कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिनियाँ राष्ट्रपति सीको भ्रमणमा विरोध गर्ने २ तिब्बती शरणार्थीसहित ३२ जना पक्राउ 

पक्राउ परेका मध्ये २९ जनालाई आइतबार साँझ छाडियो
मातृका दाहाल

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई लक्षित गरेर स्वतन्त्र तिब्बतको पक्षमा प्रचार गर्ने ३२ जना पक्राउ परेका छन् । केही दिनअघि नै उनीहरु पक्राउ परेपनि सीको भ्रमणमा नकारात्मक असर पुग्ने भएर यो विषय प्रहरीले गुपचुप राखेको थियो । 

चिनियाँ राष्ट्रपति सीको भ्रमणमा विरोध गर्ने २ तिब्बती शरणार्थीसहित ३२ जना पक्राउ 

पक्राउ परेका मध्ये २ तिब्बती शरणार्थी र १ नेपालीलाई काठमाडौं र १ जनालाई सप्तरीबाट पक्राउ गरिएको हो । दुवै शरणार्थीलाई बौद्ध स्तुपा नजिकैबाट पक्राउ गरिएको हो । उनीहरुको बौद्ध फूलबारीमा पसल समेत रहेको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार राष्ट्रपति सीको भ्रमणमा अवरोध पुर्‍याउन खोज्ने ३२ जनालाई पक्राउ गरिएकोमा ३ जनालाई हिरासतमा राखेर बाँकीलाई आइतबार साँझ रिहा गरिएको छ ।


पक्राउ परेकामध्ये तिब्बती शरणार्थी परिचयपत्र बाहक हिस्से ग्याम्चो लामा र नवाङइमा लामा र शान्ति समाजका वीपी पौडेल छन् । पक्राउ परेका दुवै शरणार्थीलाई महानगरीय प्रहरी वृत्त बौद्ध र पौडेललाई टेकुस्थित काठमाडौं परिसरको हिरासतमा राखिएको छ ।


त्यस्तै, चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा फ्रि तिब्बतको पक्षमा लागेको अभियोगमा सप्तरीको राजविराजबाट पक्राउ परेकी मधेस फाउण्डेसनकी सदस्य सुनिता साहलाई पनि आइतबार नै काठमाडौं ल्याइएको छ । उनलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीको हिरासतमा राखिएको छ ।


प्रहरीका अनुसार काठमाडौंबाट पक्राउ परेका आरोपितले राष्ट्रपति सीको आगमनका बेला शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर पुगेर विरोध गर्ने तयारीमा थिए ।


प्रहरीले झोला र टि–सर्टमा स्वतन्त्र तिब्बतको प्रचारप्रसार गरिएका सामान समेत बरामद गरेको छ । डीएसपी बोगटीले राष्ट्रपति सीको भ्रमणलाई व्यवधान पुर्‍याउने मनसायले गतिविधि गरेको आरोपमा ३२ जनालाई नियन्त्रणमा लिइएकोमा २९ जनालाई रिहा गरेर ३ जनालाई अभद्र व्यवहार कसुरमा हिरासतमा राखिएको बताए ।


राष्ट्रपति सीको भ्रमण अवधिभर पक्राउ परेका व्यक्तिको विषय गुपचुप राखिएको थियो । सी स्वदेश फिर्ता भएपछि ३ जनालाई नियन्त्रणमै राखेर बाँकीलाई रिहाई गरिएको हो । सी आइतबार दिउँसो २ बजे स्वदेश फिर्ता भएका हुन् ।

प्रकाशित : आश्विन २६, २०७६ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?