कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बुङमतीले लठ्यायो विदेशी मेयरलाई

सहरहरुको सञ्जाल सिटी नेटको कार्यसमिति बैठकमा सहभागी हुन विभिन्न देशका १४ नगरप्रमुखसहित ८८ जना विदेशी ललितपुरमा जम्मा भएका छन् 
प्रशान्त माली

(ललितपुर) — बुङमती मत्स्येन्द्रबहालको उत्तरपट्टिको ‘धोकासी फल्चा’ (पाटी) मा अखण्ड भजन खलकको भजनकीर्तन चलिरहेको थियो । विदेशी पाहुनाहरूलाई एक महिलाले टीका र फूल लगाएर स्वागत गरिन् । निकै प्रसन्न मुद्रामा ती विदेशीले भजन नियालिरहे । कतिपयले दक्षिणा चढाएर सम्मान व्यक्त गरे, कतिपय तस्बिर लिन थाले ।

बुङमतीले लठ्यायो विदेशी मेयरलाई

बुङमती सहकालका देवता रातो मत्स्येन्द्रनाथ रहेको गाउँ हो । नेपाल भाषामा यसलाई ‘बुगं दे’ भनिन्छ ।


चक्रपथबाट करिब ८ किमि दक्षिणमा पर्ने गाउँको मुख्य आकर्षण रातो मत्स्येन्द्रनाथ, कुमारी, हस्तकला, चित्रकला र विभिन्न जातका नेवारहरूको बसोबास थलो हो । यही थलोमा विभिन्न देशका मेयरहरू बिहीबार पुगेका थिए ।

परम्पराअनुसार बुङमतीका जीवित देवी कुमारी रातो मत्स्येन्द्रनाथको जात्रामा मात्र बाहिर ल्याइन्छ । तर, सिटीनेटका प्रतिनिधिहरू आउने भएपछि मत्स्येन्द्रबहालको उत्तरपट्टिको ‘धोकासी फल्चा’ (पाटी) को सिंहासनमा राखिएको थियो । सिटीनेट एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिका र अन्य सरोकारवाला आबद्ध संस्था हो ।


चोहेल ननीः बुङमतीको सबभन्दा ठूलो चोकमध्ये एक हो । ननीःकी ५० वर्षीय कृष्णमाया माली पाहुनालाई बुङमतीको कला देखाउन हाकुपटासी र गुन्युचोलोमा सजिएकी थिइन् । उनले मोबाइल झुन्ड्याएर चार्ज गर्दा राख्ने खोयाको सामान, कलम राख्ने, साँचो झुन्ड्याउने, मुरा, ढकी (एक किसिमको सामान राख्ने भाँडो), मरे चरा (एक किसिमका चारा) को गुँडलगायतका सामान प्रदर्शनीमा राखेकी थिइन् ।


सिटीनेटका महासचिव जगन्नाथन त्यहाँ पुग्दा उनी कलम राख्ने भाँडो बुन्दै थिइन् । छक्क परेर महासचिवले मुसुक्क हाँसेर प्रतिक्रिया दिए । मालीसँग सेल्फी खिच्न ती विदेशी एकाएक झुम्मिए । विदेशीले एक सय रुपैयाँ पर्ने मोबाइल चार्ज गर्दा राख्ने भाँडो, बास्केट र पाँच सय रुपैयाँ पर्ने चराको गुँड खरिद गरे ।


बुङमतीवासीले मान्ने देवतामध्ये हेयगृव भैरव पनि एक हो । आँग छेँ (मनकामना मन्दिर) प्राङगणमा बुङमतीका चित्रकार सुर्जमुनि शाक्यले पौवा चित्रमार्फत भैरवको महत्व देखाउन कोसिस गरिरहेका थिए । प्रदर्शनीमा मनकामना, योगिनी, तारा, बुद्ध, बसुन्धरा गरेर १० देवीदेवताका चित्र थिए । बुङमती जावलाखेलबाट पश्चिमपट्टिको गल्लीमा प्रवेश गरेपछि गणेश मन्दिर भेटिन्छ । त्यहाँ परम्परागत वेशभूषामा सजिएकी पाँच युवतीले धिमे नाच देखाए । नजिकै भिपु माला (एक प्रकारको माला) मा सजिएकी युवतीहरूले काठको झ्यालमा बुट्टा भर्दै गरेको दृश्य देखेर पाहुनाहरू मोहित बने ।


त्यसछि उनीहरूलाई मत्स्येन्द्रबहाल लगिएको थियो । गल्लीमा उनीहरूले काष्ठकला अवलोकन गरे । त्यहाँ कल्पवृक्षमा विराजमान आकर्षक बुद्ध मूर्ति, विभिन्न ध्यानमुद्रामा बसेर बुद्ध, परालबाट बनाइएका जुट्टा, हात्ती, फ्रेम, माना, बज्र, चैत्य आर्कषक थिए ।


भूकम्पले ध्वस्त बनेको रातो मत्स्येन्द्रनाथ मन्दिर पुनर्निर्माण भइनसकेकाले देवतालाई टहरामा राखिएको छ । पुजारीले विधिवत पूजा गर्दा पाहुनाहरू अनौठो मानेर हेरिरहेका थिए । उनीहरूलाई परम्परागत टोपी र रातो पोसाकमा सजिएका रातो मत्स्येन्द्रनाथका पुजारीहरूले टीका र फूलमाला लगाएर ‘ढोका पिनी’ टोलमा स्वागत गरेका थिए । त्यहाँबाट चोहेल ननी–कोटा टोल–बाँ छेँ–बाथः–लाछी–मत्स्येन्द्रबहाल–बहिली (प्रथमपुर महाविहार) हुँदै कार्यविनायकसम्म पुर्‍याइएको थियो । दुई जना बालिका ‘वेलकम टु अल दी डिस्टिङगुस्ट गेस्ट फ्रम सिटीनेट मेम्बर सिटिज्’ लेखेको ब्यानरमा बोकेर अग्रपंक्तिमा थिए । उनीहरू खाल्टु दाफा भजन खलबाट सहभागी भएका हुन् ।


लगत्तै बाँसुरी खलले धिमे बाजाले उनीहरूलाई स्वागत गरेको थियो । दे नामक पुखु पनि चिटिक्क देखिन्थ्यो । यो क्षेत्रमा महिलाहरूले नेवारी परम्पराअनुसार रक्सी पारिरहेको दृश्यसमेत देखाइएको थियो । लाछी टोलमा एकजना पुरुषले बारा बनाएर बिक्री गरिरहेका थिए । गल्लीका पाटीहरूमा परम्परागत भजन गाइरहेका टोली थिए । लाछी टोलको पाटीमा भने महिलाहरू भजन गाउन व्यस्त देखिन्थे ।


भ्रमणमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र ललितपुर महानगरपालिका २२ का वडाध्यक्ष अम्बिरराज शाक्यलगायत उपस्थित थिए । सहरहरूको सञ्जाल सिटीनेटको ३८औं कार्यसमितिको तीनदिने बैठकमा सहभागी हुन विभिन्न देशका १४ नगरप्रमुखसहित ८८ विदेशी ललितपुरमा जम्मा भएका छन् ।


शुक्रबारसम्म चल्ने बैठकमा नेपालका विभिन्न स्थानीय तहका ४३ प्रतिनिधिसमेत सहभागी छन् । बैठकमा सहभागी हुन आएका विदेशीलाई बुधबार ललितपुर महानगरले पाटन ढोकाबाट पिम्बाहल पोखरी हुँदै पाटन दरबारसम्म नगरको सम्पदा अवलोकन गराएको थियो ।


सिटी नेटमा आबद्ध सदस्य नगरहरूबीच सिप, प्रविधि, शिक्षालगायतका क्षेत्रमा आपसी साझेदारी गर्न बैठकले सहयोग पुर्‍याउने आयोजक ललितपुर महानगरपालिकाका मेयर महर्जनले बताए ।



प्रकाशित : कार्तिक २२, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?