प्रधानमन्त्रीको उपचार अब कसरी- डायलाइसिस कि प्रत्यारोपण ?

कान्तिपुर संवाददाता

काठमाडौँ — मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे आइतबार पनि टुंगो लागेन । अघिल्लो साता सुरु गरिएको डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरूसँग परामर्श जारी राखेका छन् ।

प्रधानमन्त्रीको उपचार अब कसरी- डायलाइसिस कि प्रत्यारोपण ?

सत्तारूढ नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको उपचार पद्धति टुंगो लागिनसकेको बताए । ‘अहिले उहाँले डायलाइसिस नै गरिरहनुभएको छ, डायलाइसिस यहाँ सजिलै हुन्छ, अरू विकल्पबारे टुंगो लागिसकेको छैन,’ उनले भने ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले निकट वृत्तमा डायलाइसिसभन्दा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नेतर्फ आफूले सोचिरहेको बताएका छन् । यद्यपि वृद्ध उमेरमा पुनः प्रत्यारोपण गर्नु चुनौतीपूर्ण हुने भएकाले त्यसको तुलनामा डायलाइसिस सहज विकल्प हुने सुझाव पनि प्रधानमन्त्रीले पाएका छन् ।


‘यो उमेरमा प्रत्यारोपण सफल भएन भने अरू विकल्प बाँकी नरहन पनि सक्छ,’ प्रधानमन्त्रीको स्वास्थ्यलाई नजिकबाट बुझेको स्रोतले उल्लेख गर्‍यो, ‘त्यसैले बरु बालुवाटारमै मेसिनहरू राखेर डायलाइसिस गरिरहनु उचित हुन सक्छ ।’


प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले उपचार पद्धतिका विषयमा सबैतिर सरसल्लाह गरिरहेको बताए । ‘नेपालका ३/४ जना डाक्टरले उहाँ (ओली) ले यसअघि उपचार गराएको सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालका डाक्टरसँग पनि परामर्श गरिरहनुभएको छ,’ उनले भने, ‘अहिले हामी भर परेको सिंगापुरको अस्पताल नै हो ।’ प्रधानमन्त्री सचिवालयका अर्का सदस्यले ओली उपचारका लागि छिट्टै सिंगापुर जाने संकेत गरे । ‘ढिलो–चाँडो सिंगापुर जानु परिहाल्छ । कहिले भन्ने टुंगो लागिसकेको छैन,’ उनले उल्लेख गरे ।


आइतबार मन्त्रिपरिषद् बैठकको बीचबाटै प्रधानमन्त्री ओली एक्स–रे गर्न मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज पुगेका थिए । ‘फोक्सोमा कति पानी छ भनेर प्रधानमन्त्रीज्यूको एक्स–रे गरियो,’ उनको निजी सचिवालयका एक सदस्यले कान्तिपुरसँग भने ।


प्रधानमन्त्री ओलीले यसअघि दुई पटकसम्म सिंगापुरको उक्त अस्पतालमा उपचार गराइसकेका छन् । पछिल्लो पटक भदौ ५ देखि १८ गतेसम्म उक्त अस्पतालमा प्लाज्माफेरिसस पद्धतिबाट प्रधानमन्त्री ओलीको शरीरको एन्टीबडी नष्ट गरिएको थियो । तर त्यसपश्चात् लगातारको धपेडी र विदेश यात्रापछि प्रधानमन्त्रीको स्वास्थ्य पुनः बिग्रेको थियो ।


डायलाइसिसको विकल्प रोज्दा प्रधानमन्त्रीले सातामा कम्तीमा दुईदेखि तीन पटकसम्म गर्नुपर्ने हुन्छ । ‘एक पटक डायलाइसिस गर्दा कम्तीमा चार घण्टा लाग्ने र त्यसपश्चात् आराम पनि गर्नुपर्ने हुँदा त्यस दिन लामै समय सक्रिय रहने अवस्था हुँदैन,’ जानकार चिकित्सकले उल्लेख गरे, ‘मिर्गौला प्रत्यारोपण गर्नेतर्फ लाग्दा चार–पाँच महिना लागिहाल्छ । त्यस्तो अवस्थामा मुलुकको कार्यकारी भूमिका निर्वाह गर्न गाह्रो पर्न सक्छ ।’


प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थालाई लिएर अहिले विभिन्न अड्कलबाजी भइरहेका छन् । अब सरकार र पार्टीको काम कसरी अगाडि बढ्छ भन्नेबारे छलफल भने सुरु भइसकेको छैन । ‘पहिले प्रधानमन्त्रीको उपचार पद्धति के हुने भन्ने टुंगो लागोस् न,’ नेकपाका एक सचिवालय सदस्यले भने ।


आफ्नो उपचार प्रक्रिया जटिल मोडमा पुगेपछि प्रधानमन्त्री ओली आइतबार दिनभर बैठकहरूमा व्यस्त रहे । केही नियुक्ति र बर्खास्तीका निर्णय गरे । साँझ ५ बजेतिर अचानक नेकपा सचिवालयको बैठक बोलाएर उपनिर्वाचनका उम्मेदवारबारे निर्णय गराए । अनि दिउँसो करिब डेढ घण्टा मन्त्रिपरिषद् बैठक चलाए ।


आफ्नो स्वास्थ्य अवस्थाबारे सामान्य जानकारी गराएर उनले बैठकका एजेन्डामाथि छलफल गरेका थिए । ‘बैठक फटाफट अघि बढ्यो, हामीले एजेन्डामा धमाधम निर्णय पनि गरिहाल्यौं,’ एक मन्त्रीले भने, ‘उपचारका लागि धेरै समय खर्चिनुपर्ने भएकाले उहाँले आवश्यक निर्णय धमाधम गराउनुभएको हुन सक्छ ।’


चिकित्सकहरूले धेरै आराम जरुरत रहेको बताएपछि शुक्रबार दिनभर आराम गरेका प्रधानमन्त्री ओलीले शनिबार नेकपाको सचिवालय बैठक बोलाएका थिए । बैठकमा उनले आफूसँग अब नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपणमध्ये एउटा रोज्ने विकल्पमात्रै रहेको बताएका थिए ।


आइतबार बिहान ११ बजेतिर बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्तिको निर्णय पनि भएको थियो ।


मन्त्रिपरिषद् बैठकको बीचबाटै प्रधानमन्त्री ओली एक्स–रे गर्न अस्पताल पुगेका थिए । ‘फर्कंदा राष्ट्रपति कार्यालय छिर्‍यौं,’ प्रधानमन्त्रीसँगै अस्पताल पुगेका उनको निजी सचिवालयका एक सदस्यले कान्तिपुरसँग भने । उनका अनुसार प्रधानमन्त्री प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्ने सिफारिस लिएर राष्ट्रपति कार्यालय गएका थिए ।


प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकपछि उनी आराम गर्ने मनस्थितिमा थिए । त्यसैले आइतबार अबेरसम्म नेकपा सचिवालय बैठक बोलाएनन् । तर दिउँसो ३ बजेतिर उनले ५ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाके । केहीबेरमा मन्त्रिपरिषद् बैठक साढे ६ बजेका लागि सारेर नेकपा सचिवालय बैठक बोलाए । सचिवालय बैठक नै ७ बजेसम्म लम्बिएपछि मन्त्रिपरिषद् बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।


प्रकाशित : कार्तिक १८, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?