रोजगारीमा जानेको पीडा : टिकट नपाउँदा खाडीमै दसैं

होम कार्की

काठमाडौँ — लमजुङका ३५ वर्षीय रितेश लोहनीले स्वदेशमा दसैं नमनाएको १३ वर्ष भयो । उनी साउदी अरबको व्यापारिक सहर जेद्दामा कार्पेन्टरको काम गर्छन् । ६० कटेका बुबाआमा, श्रीमती र १० वर्षकी छोरी बेंसीसहरमा बस्छन् । उनीहरू हरेक वर्ष रितेशको पर्खाइमा हुन्छन् । ‘साउदीमा पाइला राखेदेखि टीका लगाउन पाइएको छैन,’ उनले भने, ‘अहिले त बानी परिसक्यो ।’ 

मुस्लिम धर्मावलम्बीको प्रमुख तीर्थस्थल मक्का–मदिना रहेका मुलुकमा कार्यरत लोहनीले आफ्नो संस्कृति, चाडपर्व र धर्मको महत्त्व साउदीमै थाहा पाए । ‘मलाई नेपालमा रहँदा आफ्नो चाडपर्व लहडमै मनाइएछ भन्ने लाग्यो । यसले परिवार, आफन्त र साथीभाइबीचको सम्बन्ध कसरी बलियोसँग जोड्छ भन्ने साउदीमै आएर थाहा पाएँ,’ उनले भने, ‘रैथाने संस्कृति र पर्वको महत्त्व थाहा पाउन साउदीमै आउनु पर्दोरहेछ ।’ अहिले दसैंतिहार मान्न मन हुँदा टिकट नपाएर घर फर्कन नपाएको रितेशले बताए ।

‘टिकटै पाइँदैन,’ उनले भने, ‘साउदीमा रहनेहरू सबै दसैंतिहार मान्न दौडिने गर्छन् । हामीलाई टिकट पाउनै मुस्किल छ ।’ साउदीको दमामबाट हिमालयन एयरलाइन्सले मात्रै काठमाडौं सिधा उडान गर्छ । जेद्दाबाट दमाम आइपुग्नै १३ सय ६० किमि पार गर्नुपर्छ । हिमालयनले तीन वर्षअघि मात्रै सेवा सुरु गरेको हो । ‘यसपटक भने जसरी पनि जाने योजना बनाएका थिएँ । बिदा पनि अक्टोबर ५ देखि नोभेम्बर ५ सम्म मागेको थिएँ । कम्पनीले निकैपछि मात्रै स्वीकृत गर्‍यो । तर टिकट खोजी गर्दा पाउनै सकिएन,’ उनले भने, ‘घरमा टिकट नपाएको खबर सुनाउँदा सबै दुःखी भए ।’

खाडी तथा मलेसियाबाट आउने जहाज सीमित भएको र यात्रु चाप बढी हुने भएको फाइदा उठाउँदै हवाई कम्पनीले दोब्बरसम्म भाडा बढाउने गरेका छन् ।

थोरै जहाज भएकै कारण कामदार भनेजति पैसा तिर्न मागेजति पैसा कतार, यूएई, ओमन र मलेसियाबाट मात्रै नेपालमा सिधा उडान छ । साउदी, कुवेत, बहराइनबाट छैन । ‘कनेक्टिङ जहाजमा आउनुपर्छ । ७ घण्टा ट्रान्जिट बस्नुपर्छ,’ कुवेतमा कार्यरत सिन्धुपाल्चोकका हरिकृष्ण न्यौपानेले भने, ‘तीन महिनाअघि काट्दा पनि ७८ हजार रुपैयाँमा एकतर्फी टिकट किन्नुपर्‍यो ।’

यस वर्ष गन्तव्य मुलुकबाट स्वदेश आउनेहरूको सबभन्दा बढी चाप असोज १ देखि १६ सम्म देखिएको छ । कम्पनीले ३० दिन मात्रै दिने भएकाले कामदारले सकभर दसैंतिहार मनाउने गरी बिदा लिने गर्छन् । यो बेला नेपाल आउन कतारबाट ५३ हजार, साउदीबाट ७२ हजार, यूएईबाट ४० हजार, कुवेतबाट १ लाख १७ हजार, ओमनबाट ६० हजार र मलेसियाबाट ७१ हजार रुपैयाँ हवाई भाडा परिरहेको छ ।

पर्व मनाएर फर्किने बेला पनि टिकटको मूल्य उत्तिकै अकासिन्छ । ‘दसैंतिहार मनाउन आउँदा २/३ महिनाको तलब नै सकिन्छ,’ यूएईमा कार्यरत झापाका दीपक सुनुवारले भने, ‘त्यही भएर पुसतिर नेपाल आउने–जाने गरेको छु ।’

त्रिभुवन विमानस्थलका अनुसार दैनिक झन्डै सयवटा उडान हुन्छन् । सन् २०१८ मा मात्रै विमानस्थलले झन्डै ७१ लाख ९० हजार यात्रुलाई सेवा दिएको थियो । यसको ठूलो हिस्सा वैदेशिक रोजगारीमा जाने कामदार हुन् । ती देशबाट प्रमुख रूपमा नेपाल एयरलाइन्स, कतार एयरवेज, फ्लाई दुबई, जेट एयरवेज, एयर इन्डियाले नेपालमा यात्रु ओसार्छन् ।

सन् २०१८ मा आएका नेपाली यात्रुमध्ये नेपाल एयरलाइन्सले २७ प्रतिशत, कतार एयरवेजले २९ प्रतिशत, फ्लाई दुबईले १५, एयर इन्डियाले १३ प्रतिशत बोकेका थिए । गत अप्रिलबाट जेट एयरवेज बन्द भएपछि कामदारलाई टिकट पाउन झन् समस्या पर्न थालेको छ । यात्रुको चाप बढे पनि यी हवाई कम्पनीले उडान थपेका छैनन् ।

‘लागेको जति पैसा तिर्छु भन्दा पनि टिकट छैन,’ कतारमा कार्यरत गोरखाका उमेश भट्टले भने, ‘दसैंपछिको मात्रै टिकट देखाइरहेको छ । दसैंको टिकट तीन महिना अगाडि नै बुक भइसक्छ ।’ घर फिर्न नपाएपछि क्याम्पमै खसी काटेर रमाइलो गर्ने योजना बनाएको उनले बताए । ‘मन बुझाउन दसैं मनाएजस्तो गर्ने हो । यहाँको दसैं नुनबिनाको तरकारी जस्तै हो,’ उनले भने ।

प्रकाशित : आश्विन १७, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

राष्ट्रपति सीको जेटलाई छड्के पार्किङ

सुरज कुँवर

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङ अर्को साता एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदै छन् । विमानस्थलस्थित स्रोतका अनुसार उक्त विशेष विमान एक रात काठमाडौं विमानस्थलमै पार्किङ गरिनेछ । यो जहाजको पार्किङ नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल वायुसेवा निगमका अधिकारीहरूका लागि भने निकै चुनौतीपूर्ण बनेको छ ।

चिनियाँ राष्ट्रपतिको जेट विमानलाई विमानस्थलको टर्मिनल भवनतर्फ फर्काएर पश्चिम–पूर्व राख्न नसकिने भएको छ । अहिले जसरी अन्य विदेशी एयरलायन्स राखिन्छन्, त्यसरी पार्किङ गर्न नसकिनुको कारण यस जहाजलाई पुसब्याक (धकेल्न) गर्न सकिने उपकरण नहुनु हो । काठमाडौं विमानस्थलमा नेपाल वायुसेवा निगमले विदेशी विमानको ग्राउन्ड ह्यान्डल (भूमिस्थ व्यवस्थापन) गर्छ ।

चिनियाँ राष्ट्रपतिको जेट विमानलाई ह्यान्डल गर्ने क्षमताको उपकरण निगमसँग छैन । राष्ट्रपति चढेर आउने विमान डबल डेकर (दुईतले) र चारवटा इन्जिनयुक्त हो । ‘निगमसँग भएको उपकरण (ट्र्याक्टर) ले २ सय ५० टनसम्मको जेट विमान पुसब्याक गर्न सक्छ तर राष्ट्रपति सी आउने जहाजको तौल ३ सय टनभन्दा बढी छ,’ निगमका प्राविधिकले भने ।

चिनियाँ राष्ट्रपतिको जहाज अहिलेजसरी पश्चिम टर्मिनल भवनतर्फ पार्किङ गरिए फर्किने बेला पुसब्याक गर्न सकिने छैन । विमानस्थलका अधिकारीहरूले उक्त जहाजलाई उत्तरतर्फ फर्काएर राख्ने योजना चिनियाँ अधिकारीहरूलाई बताइसकेका छन् । ७६ मिटर लामो जहाजलाई उत्तरतर्फ फर्काएर पार्किङ गरिए यसले तीनवटा जहाजको पार्किङ स्थान ओगट्नेछ ।

राष्ट्रपति सीको भ्रमणमा यस्तै प्रकारको अर्को जहाज पनि साथै आउँदै छ । उक्त विमानलाई पनि त्यस्तै गरी राखिँदा थप तीनवटा जहाजको स्थान ओगट्ने उच्च स्रोतले बतायो ।

नेपाल सरकारको निम्तोमा आउन लागेका चिनियाँ राष्ट्रपतिका दुइटा विशेष जेट विमानलाई उत्तर–दक्षिण फर्काएर राख्दा सातवटा जहाज पार्किङको स्थान ओगटिनेछ । जसका कारण त्यस दिनका अन्य व्यावसायिक उडान प्रभावित हुनेछन् ।

‘हामीले धेरै विदेशी एयरलाइन्सका प्रतिनिधिलाई त्यस दिनको उडान प्रभावित हुन सक्ने भनिसकेका छौं,’ स्रोतले भन्यो, ‘राष्ट्रपतिको भ्रमणका दिन २४ घण्टा विमानस्थल सञ्चालन गर्दै छौं ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षमता तीनवटा वाइडबडीसहित नौवटा जेट जहाज राख्न सकिने हो ।

विमानस्थल अधिकारीहरूका अनुसार राष्ट्रपतिको आगमन र फर्किने बेला आन्तरिक उडान पनि प्रभावित हुनेछ तर विमानस्थलले समय किटान गरिसकेको छैन । ‘अति विशिष्ट व्यक्तिको सुरक्षाका कारण धेरै कुरा गोप्य राखिएका छन्,’ सम्बद्ध एक अधिकारीले भने, ‘हामीलाई पनि धेरै जानकारी दिइएको छैन ।’

उनका अनुसार, चिनियाँ दूतावासको नेतृत्वमा एक सातायता विमानस्थलमा निगम, विमानस्थल कार्यालय, प्रहरी लगायतसँग बैठकहरू भइरहेका छन् । ती बैठकमा चिनियाँहरूको चासो राष्ट्रपतिको उडान व्यवस्थापनमा केन्द्रित देखिने गरेको एक अधिकारीले बताए । बुधबार चीनबाट एयर चाइनाको प्रेसिडेन्टल जेट आएको थियो । दिउँसो १ बजे आइपुगेको उक्त जेट विमानसहित प्राविधिकहरूले काठमाडौंको धावनमार्ग, ट्याक्सी, पार्किङस्थलको रेकी गरेका थिए ।

उक्त जहाज पनि एप्रोनमा उत्तरतर्फ फर्काएर राखिएको थियो । त्यसबेला ६ वटा विमान अटाउने पार्किङ खाली राखिएका थिए । उक्त विमान काठमाडौंमा अवतरण भएका बेला अन्य जहाजको ‘मुभमेन्ट’ कमी गराइएको थियो भने एप्रोनमा कडा सुरक्षा अपनाउँदै फोटो खिच्न पनि निषेध गरिएको एक अधिकारीले कान्तिपुरसँग भने । विमान ३ बजे फर्किएको थियो ।

प्रकाशित : आश्विन १७, २०७६ ०७:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×