक्षा मन्त्रालय र मेडिकल कलेज संचालकबीचको सम्झौतामा असहमति जनाउँदै विद्यार्थीले परीक्षा छाडेका हुन् । पहिलो र दोस्रो वर्षको बीडीएस र एमबीबीएसको शुल्क समायोजन गर्ने सहमति गरिएको थियो । कलेजहरूले समायोजन गर्ने प्रक्रिया थालेका छैनन् । विद्यार्थीले चार वटै वर्ष र सबै विषयको बढि शुल्क फिर्ता गरिनु पर्ने जनाएका छन् ।

प्रकाशित : मंसिर १९, २०७६ २०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×