३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मलेसियाद्वारा स्वास्थ्य संस्था थप गर्न प्रक्रिया सुरु

होम कार्की

काठमाडौँ — मलेसियाले कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई बायोमेडिकल प्रणालीमा समावेश गर्न आइतबारबाट प्रक्रिया सुरु गरेको छ । उसले नेपाल सरकारबाट सूचीकृत ८६ संस्थालाई निरीक्षण गर्न आउनको लागि आबेदन खुल्ला गरेको हो ।

मलेसियाद्वारा स्वास्थ्य संस्था थप गर्न प्रक्रिया सुरु

नेपाल र मलेसियाबीच गत भदौ २६ गते सम्पन्न दोस्रो प्राविधिक कार्य समूहको बैठकमा सहमति भएअनुसार स्वास्थ्य संस्था थप गर्नको लागि आवेदन माग गरेको हो । जसमा नोभेम्बर पहिलो सातादेखि स्वास्थ्य संस्थालाई निरीक्षणको प्रक्रिया सुरु गर्ने सहमति भएको थियो । मलेसियाले डिसेम्बर ४ सम्ममा आवेदन दिन पाउने समय तोकिएको छ । आवेदनमा छनोट भएका स्वास्थ्य संस्थालाई स्थलगत निरीक्षण गर्न आउने सूचनामा उल्लेख छ ।


सरकारले मलेसियाबाट प्राप्त स्वास्थ्य मापदण्ड र स्वास्थ्य परीक्षण निर्देशिका (एसओपी) पुरा गरेका ३६ सहित एकसय २२ वटा स्वास्थ्य संस्थाको प्रस्तावित सूची पठाएको थियो । ३६ वटा स्वास्थ्य संस्था भने यसअघि नै बायोमेडिकल प्रणालीमा जडित भएका थिए । उनीहरुले आवेदन दिन नपर्ने सूचनामा उल्लेख छ ।


मलेसियाले नेपालले सूचीकृत गरेका ८६ वटाभित्रबाट मात्रै स्वास्थ्य संस्थालाई निरीक्षण गरी उत्तीर्ण भएकालाई बायोमेडिकल प्रणालीमा समावेश गर्दै लैजाने जनाएको छ ।


बायोमेडिकल प्रणाली अनुसार उत्तीर्ण भएको स्वास्थ्य परीक्षण प्रतिवेदन आएपछि मात्रै अध्यागमन विभागले मलेसिया आउने कामदारको प्रवेश भिसा (कलिङ भिसा) जारी गर्छ ।


मलेसियाले नेपालसहित स्रोत मुलुक देशहरुमा बायोमेडिकल प्रणाली सञ्चालन गर्न वेस्टिनेट बिएचडीलाई जिम्मा दिएको छ । बायोमेडिकलमा पास भएपछि कामदारले मेडिकल शुल्क मलेसिया पुगेको पहिलो महिनाको तलबमा फिर्ता पाउने दुईदेशवीच सहमति छ । श्रम समझदारी अघि मेडिकलको शुल्क कामदार आफैंले तिर्नुपर्दथ्यो । काठमाडौंमा मेडिकल गर्दा ७ हजार ६ सय ६४ रुपैयाँ शुल्क लाग्छ । जसमध्ये स्वास्थ्य परीक्षण वापत ४ हजार ५ सय रुपैयाँ, बायोमेडिकल सेवा शुल्कवापत २८ सय रुपैयाँ र भ्याट वापत ३ सय ६४ रुपैयाँ खर्च हुन्छ ।

प्रकाशित : कार्तिक १८, २०७६ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?