१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘हेरिटेज रुट’ले समेटियो विश्वसम्पदा क्षेत्र

प्रशान्त माली

(ललितपुर) — ललितपुर महानगरपालिकाले पाटनका सम्पदालाई समेट्ने गरी ‘हेरिटेज रुट’ तयार गरेको छ । शुक्रबार सकिएको सहरहरूको सञ्जाल (सिटी नेट) को कार्यसमिति बैठकमा आएका विदेशी प्रतिनिधिलाई यही मार्गका सम्पदा देखाएर पाटन दरबार क्षेत्र पुर्‍याइएको थियो ।

‘हेरिटेज रुट’ले समेटियो विश्वसम्पदा क्षेत्र

पाटन ढोकाबाट सुरु भको रुट सुलिम्ह टोल, पिम्बहाल, नकबहिल, नागबहाल, क्वाल्खु, कुम्भेश्वर, स्वठ हुँदै पाटन दरबार क्षेत्रमा पुग्छ ।


पाटनढोकाको कोरिएको चित्र, पुराना पाटी, ढुंगेधारा, पोखरी, विहार, पुराना बस्ती र मठ मन्दिर हेर्दै पाटन दरबार पुगिन्छ । यो मार्गमा पर्ने सुलिम्ह ऐतिहासिक टोल हो । ‘गयो बाजे’ नामक एक महातान्त्रिकको पुरातात्त्विक घर यही टोलमा पर्छ । यो घर पाटनको इतिहासमा सबभन्दा पुरानामध्ये एक मानिन्छ । उक्त घरको एउटा झ्याल पाटन संग्रहालयमा राखिएको छ । जहाँ यो झ्याल १०–११ औं शताब्दीमा बनेको उल्लेख छ । ‘गयो बाजे’ र सुलिम्ह टोलबारे संस्कृतिविद् सत्यमोहन जोशीलगायतले आफ्ना कृतिमा उल्लेख गरेका छन् ।


टोल नजिकै पिम्बहाल पोखरी छ । करिब ६ सय वर्षअघि गयो बाजेले लाखे (राक्षस) हरू नियन्त्रणमा लिएर एकैरातमा यो पोखरी निर्माण गरेको किंवदन्ती छ । पोखरी जापान सरकारको सहयोगमा सन् १८५२ मा बेलायती नागरिक हेनरी एम्ब्रोस ओल्डफिल्डले तयार गरेको हाते स्केचका आधारमा प्राचीन शैलीमा पुनर्निर्माण गरिएको मानिन्छ ।


यहाँको प्रवेशद्वार र पोखरीको बीचमा मल्लकालीन पाटी निर्माण गरिएको छ । यो पाटीले पर्यटकलाई लोभ्याउने गरेको छ । त्यहाँबाट नकबहिल टोल पुगिन्छ । यहाँ पर्यटकले दसौं शताब्दीको उमामहेश्वर, बुद्ध, ब्रह्मा र विष्णको मूर्ति अवलोकन गर्न सक्छन् । दसैंमा पाटन दरबार क्षेत्रमा देखाइने अष्टमात्रिका नाचका देवगणको प्रशिक्षण स्थल लोकाकीर्ति महाविहार पनि यहीँ छ ।


नकबहिल नजिकै गोल्डेन टेम्पल छ । क्वाबहाल टोलमा लोकेश्वरको स्वर्णजडित पेगोडा शैलीयुक्त तीनतले विहार पनि यही मार्गमा पर्छ । यो मन्दिर राजा भाष्करदेव बर्माका पालामा १२ औं शताब्दीमा निर्माण भएको हो ।


विहारमा नेवार बौद्ध धर्मावलम्बीको उत्कृष्ट कलाकृतिको नमुना शाक्यमुनि बुद्धको अति सुन्दर मूर्ति छ । विहारअगाडि बज्रधर, पछाडि शाक्यमुनि, दायाँ र बायाँ बोधिसत्व छ । मन्दिरमा गरिने पूजापाठ अहिलेसम्म पनि प्राचीन परम्परा र रीतिरिवाजअनुसार चल्दै आएको छ, जुन विदेशीका लागि रुचिकर हुने महानगरले जनाएको छ ।


कुम्भेश्वर पर्यटकका लागि अर्को आकर्षण हुन सक्छ तर अहिले पर्यटकलाई यहाँ लैजान सकिएको छैन । १४ औं शताब्दीमा जयस्थिति मल्लका पालामा बनेको पाटनको एक मात्र पाँचतले मन्दिर कुम्भेश्वर हो । मन्दिर परिसरमा कुम्भेश्वर महादेव, बंगलामुखी, अनमन्त भैरव, गौरीकुण्ड, हारती, मनकामना, केदारनाथ, बद्रीनाथ छन् । यहाँ एउटा पोखरी छ, जसको स्रोत रसुवाको गोसाइँकुण्ड मानिन्छ । जनैपूर्णिमाको समयमा यहाँ स्नान गर्नु गोसाइँकुण्डमा स्नान गरेबराबर मानिन्छ ।


अहिले पाटन घुम्न आउने पर्यटक पुल्चोक नःटोलबाट गाःबहाल हुँदै सिधै दरबार क्षेत्र पुग्ने गरेका छन् । यो व्यापारिक मार्ग हो । यहाँ पर्यटकलाई आर्कषित गर्ने मठमन्दिर, पाटीपौवा तथा हस्तकलाका सामग्री छैनन् ।


‘अहिले पर्यटकलाई आकर्षित गर्न सकेका छैनौं,’ गरिब उन्मुख सहरी पुनःस्थापना नमुना परियोजनाका व्यवस्थापक प्रवीण धाख्वाले भने, ‘पर्यटक मुस्किलले दुई घन्टा बस्ने गरेका छन् । हेरिटेज रुटमा कम्तीमा एक रात बसेर मात्र अवलोकन सकिने सम्पदा छन् ।’ परियोजनाले तयार पारेको रुट दरबार क्षेत्रबाट उत्तर र उत्तर पश्चिम क्षेत्रमा पर्छ ।


दरबार क्षेत्र पुगेका पर्यटकलाई हौगल, सौगल, सुनधारा, महाबौद्ध, ओकुबहाल, ईखालखु हुँदै पूर्णचण्डीसम्म पुर्‍याउन सकिन्छ तर यो रुटको प्रचार हुन सकेको छैन । पाटन दरबारको पूर्वी दक्षिण भेगमा च्यासल, ज्यापू संग्रहालय, भीन्छेबहाल अर्को गन्तव्य स्थल हो । पर्यटकहरू पाटन आउने गरे पनि यस्ता पुरातात्त्विक स्थानमा पुर्‍याउन सकिएको छैन ।


प्रकाशित : कार्तिक २५, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?