नेपाली कामदारलाई कृषि क्षेत्रमा लैजान जापान तयार

कार्तिक २५, २०७६

होम कार्की

काठमाडौँ — जापानले नेपाली कामदारलाई कृषि क्षेत्रमा लैजाने आन्तरिक गृहकार्य थालेको छ । यसअघि जापानले नर्सिङ क्षेत्रमा मात्रै छुट्टाएको थियो ।

नेपालका लागि जापनिज राजदूत  मासामिची साइगोले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग छलफल गरेका छन् । ‘जापानले १४ वटा क्षेत्रमा विदेशी कामदार लैजाने नीति छ । कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजान सकिनेछ, राजदूत साइगोले विष्टसमक्ष भने,‘कृषि क्षेत्रका लागि छुट्टै सीप परिक्षण र भाषा पनि चाहिनेछ ।’  


मन्त्री विष्टले जापानको आवश्यता अनुसार भाषा परीक्षण र सीप परीक्षण गर्न सकिने बताए । जापानले पहिलो चरणमा नर्सिङ क्षेत्रको लागि भाषा परीक्षा भइरहेको राजदूतले जानकारी दिए ।


नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर भएपनि श्रम भिसामा नेपाली कामदार लैजाने प्रक्रिया अगाडि बढेको छ ।

पहिलो लटमा नर्सिङ क्षेत्रमा कामदार लैजान भाषा र सीप परीक्षण भइरहेको छ । यो दुवै परीक्षामा उत्तिर्ण हुने प्रशिक्षार्थीलाई रोजगारदाताले चयन गर्ने जापानले जनाएको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully