काठमाडौँ — चैतभित्र नमुना जनगणना गरिने भएको छ । त्यसका लागि केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो, मूल नारा र नमुना जनगणनाको समयतालिका सार्वजनिक गरिसकेको छ ।
सबै प्रदेश, हिमाल, पहाड र तराईको जनसंख्याको समानुपातिक प्रतिनिधित्व हुने गरी नमुना जनगणना सञ्चालन गरिने विभागको भनाइ छ । नमुना जनगणनालाई प्रत्येक प्रदेशबाट २ जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा सञ्चालन गरिनेछ, जसमा प्रदेश १ को पाँचथर र मोरङ, प्रदेश २ को धनुषा र पर्सा, प्रदेश ३ को मकवानपुर र काठमाडौंमा हुनेछ । गण्डकी प्रदेशको बागलुङ र कास्की, प्रदेश ५ को रूपन्देही र प्यूठान, सुदूरपश्चिम प्रदेशको कैलाली र दार्चुला तथा कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा हुनेछ । ती जिल्लाका करिब ११ हजार ६ सय १० घरपरिवारमा नमुना जनगणना हुनेछ । त्यसका निम्ति १ करोड १७ लाख बजेट विनियोजन भएको विभागको जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । ‘नमुना जनगणनामा १ सय २२ जनशक्ति खटाइनेछ,’ उनले भने, ‘सुपरिवेक्षक र गणक करारमा नियुक्त गरिनेछ । त्यसका लागि माघ १ बाट चरणबद्ध तालिम सञ्चालन गरिनेछ ।’
१५ जना सुपरिवेक्षक, ६० जना गणक र अन्य ४७ जना जनशक्ति रहने उनको भनाइ छ । विभागले नमुना जनगणनाका निम्ति तथ्यांक कार्यालयका प्रमुखहरूको तालिम र जिल्ला पाइलट जनगणना कार्यालय स्थापना गर्नेछ । ‘घरपरिवार सूचीकरणलगत्तै चैत ९ बाट गणना सुरु हुनेछ,’ निर्देशक लामिछानेले भने, ‘गणकले चैत २३ गतेभित्र काम सक्नेछन् ।’ जिल्लाले कन्ट्रोल फारम तथा लगत फारम तोकिएको स्थानमा रुजु गरेलगत्तै चैत मसान्तभित्र नमुना जनगणनाका सम्पूर्ण फारम केन्द्रमा बुझाउनेछ ।
